पोष्टमार्टमका लागि राखिएको १६ वर्षीया किशोरीको शव अस्पतालबाटै गायब

पोष्टमार्टमका लागि राखिएको १६ वर्षीया किशोरीको शव अस्पतालबाटै गायब
तस्बिर सौजन्य- अर्जुन थपलिया/सिरहा

सिरहा : सिरहाको लहानस्थित प्रादेशिक अस्पतालमा पोष्टमार्टमका लागि राखिएको १६ वर्षीया किशोरीको शव अस्पतालबाटै गायब भएको छ।

गोलबजार नगरपालिका-३, जमदहकी १६ वर्षीया निशा बानियाँ गत शुक्रबार आफ्नै घरमा पासो लगाएको अवस्थामा मृत फेला परेकी थिइन्।

इलाका प्रहरी कार्यालय गोलबजारले घटनाको मुचुल्का उठाई शवलाई पोष्टमार्टमका लागि लहानस्थित रामकुमार उपेन्द्रप्रसाद प्रादेशिक अस्पताल पठाएको थियो।

रोजगारीको सिलसिलामा भारतमा रहेका मृतकका बुबा रमेश बानियाँ र आमा आइतबार शव बुझ्न अस्पताल पुगेका थिए। तर, अस्पतालमा शव नै फेला नपरेपछि उनीहरू छाँगाबाट खसेजस्तै भए।

अस्पतालको शवगृहमा राखिएको शव कसरी गायब भयो भन्ने प्रश्न गर्दै आफन्त र स्थानीयवासी आन्दोलित बनेका हुन्। आफन्त तथा स्थानीयले घटनालाई सुनियोजित र रहस्यमय बताएका छन्।

स्थानीयका अनुसार मृतक निशा मृत्यु हुनु अघिल्लो दिन लहानस्थित एक युवकको घरमा बसेकी थिइन्। प्रेम सम्बन्धमा रहेकी उनी त्यहाँबाट फर्किएको केही समयमै मृत फेला पर्नु र शरीरमा चोटपटक समेत देखिनुले घटना शंकास्पद रहेको स्थानीयको दाबी छ।

स्थानीय आनन्द लामाले भने, ‘प्रेमीको घरबाट फर्किएलत्तै मृत्यु हुनु र अनुसन्धानको चरणमै रहेको शव अस्पतालबाट हराउनु सामान्य संयोग मात्र हुन सक्दैन। यसमा ठूलो मिलेमत्तो देखिन्छ।’

अर्का स्थानीय शिक्षक समर भण्डारीले पोष्टमार्टम नै नभएको शव हराउनु अस्पताल र प्रहरी प्रशासनको चरम लापरबाही भएको बताए।

घटनाबारे बुझ्न खोज्दा इलाका प्रहरी कार्यालय लहानका प्रमुख सम्पर्कमा आएनन् भने अस्पताल प्रमुख डा. रञ्जित झाको मोबाइल फोन अफ रहेको छ। अस्पताल पुगेका सञ्चारकर्मीका अनुसार डा. झाले शव ‘मिसप्लेस’ भएको भन्ने गैरजिम्मेवार जवाफ दिएका छन्।

आन्दोलन चर्किएपछि गोलबजार नगरपालिका-३ का वडा अध्यक्ष धनप्रसाद लामाले मंगलबार बिहान १० बजेसम्म शव सकुशल उपलब्ध गराउन अल्टिमेटम दिएका छन्।

तोकिएको समयमा शव नभेटिए पुनः कडा आन्दोलन गर्ने चेतावनीसहित स्थानीयले हाललाई सडक खुलाएका छन्।

माघ १३, २०८२ मंगलबार ०९:२६:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।