छोरीको शव माग्दै पीडित परिवारद्वारा गोलबजारमा आज पनि आन्दोलन, पूर्व-पश्चिम राजमार्ग अवरुद्ध

छोरीको शव माग्दै पीडित परिवारद्वारा गोलबजारमा आज पनि आन्दोलन, पूर्व-पश्चिम राजमार्ग अवरुद्ध

काठमाडौं : सिराहाको गोलबजार क्षेत्रमा आज पनि मृतक निशा बानियाँका आफन्त र स्थानीय बासिन्दाले पूर्व-पश्चिम राजमार्ग अवरुद्ध गरी प्रदर्शन गरेका छन्।

अस्पतालको लापरवाहीका कारण अर्कैको शव बुझाइएको र वास्तविक शव नपाएको भन्दै आक्रोशित आफन्तले सडकमा टायर बालेर यातायात ठप्प पारेका हुन्।

प्रदर्शनकारीहरूले ‘निशा बानियाँको शव फिर्ता गर’, ‘दोषीलाई कारबाही गर’ भन्दै चर्को नाराबाजी गरिरहेका छन्।

सडक अवरुद्ध हुँदा पूर्व-पश्चिम राजमार्गमा चल्ने सयौँ सवारी साधन र यात्रुहरू बीच बाटोमै अलपत्र परेका छन्। स्थानीय प्रशासनले बाटो खुलाउन पहल गरे पनि पीडित पक्षले शव फिर्ता नपाएसम्म आन्दोलन नरोक्ने अडान लिएका छन्।

के हो घटना?
गोलबजार नगरपालिका-३, जमदहकी १६ वर्षीया निशा बानियाँ गत शुक्रबार आफ्नै घरमा पासो लगाएको अवस्थामा मृत फेला परेकी थिइन्। प्रहरीले शनिबार शवलाई पोस्टमार्टमका लागि सिराहा प्रादेशिक अस्पताल पुर्याइएको थियो।

तर, अस्पताल प्रशासनले पोस्टमार्टम नै नगरी निशाको शव अर्कै परिवारलाई जिम्मा लगाएको र सो परिवारले शवको अन्त्येष्टि समेत गरिसकिएको जिल्ला प्रहरी कार्यालय सिराहाका सूचना अधिकारी तथा डीएसपी रमेश पालको दाबी छ। अस्पतालले लापरवाहीपूर्ण ढङ्गले शव साटेको थाहा पाएपछि यो विवाद सुरू भएको हो।

यता पीडित परिवार भने अस्पताल प्रशासन र प्रहरीको मिलेमतोमा छोरीको शव बेचेको आरोप लगाउँदै सिराहा प्रादेशिक अस्पतालका मेडिकल सुपरिडेन्डेन्ट (मेसु) रञ्जित झा र इलाका प्रहरी कार्यालय लाहानका डीएसपी कैलाश राईमाथि कारबाहीको माग गरेका छन्।

पोस्टमार्टम नगरी शव कसरी र किन अर्कैलाई जिम्मा दिइयो भन्ने प्रश्न गर्दै उनीहरूले प्रहरी प्रशासनले यस विषयमा गम्भीरता नदेखाएको आरोप लगाएका छन्।

‘पोस्टमार्टम नगरी अरुको शव किन दिइयो? यति ठूलो लापरवाही हुँदा पनि प्रशासन किन मौन छ?’, पीडित परिवारले प्रश्न गरेका छन्।

स्थानीय प्रशासनले सडक खुलाउन सामान्य प्रयास गरे पनि पीडितका माग सम्बोधन गर्ने दिशामा ठोस पहल नगरेको आन्दोलनकारीको गुनासो छ। सडकमा टायर बालेर प्रदर्शन जारी रहेकाले गोलबजार क्षेत्र तनावग्रस्त बनेको छ।

सम्बन्धित समाचार:

माघ १३, २०८२ मंगलबार १३:४८:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।