निर्वाचनमा घृणाजन्य अभिव्यक्ति रोक्न मानव अधिकार आयोगको निर्देशन
काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभाको निर्वाचनको सन्दर्भमा राजनीतिक दल र तिनका जिम्मेवार व्यक्तिहरूबाट भइरहेका घृणाजन्य अभिव्यक्ति रोक्न निर्देशन दिएको छ।
आयोगले आज एक प्रेस विज्ञप्ति जारी गर्दै विगत केही दिनदेखि विभिन्न राजनीतिक दलका नेताहरूबाट एक-अर्काप्रति आक्षेप लगाउने, घृणा फैलाउने र अमर्यादित आरोप-प्रत्यारोप गर्ने कार्य भइरहेको भन्दै यस्ता गतिविधि तत्काल बन्द गर्न निर्देशन दिएको हो।
निर्वाचनको समयमा दिइने यस्ता घृणाजन्य अभिव्यक्तिले समाजमा अराजकता फैलाउने र मुलुकको शान्ति सुरक्षाको अवस्थालाई समेत थप चुनौतीपूर्ण बनाउने आयोगको ठहर छ।
विचार र अभिव्यक्तिको स्वतन्त्रता भए तापनि अरुको मर्यादामा चोट पुग्ने र शान्ति सुरक्षामा आँच पुग्ने विषयलाई विशुद्ध अभिव्यक्ति स्वतन्त्रता मात्र मान्न नसकिने आयोगले स्पष्ट पारेको छ। आफ्नो अधिकारको प्रयोग गर्दा अरुको अधिकार र आत्मसम्मानमा पर्न सक्ने असरप्रति जिम्मेवार बन्न आयोगले सचेत गराएको छ।
आयोगले राजनीतिक दल, उम्मेदवार तथा सर्वसाधारणलाई नेपालको संविधान, कानुन र मानव अधिकारका अन्तर्राष्ट्रिय मूल्य मान्यता विपरितका अभिव्यक्ति नदिन र निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न आग्रह गरेको छ।
यसका साथै समाजमा घृणा फैलाउने र शान्ति सुरक्षामा खलल पुर्याउने गतिविधिहरूलाई नियन्त्रण गरी शान्ति सुरक्षाको अवस्थालाई थप मजबुत बनाउन आयोगले नेपाल सरकारलाई समेत निर्देशन दिएको छ।
यसअघि निर्वाचन आयोगले घृणाजन्य अभिव्यक्ति दिएको भन्दै एमाले सचिव महेश बस्नेत, श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई, राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह लगायतलाई स्पष्टीकरण सोधिसकेको छ।
माघ १३, २०८२ मंगलबार १४:०७:२९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।