आज र भोलि देशभर वर्षा र हिमपातको सम्भावना, सतर्क रहन महाशाखाको आग्रह
काठमाडौं : जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी माघ १३ र १४ गते देशका अधिकांश भू-भागमा मौसम प्रतिकूल रहने जनाउँदै सतर्कता अपनाउन आग्रह गरेको छ।
महाशाखाले आगामी तीन दिनको चेतावनी जारी गर्दै विशेष गरी मंगलबार र बुधबार वर्षा तथा हिमपातको सम्भावना रहेको औंल्याएको हो।
महाशाखाका अनुसार माघ १३ र १४ गते सबै प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा मध्यम हिमपात तथा वर्षाको सम्भावना रहेको छ।
यसैगरी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा मध्यम वर्षा हुने पूर्वानुमान गरिएको छ भने देशका बाँकी भू-भागका थोरै स्थानहरूमा पनि मध्यम वर्षाको सम्भावना रहेको छ।
विशेष गरी लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका भू-भागमा भने मेघगर्जन र चट्याङ्ग सहित वर्षाको समेत सम्भावना रहेकोले विशेष सावधानी अपनाउनुपर्ने देखिन्छ।
मौसममा आउने यो बदलाबका कारण दैनिक जनजीवन, पर्यटन तथा स्वास्थ्यमा असर पर्न सक्ने महाशाखाले जनाएको छ।
साथै, खराब मौसमका कारण हवाई तथा सडक यातायातमा समेत अवरोध सिर्जना हुन सक्ने भएकाले यात्रा गर्दा सावधानी अपनाउन अनुरोध गरिएको छ।
महाशाखाले मौसमको अवस्था क्षणक्षणमा परिवर्तन हुन सक्ने भएकाले दैनिक जारी हुने अद्यावधिक मौसमी सूचनाको जानकारी लिन र सुरक्षित रहन सर्वसाधारणमा अनुरोध गरेको छ।
माघ १३, २०८२ मंगलबार ०७:३५:४५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।