मंगलबार र बुधबार देशभर हिमपात र वर्षाको सम्भावना

मंगलबार र बुधबार देशभर हिमपात र वर्षाको सम्भावना
फाइल तस्बिर

काठमाडौं : जल तथा मौसम पूर्वानुमान महाशाखाले मंगलबार र बुधबार देशभरका उच्च पहाडी तथा हिमाली भू-भागमा मध्यम हिमपात र वर्षाको सम्भावना रहेको जनाएको छ।

माघ १३ र १४ गते मौसममा उल्लेख्य परिवर्तन आई देशका विभिन्न स्थानमा वर्षा र हिमपात हुने देखिएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको हो।

महाशाखाले सार्वजनिक गरेको मौसमी बुलेटिन अनुसार मंगलबार र बुधबार सबै प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा मध्यम हिमपातको प्रक्षेपण गरिएको छ। यसैगरी लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ। देशका अन्य बाँकी भू-भागमा पनि थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुनसक्ने अनुमान गरिएको छ।

विशेष गरी लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भू-भागमा मेघगर्जन र चट्याङ्गसहित वर्षा हुने सम्भावना रहेकाले ती क्षेत्रको जनजीवन थप प्रभावित हुन सक्ने देखिएको छ। मौसममा आउने यो बदलावका कारण दैनिक जनजीवन, पर्यटन र स्वास्थ्य क्षेत्रमा असर पर्नुका साथै हवाई तथा सडक यातायात समेत प्रभावित हुन सक्ने महाशाखाले उल्लेख गरेको छ। प्रतिकूल मौसमबाट जोगिन र सुरक्षित रहन महाशाखाले दैनिक रूपमा जारी हुने अद्यावधिक मौसमी सूचनाको जानकारी लिन समेत अनुरोध गरेको छ।

तीन दिनको मौसमी चक्रलाई हेर्दा सोमबार रातिदेखि नै मौसममा परिवर्तन सुरु हुने देखिएको छ। सोमबार राति कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भेगमा बादल लाग्ने र एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। मंगलबार दिउँसोबाट गण्डकी, कर्णाली र सुदूरपश्चिममा मौसम थप सक्रिय भई रातीसम्ममा लुम्बिनी र गण्डकीका पहाडी भेगमा समेत मध्यम वर्षा र हिमपात सुरु हुनेछ।

बुधबार दिउँसो देशभर साधरणतया बादल लाग्ने र सबै प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा मध्यम हिमपातको प्रभाव रहने महाशाखाको भनाइ छ। सोही दिन लुम्बिनी, कर्णाली र सुदूरपश्चिम लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा मध्यम वर्षा हुनेछ। बुधबार रातिबाट भने मौसममा क्रमिक सुधार आउने र पहाडी तथा हिमाली भू-भागमा मात्र आंशिक बादल रही अन्य क्षेत्रमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ।

माघ १२, २०८२ सोमबार २१:०९:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।