ओखलढुङ्गामा पसल सञ्चालन गरी बसेका वृद्ध दम्पत्तीको हत्या

ओखलढुङ्गामा पसल सञ्चालन गरी बसेका वृद्ध दम्पत्तीको हत्या

ओखलढुङ्गा : ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका-६, भदौरेमा एक महिना नबित्दै फेरि अर्को दम्पतीको बीभत्स हत्या भएको छ।

वडाको बोहोरे टोल निवासी अन्दाजी ८१ वर्षीय चन्द्रविक्रम राई र उनकी ८० वर्षीया श्रीमती चन्द्रमाया राईको गएराति हत्या भएको हो।

स्थानीयका अनुसार राई दम्पतीले घरमै पसल सञ्चालन गर्दै आएका थिए। पसलमा भएको नगद तथा सामान लुटपाट गर्ने उद्देश्यले नै उनीहरूको हत्या गरिएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार आज बिहान ७:४० बजे घटनाको जानकारी प्राप्त भएको थियो।

प्रहरी टोली घटनास्थल पुग्दा घरको दोस्रो तलामा रहेको सुत्ने कोठामा श्रीमान् चन्द्रविक्रमको शव खाटमा सिरक ओढेको अवस्थामा र श्रीमती चन्द्रमायाको शव खाटको छेउको भुइँमा सिरकले ढाकिएको अवस्थामा फेला परेको थियो।

प्रहरी नायब उपरीक्षक (डिएसपी) मदन केसीले घटनाको पुष्टि गर्दै भने, ‘घटनास्थललाई सुरक्षित राखेर अनुसन्धान सुरु गरिएको छ। थप अनुसन्धान र सुरक्षाका लागि प्रहरी परिचालन गरिएको छ।’

यसअघि गत पुस १५ गते सोही वडाको गैरीगाउँमा मगर दम्पतीको पनि लुटपाटपछि हत्या भएको थियो। त्यसको केही समयअघि असोज २६ गते सिद्धिचरण नगरपालिका-४ चार्खुमा एकल महिला रत्नकुमारी कटवाल (कार्की)को समेत हत्या भएको थियो।

प्रहरीले अघिल्ला घटनामा संलग्न रहेको आरोपमा मिलन भन्ने सङ्गम राई, विनोद राई, प्रकाश भुजेल र दोर्जे भन्ने अशोक भुजेल गरी चार जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ।

माघ १३, २०८२ मंगलबार १३:१७:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।