शव गायब प्रकरण : सिराहाकी किशोरीको शव सप्तरी लगेर जलाएपछि तनावग्रस्त बनेको थियो गोलबजार

शव गायब प्रकरण : सिराहाकी किशोरीको शव सप्तरी लगेर जलाएपछि तनावग्रस्त बनेको थियो गोलबजार

काठमाडौं : सिराहाको लहानस्थित प्रादेशिक अस्पतालको मर्चरीबाट गायब भएको भनिएको शव अर्को परिवारले झुकिएर लगेको र अन्त्येष्टि समेत गरिसकेको रहस्य खुलेको छ।

गोलबजार नगरपालिका-३ की निशा बानियाँको शव अस्पतालबाटै हराएको भन्दै आफन्त र स्थानीय आन्दोलित भइरहेका बेला उक्त शव सप्तरीको कडरवानाबाट आएका अर्को मृतकका आफन्तले लगेर दाहसंस्कार गरिसकेको पुष्टि भएको हो।

जिल्ला प्रहरी कार्यालय सिराहका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक (डिएसपी) रमेश पालले उकेरालाई दिएको जानकारी अनुसार अस्पतालमा पोस्टमार्टमका लागि दुईवटा शव राखिएका थिए।

‘एउटा शव सप्तरीको कडरवानाबाट आएको थियो भने अर्को गोलबजारबाट। पोस्टमार्टम पश्चात सप्तरीका आफन्तले गोलबजारको शवलाई आफ्नै मान्छे हो भनी पहिचान गरेर बुझे र लगेर दाहसंस्कार पनि गरिदिए’, डिएसपी पालले भने।

पछि गोलबजारका आफन्त शव बुझ्न जाँदा त्यहाँ शव नभेटिएपछि र भएको शव आफ्नो नभएको भनेपछि यो घटना बाहिर आएको हो।

डिएसपी पालका अनुसार सप्तरीका मानिसले शव पहिचान गर्न गल्ती गर्दा र अस्पताल प्रशासनले राम्रोसँग रुजु नगरी शव जिम्मा लगाउँदा यो गम्भीर त्रुटि भएको हो।

‘शवको अन्त्येष्टि नै भइसकेको अवस्था छ, त्यसैले अब सडक अवरुद्ध गरेर शव फिर्ता आउने अवस्था छैन,’ डिएसपी पालले भने, ‘शव साटिनुमा जसको गल्ती र लापरबाही भएको छ, उनीहरूलाई कारबाही गर्ने विषयमा छलफल भइरहेको छ।’

घटनाको विषयमा छानबिन गर्न एक समिति बनाउने र दोषी देखिएका कर्मचारी वा सम्बन्धित व्यक्तिलाई कानुन बमोजिम कारबाही गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ।

घटना सिराहा र सप्तरी जोडिएको र शव जलेर नष्ट भइसकेको हुनाले छानबिन समिति गठन गरी त्यही अनुसार  छानबिन प्रकिया र समितिले नै कारबाहीका लागि आवश्यक सुझाव दिने सहमति जुटेको उनको भनाइ छ।

माघ १३, २०८२ मंगलबार ०९:४५:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।