विशेष महाधिवेशनसँग असहमत जिल्ला नेतृत्वलाई कांग्रेसको विशेष परिपत्र : 'आफ्नै आँगनमा फर्किएर चुनाव केन्द्रित हुन आग्रह
काठमाडौँ : नेपाली कांग्रेसले पार्टीभित्रको आन्तरिक मतभेद र गुटगत मनोविज्ञानलाई त्यागेर आगामी निर्वाचनमा केन्द्रित हुन सम्पूर्ण नेता-कार्यकर्तालाई विशेष आह्वान गरेको छ। पार्टीको पछिल्लो विशेष महाधिवेशनमा सहभागी भएका वा नभएका र प्रक्रियाप्रति सहमत वा असहमत दुवै पक्षलाई समेट्ने उद्देश्यले केन्द्रले विशेष 'परिपत्र' जारी गरेको हो।
पार्टी महामन्त्रीद्वय गुरुराज घिमिरे र प्रदीप पौडेलद्वारा हस्ताक्षर गरिएको उक्त पत्रमा पार्टी अब "रूपान्तरण र एकताको नयाँ ऊर्जा" सहित अघि बढेको उल्लेख गर्दै कसैलाई पनि पूर्वाग्रह नराखी चुनावी अभियानमा होमिन आग्रह गरिएको छ।
परिचय पत्रमा विशेष महाधिवेशनमा सहभागी भएका वा नभएका, प्रक्रियामा सहमत भएका वा नभएका टोलदेखि केन्द्रसम्मका र देश-विदेशमा रहेका सबैलाई 'जय र पराजयको विषय नभएको' भन्दै संयमित र जिम्मेवार बन्न आग्रह गरिएको छ।
विभिन्न कारणले पार्टीबाट अलग भएका, राजनीतिक रूपमा निष्क्रिय रहेका वा अन्यायको महसुस गरिरहेका सबैलाई "आफ्नो आँगनमा फर्कन" भन्दै नेतृत्वले परिपत्रबाट अनुरोध गरेको छ।
कांग्रेसले विशेष महाधिवेशनमार्फत विगतका कमजोरीप्रति आत्मालोचना गर्दै अब 'बदलिएको कांग्रेस' को रूपमा जनतामाझ जाने उल्लेख गर्दै परिपत्रमा वर्तमान राजनीतिक परिस्थितिमा उच्च मनोबलका साथ पार्टीको पक्षमा जनमत सिर्जना गर्न र पार्टीका उम्मेदवारहरूलाई विजयी गराउन सबै तहका निकायहरूलाई कुशल रणनीतिक तवरले परिचालित हुन निर्देशन दिइएको छ।
"बदलौँ कांग्रेस, बदलौँ देश" भन्ने सङ्कल्पका साथ आगामी २०८२ फागुन २१ को निर्वाचनलाई महा-अभियानको रूपमा लिँदै देशको समुन्नतिका लागि एकजुट हुन आह्वान गरिएको परिपत्रमा पार्टीले भावी प्रधानमन्त्रीको रूपमा गगनकुमार थापालाई अघि सार्दै, उपसभापति विश्वप्रकाश शर्माको संयोजकत्वमा 'केन्द्रीय निर्वाचन परिचालन समिति गठन गरेको छ।
प्रवक्ता देवराज चालिसेको संयोजकत्वमा 'केन्द्रीय प्रचार-प्रसार समिति' गठन भएको छ। परिपत्रमा निवर्तमान सभापति शेरबहादुर देउवा लगायतका अग्रज नेताहरूले विशेष महाधिवेशनको लोकतान्त्रिक प्रक्रियालाई सहज रूपमा लिई पूर्ण साथ दिने विश्वास व्यक्त गरिएको छ।
माघ १२, २०८२ सोमबार २३:११:५४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।