प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकको मतपत्र छपाइ सकियो, प्रत्यक्षतर्फको सुरू
काठमाडौं : निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइ कार्य सम्पन्न गरेको छ।
भक्तपुरको सानोठिमीस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा सोमबार समानुपातिकतर्फको २ करोड ८ लाख ५० हजार थान मतपत्र छपाइ सकिएको आयोगले जनाएको हो।
आयोगका अनुसार छापिएका यी मतपत्रहरू आगामी फागुन ५ गतेभित्र सबै निर्वाचन क्षेत्रमा ढुवानी गरिसक्ने योजना छ।
समानुपातिकतर्फको काम सकिएलगत्तै आयोगले सोमबारदेखि नै पहिलो हुने निर्वाचित हुने प्रणाली (प्रत्यक्ष) तर्फको मतपत्र छपाइ पनि सुरु गरेको छ।
प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसहितका अधिकारीहरूले सोमबार जनक शिक्षा सामग्री केन्द्र पुगेर छपाइ कार्यको स्थलगत निरीक्षण गरेका थिए।
निरीक्षणपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रमुख आयुक्त भण्डारीले प्रत्यक्षतर्फका लागि २ करोड ३ लाख २३ हजार मतपत्र छाप्न लागिएको जानकारी दिए।
उनले भने, ‘आजदेखि प्रत्यक्षतर्फको मतपत्र छपाइ सुरु भएको छ। यो काम अबको करिब १५ दिनभित्र सम्पन्न गर्ने लक्ष्य राखेका छौं।’
भण्डारीले निर्वाचनका लागि आवश्यक सुरक्षा व्यवस्थासहित सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको समेत बताए।
यसअघि आयोगले मतदाता शिक्षा र अभ्यासका लागि आवश्यक पर्ने प्रत्यक्षतर्फको करिब ११ लाख नमूना मतपत्र छपाइ गरी जिल्ला-जिल्लामा पठाइसकेको छ।
माघ १३, २०८२ मंगलबार ०९:०८:०९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।