१७ वर्षीया किशोरीलाई प्रलोभनमा पारेर अपहरण र बलात्कार, तीन दिन पुरानो बानेश्वर राखेर बिहार पुर्‍याइयो

१७ वर्षीया किशोरीलाई प्रलोभनमा पारेर अपहरण र बलात्कार, तीन दिन पुरानो बानेश्वर राखेर बिहार पुर्‍याइयो

काठमाडौं : भर्खर १७ वर्षमा पाइला टेक्दै गरेकी एक किशोरी। उनको जीवनको एउटा सामान्य साँझ कसरी भयानक घटनामा  बदलियो भन्ने कथा सुन्दा जोकोहीको आङ सिरिङ्ग हुन्छ।

छिमेकमै काम गर्ने एकजना चिनजानका व्यक्ति र उनकी सहयोगीले बुनेको जालमा परेर ती किशोरीले काठमाडौंदेखि भारतको बिहारसम्म जुन पीडा भोग्नुपर्यो।

२०८२ मंसिर १४ गतेको साँझ थियो। पुरानो बानेश्वरमा डेरा गरी बस्ने ती किशोरीका बुबा-आमा पसलमा थिए।

किशोरी कोठामा एक्लै भएको मौका छोपेर छिमेकी अनिता अन्सारी भित्र पसिन्। उनले किशोरीलाई ‘मिठाई’ खान दिइन्। तर, त्यो मिठाई सामान्य थिएन; त्यसमा नशालु पदार्थ मिसाइएको थियो।

मिठाई खाएपछि किशोरी लठ्ठिइन्। त्यही मौकामा अनिताले कोठाको दराज फुटाएर नगद १ लाख रुपैयाँ चोरी गरिन् र किशोरीलाई ‘घुम्न जाऔँ’ भन्दै फकाएर बाहिर निकालिन्।

बाहिर उनकै योजनाकार ४९ वर्षीय जेन आलम पर्खिरहेका थिए। जेन आलम, जो भारतको पश्चिम चम्पारणबाट आएर काठमाडौँमा मिस्त्री काम गर्थे र पीडितको घरमा मर्मतका लागि आउने-जाने गर्थे।

किशोरीलाई सुरुमा पुरानो बानेश्वरकै एउटा कोठामा तीन दिनसम्म लुकाएर राखियो। त्यसपछि मंसिर १७ गते उनलाई बस चढाएर भारतको बिहार पुर्याइयो। विहारस्थित जेन आलमको घरमा किशोरीलाई एउटा कोठाभित्र बन्धक बनाइयो।

त्यहाँ उनलाई जेन आलमले आफ्नी श्रीमती र छोराछोरीसँग परिचय गराउँदै ‘मैले बिहे गरेर ल्याएकी हुँ’ भनी ढाँटे। तर, कोठाभित्रको वास्तविकता फरक थियो। किशोरीले प्रतिकार गर्न खोज्दा उनलाई घाँटी थिचियो र ज्यान मार्ने धम्की दिइयो।

जिल्ला सरकारी वकीलको कार्यालयले काठमाडौं जिल्ला अदालतमा दायर गरेको अभियोगपत्रका अनुसार, ६ दिनसम्म उनलाई पटक-पटक जबरजस्ती करणी गरियो। ‘कराएमा मारिदिन्छु, यहाँ तिम्रो कोही छैन’ भन्दै उनलाई नर्कको बाटो हिँडाइयो।

किशोरी हराएपछि उनका बुबाले प्रहरीमा उजुरी दिइसकेका थिए। तर, घटनाले तब नयाँ मोड लियो जब पुस १५ गते जेन आलम स्वयम् किशोरीको बुबाको कोठामा आइपुगे। उनले निर्धक्कसँग भने, ‘तपाईंकी छोरी मसँग भारतमा सुरक्षित छिन्।’

बुबालाई विश्वास लागेन। उनले छोरीसँग कुरा गराउन माग गरे। जब भिडियो कल भयो, छोरी रोइन् र आफूलाई बन्धक बनाएर बलात्कार गरिएको सबै वृत्तान्त सुनाइन्। त्यसपछि बुबाले तत्काल आफ्ना आफन्तलाई भारत पठाएर पुस १७ गते छोरीको उद्धार गराउन सफल भए।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका जिल्ला न्यायाधिवक्ता जगत बहादुर बोहराले दायर गरेको अभियोगपत्रमा जेन आलममाथि अपहरण तथा शरीर बन्धक मुद्दामा ७ देखि १० वर्षसम्म कैद र ७० हजारदेखि १ लाखसम्म जरिवाना, जबरजस्ती करणीमा १० देखि १२ वर्षसम्म कैद र चोरीमा ३ वर्षसम्म कैद र ३० हजार जरिवानाको माग गरिएको छ।

यी तीनै कसुर एउटै घटनामा भएकाले उनलाई थप सजायको समेत माग गरिएको छ। साथै, पीडित किशोरीलाई अभियुक्तबाट मनासिब क्षतिपूर्ति भराउन समेत माग दाबी गरिएको छ। अनिता अन्सारी हाल फरार छिन्।

माघ १३, २०८२ मंगलबार १४:४३:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।