प्रतिनिधिसभा निर्वाचनमा गुल्मी-२ : पाँचौं जितको खोजीमा विष्ट, कांग्रेसका श्रेष्ठ र रास्वपाका पन्थीको चुनौती
बुटवल : आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा गुल्मी निर्वाचन क्षेत्र नं. २ को प्रतिस्पर्धा रोचक मोडमा पुगेको छ। यसपटकको चुनावी मैदानमा पुराना खेलाडीदेखि नयाँ अनुहारसम्मको उपस्थिति देखिन्छ।
मुख्य प्रतिस्पर्धा भने चिरपरिचित प्रतिद्वन्द्वी एमाले र नेपाली कांग्रेसबीच नै हुने देखिए पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेपाली कम्युनिष्ट पार्टीको उपस्थिति पनि नजरअन्दाज गर्न मिल्ने खालको छैन।
यस क्षेत्रबाट एमालेका उपाध्यक्ष एवं पूर्वमन्त्री गोकर्ण विष्ट, नेपाली कांग्रेसका लुम्बिनी प्रदेश उपसभापति भुवन श्रेष्ठ, नेकपाका श्रीराम महत र रास्वपाबाट पूर्व प्रहरी अधिकृत गोविन्द पन्थी चुनावी मैदानमा छन्।
विष्ट, श्रेष्ठ र महत स्थानीय राजनीतिमा स्थापित नाम हुन् भने पन्थीलाई कतिपयले ‘टुरिस्ट’ उम्मेदवारका रूपमा पनि हेर्ने गरेका छन्। यद्यपि, बदलिँदो राजनीतिक माहोलमा पन्थीको उपस्थिति पनि अर्थपूर्ण छ।
पाँचौं जितको खोजीमा गोकर्ण विष्ट
एमाले उपाध्यक्ष गोकर्ण विष्ट गुल्मी-२ बाट आफ्नो पाँचौं संसदीय जितको खोजीमा छन्।
विष्टले २०७९ को निर्वाचनमा तत्कालीन सत्ता गठबन्धनकी साझा उम्मेदवार रामकुमारी झाँक्रीलाई २ हजारभन्दा बढी मतान्तरले पराजित गरेका थिए। त्यसबेला विष्टले २८ हजार ४७६ मत ल्याउँदा झाँक्रीले २६ हजार ४४१ मत प्राप्त गरेकी थिइन्।
२०५६ सालयता भएका निर्वाचनमध्ये २०६४ सालको संविधानसभा निर्वाचनबाहेक २०५६, २०७०, २०७४ र २०७९ मा भएका निर्वाचनमा विष्टले बाजी मारेका छन्। २०६४ मा भने उनी माओवादीका चन्द्र केसीसँग पराजित भए।
विष्टले २०६८ सालमा चार महिना ऊर्जामन्त्री हुँदा विद्युत चुहावट नियन्त्रण, बक्यौता असुली र प्राधिकरणको नेतृत्व छनोटमा खुला प्रतिस्पर्धाको सुरुवात गरेका थिए।
त्यस्तै, २०७४ मा श्रममन्त्री हुँदा प्रधानमन्त्री रोजगार कार्यक्रम, सामाजिक सुरक्षा कोषको कार्यान्वयन र श्रमिकको न्यूनतम तलब वृद्धिजस्ता कामले उनको चर्चा चुलिएको थियो।
विष्ट भन्छन्, ‘गाउँमा सडकका ट्रयाक खुलेका छन्, कतिपय कालोपत्रे हुँदैछन्। अब मेरो प्राथमिकता भौतिक पूर्वाधारसँगै मानवीय विकासमा हुनेछ।’
बाँदर र बँदेलको आतंक नियन्त्रण, वैकल्पिक खेती प्रणाली, पकेट क्षेत्र निर्माण र कृषिको आधुनिकीकरणमार्फत गाउँमै रोजगारी सिर्जना गर्ने र बसाइँसराइ रोक्ने उनको योजना छ।
कांग्रेसका श्रेष्ठ र नेकपाका महतको चुनौती
विष्टलाई टक्कर दिन नेपाली कांग्रेसले यसपटक आफ्ना पुराना र अनुभवी नेता भुवन श्रेष्ठलाई अघि सारेको छ।
पूर्व जिल्ला सभापति समेत रहेका श्रेष्ठ लुम्बिनी प्रदेशका पार्टी उपसभापति हुन्। अघिल्लो प्रदेश सभा निर्वाचनमा गुल्मी-२ (१) बाट पराजित भए पनि उनी स्थानीय स्तरमा लोकप्रिय छन्।
पार्टी संगठन र जनतासँगको निरन्तर सम्बन्ध श्रेष्ठको शक्ति हो।
उनी भन्छन्, ‘गुल्मी-२ मा अझै धेरै काम गर्न बाँकी छ। गुणस्तरीय शिक्षा, स्वास्थ्य, सडक स्तरोन्नति र रोजगारीका अवसर सिर्जना गर्नु मेरो पहिलो प्राथमिकता हो।’
जनताका आधारभूत आवश्यकता पूरा गर्न आफू उम्मेदवार बनेको उनको भनाइ छ।
रोचक कुरा त के छ भने, कुनै बेला विष्टकै चुनावी कमाण्डर रहेका र एमालेमै सक्रिय श्रीराम महत यसपटक नेकपाबाट उनकै प्रतिस्पर्धी बनेका छन्।
एमाले विभाजनपछि समाजवादी रोजेका महतले विष्टको भोट कति काट्छन्, त्यसले पनि नतिजामा प्रभाव पार्न सक्छ।
‘घण्टी’को प्रभाव
वैकल्पिक राजनीतिको वकालत गर्दै आएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गुल्मी-२ मा नेपाल प्रहरीका पूर्व डिएसपी गोविन्द पन्थीलाई मैदानमा उतारेको छ।
मानव बेचबिखन अनुसन्धानमा दख्खल राख्ने पन्थीले सुशासन र जनजीविकाको सवाललाई मुख्य एजेन्डा बनाएका छन्। शहर उन्मुख क्षेत्र र युवा पुस्तामा ‘घण्टी’ को आकर्षण देखिन्छ।
यद्यपि, ग्रामीण भेगमा संगठन कमजोर हुनु उनको चुनौती हो।
स्थानीय मतदाताका अनुसार उम्मेदवारको व्यक्तित्व भन्दा पनि ‘घण्टी’ चुनाव चिन्हप्रतिको आकर्षणले रास्वपाको मत बढ्न सक्छ। अघिल्लो निर्वाचनमा समानुपातिकतर्फ ४ हजार २६३ मत ल्याएको रास्वपाले यसपटक त्यो भन्दा बढी मत ल्याउनसक्ने देखिन्छ।
तथ्यांकले के भन्छ?
अघिल्लो निर्वाचन (२०७९) को समानुपातिक मतपरिणाम हेर्दा एमाले बलियो देखिन्छ। एमालेले २५ हजार १३० मत ल्याउँदा कांग्रेसले १८ हजार ४५१ मत पाएको थियो। माओवादीको ५ हजार ४३७, रास्वपाको ४ हजार २६३ र एकीकृत समाजवादीको १ हजार ६०२ मत थियो।
त्यसबेला कांग्रेस, माओवादी र एकीकृत समाजवादीको गठबन्धन थियो र झाँक्री साझा उम्मेदवार थिइन्। तर, समानुपातिकमा झाँक्रीको पार्टी (एकीकृत समाजवादी) को मत निकै कम थियो।
यसपटक दलहरू एक्लाएक्लै भिड्न लागेका छन्। जेनजी आन्दोलनपछिको अवस्थामा बिग्रिएको पार्टीको छविका कारण यहाँ एमालेले आफ्नो मत बढाउनभन्दा पनि जोगाउन संघर्ष गर्नुपर्ने देखिन्छ।
समग्रमा, गुल्मी-२ को चुनावी लडाइँ मुख्यतया विष्टको ‘विकास मोडल’ र कांग्रेस-रास्वपाको ‘परिवर्तनको नारा’ बीच हुनेछ। विष्ट आफ्नो विरासत जोगाउन लाग्दा अन्य उम्मेदवारहरू त्यसलाई भत्काउन कम्मर कसेर लागेका छन्।
माघ १३, २०८२ मंगलबार ११:४८:२६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।