युवा उम्मेदवारमा ठूला दलको 'कन्जुस्याइँ' : कांग्रेसका ९ र एमालेका १३ मात्रै, आधा स्वतन्त्र
काठमाडौं : निर्वाचन आयोगले माघ ९ मा अद्यावधिक गरेको विवरण अनुसार फागुन २१ को प्रतिनिधि सभा निर्वाचनमा ३ हजार चार सय ६ जनाको उम्मेदवारी कायम भयो। यसमा ३ हजार १७ जना पुरुष र ३ सय ८८ जना महिलासँगै १ जना अन्य समूहका छन्।
कुल उम्मेदवारलाई उमेर समूहका आधारमा विभाजित गर्दा ४० भन्दा कम उमेरका १ हजार ८२ जना उम्मेदवार देखिए। त्यसमा ९ सय ३६ जना पुरुष र एक सय ४५ जना महिला र एक जना अन्य समूहका छन्।
४० मुनिका उम्मेद्वारहरुलाई दलीय र स्वतन्त्र गरेर विभाजित गर्ने हो भने स्वतन्त्रको लर्को देखिन्छ। स्थापित दलहरूले ४० मुनि उमेर समूह र महिला उम्मेदवार बनाउन अझै कन्जुस्याइँ गरेको देखियो।
प्रमुख दल नै ४० मुनी अनुदार
उमेर समूहका आधारमा कुल ५ सय स्वतन्त्र उम्मेदवारमध्ये ४ सय ३६ पुरुष र ६४ जना महिला देखिए। यसरी हेर्दा स्वतन्त्र उम्मेदवार बनेकामध्ये ४० वर्ष मुनिकाहरुको संख्या ५ सय देखियो। यो सबै उम्मेदवारमध्ये ४६.२ प्रतिशत हो।
स्वतन्त्र उम्मेदवार बन्नेमा पुरुष ८७.२० प्रतिशत र महिला १२.८० प्रतिशत छन्। नेपाली कांग्रेसले ४० मुनिका ९ जना पुरुषलाई मात्रै उम्मेदवार बनाएको छ। यो पार्टीले ४० मुनिका महिला उम्मेदवार नै बनाएन।
एमालेले ९ पुरुष र चार महिला गरी ४० वर्ष मुनिका १३ जनालाई उम्मेदवार बनाएको छ। एमालेमा ४० मुनिका उम्मेदवारको यो संख्या कम नै हो।
नेपाली कम्युनिस्ट पार्टीमा पनि महिला उम्मेदवार न्यून नै देखियो। यो पार्टीले १७ जना पुरुष र ३ महिलासहित ४० मुनिका २० उम्मेदवार चुनावमा उठाएको छ। नेपाली कम्युनिस्ट पार्टीले सबै भन्दा कम २७ वर्षका अजय कुशवाहकलाई बारा–४ बाट उम्मेदवार बनाएको छ।
अवस्था बदल्ने नारा लाउँदै आएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समेत ४० मुनिका महिला उम्मेदवारलाई प्राथमिकता दिएको देखिएन।
४० मुनिका ७० जना उम्मेदवार बनाएको रास्वपाले ६१ जना पुरुष उम्मेदवार उठाउँदा जम्मा ९ जना महिलालाई मात्रै टिकट दियो।
रास्वपाको कम उमेरका उम्मेदवारहरूमा मकवानपुर–२ मा २५ वर्षीय प्रशान्त उप्रेती, मुगु–१ बाट २५ वर्षकै भुवन टमाटा, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) बाट २६ वर्षीय मनिष खनाल, हुम्ला–१ बाट २६ वर्षकी टासी ल्हान्जोम, कैलाली–२ बाट २६ वर्षका केपी खनाल र अछाम–१ बाट २७ वर्षका ओमप्रकाश रावल हुन्।
राष्ट्रिय प्रजातन्त्र पार्टीले २८ पुरुष र ५ महिला गरी ४० मुनिका ३३ जना उम्मेदवार बनाएको छ। यो पार्टीले मोरङ–६ बाट २७ वर्षीय सविन निरौला र सप्तरी–२ बाट २७ वर्षकै अजय कुमार दासलाई कम उमेरका प्रतिनिधि उम्मेदवारको रूपमा चुनावमा उठाएको छ।
नेमकिपामा पुरुष भन्दा महिला उम्मेदवार बढी
नेपाल मजदुर किसान पार्टीले ४० वर्ष मुनिका ३३ जना उम्मेदवार उठाउँदा पुरुष १३ र महिला २० जना उम्मेदवार उठाएको छ। यो पार्टीले पुरुषको तुलनामा महिला उम्मेदवार बढी उठाएको छ।
नयाँको पारा पनि उस्तै
उज्यालो नेपाल पार्टीले ४० वर्ष मुनिका ४५ उम्मेदवार चुनावमा उठाएको छ। यो पार्टीले पनि ४२ पुरुषलाई उम्मेदवार बनाउँदा जम्मा ३ जना महिलालाई मात्रै स्थान दियो।
यो पार्टीले सबैभन्दा कम उमेरका मोरङबाट २५ वर्षीय वसन्त बुढाथोकी र रौतहटबाट २५ वर्षका रामाकान्त प्रसाद पटेललाई चुनावमा उठाएको छ। ओखलढुंगाकी २६ वर्षे किशोरी कार्की र सिराहाबाट २६ वर्षीय श्रवण पासवानलाई चुनावमा उठाएको छ।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले ४० मुनिका ३८ पुरुष र २ महिला गरी ४० जना उम्मेदवार बनाएको छ। जसमध्ये २९ वर्षका दुई युवालाई उम्मेदवार बनाएको छ।
नयाँ उदाएको हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा पनि ४० वर्ष मुनिका उम्मेदवारमध्ये महिलाको उम्मेदवारी निराशाजनक नै देखियो। श्रम संस्कृति पार्टीले ३७ पुरुष र एक जना महिला गरी ४० मुनिका ३८ जना व्यक्तिलाई उम्मेदवार बनाएको छ।
यो पार्टीले सिराहा–४ मा सबै भन्दा कम उमेरका २६ वर्षीय पंकज कुमार ठाकुरलाई उम्मेदवार बनाएको छ।
आम जनता पार्टी (एकल चुनाव चिन्ह)ले ४० वर्ष मुनिका ३५ जनालाई उम्मेदवार बनायो। जसमध्ये यो पार्टीले ४० मुनिका २४ पुरुष र ११ महिलालाई उम्मेदवार बनाएको छ।
आम जनता पार्टीका तर्फबाट सबै भन्दा कान्छो २६ वर्ष उमेरका पर्सामा मोहम्मद इस्तखार, मुस्ताङमा अजय बिक र दैलेखकी २६ वर्षीय तिर्था कुमारी बशिं मगर विकलाई उम्मेदवार बनाएको छ।
साना दल केही उदार
मंगोल नेशनल अर्गनाइजेशनले पनि २८ पुरुष र ६ महिला सहित ३४ जना ४० मुनिका उम्मेदवार उठाएको छ। यो पार्टीको तर्फबाट कम उमेरका जाजरकोटबाट २५ वर्षका कमान बुढा मगर र रसुवाबाट २६ वर्षका विनोद थिङ कम चुनावी मैदानमा होमिएका छन्।
प्रगतिशील लोकतान्त्रिक पार्टीबाट २९ पुरुष र एक जना महिलासहित ४० मुनिका ३० जना उम्मेदवार चुनावी मैदानमा छन्। यो दलको तर्फबाट कम उमेरका चितवन–१ बाट २५ वर्षका विकास कामी, दाङ–२ बाट २६ वर्षका प्रतीक अधिकारी र डोल्पा–१ बाट २६ वर्षकै विकास बुढाले उम्मेदवारी दिएका छन्।
जनमत पार्टीले ४० वर्ष मुनिका १७ जना व्यक्तिलाई उम्मेदवार बनायो। जसमध्ये पुरुष १५ र महिला एक जना छन्। यो पार्टीको तर्फबाट कम उमेरका महोत्तरी–१ बाट २७ वर्षे वीरेन्द्र महतोलाई उम्मेदवार बनाएको छ।
नेश्नल रिपब्लिक नेपालले १४ पुरुष र एक महिला गरी ४० मुनिका १५ जनालाई उम्मेदवार बनाएको छ। जसमध्ये यो पार्टीबाट सबैभन्दा कम २६ वर्षका विष्णुमान विकलाई नवलपरासी (बर्दघाट सुस्ता पूर्व)बाट उम्मेदवार बनाएको छ।
मितेरी पार्टी नेपालले ११ पुरुष र ३ महिला सहित ४० मुनिका १४ जनालाई उम्मेदवार बनाएको छ। यो पार्टीले कैलाली–२ बाट कम उमेरका २७ वर्षीय सम्झना विष्ट थापा र कञ्चनपुरबाट २७ वर्षकै सिया राम रानालाई उम्मेदवार बनाएको छ।
जनता समाजवादी पार्टी, नेपालको तर्फबाट १२ पुरुष र एक महिला गरी ४० मुनिका १२ जनाले उम्मेदवारी दिएका छन्। राष्ट्रिय परिवर्तन पार्टीको तर्फबाट ११ जना पुरुष र एक जना महिला गरी ४० मुनिका १२ जना उम्मेदवार चुनावी मैदानमा होमिएका छन्। यो पार्टीको तर्फबाट सबैभन्दा कम उमेरका धनकुटाबाट २५ वर्षीय सालिक राम राई, खोटाङबाट २५ वर्षीय मिरेश राई, तेह्रथुमबाट २६ वर्षीय उषा लक्ष्मी तुम्वाहाङफे र उदयपुरबाट २६ वर्षकै अरुण राई उम्मेदवार छन्।
राष्ट्रिय मुक्ति पार्टी नेपाल (एकल चुनाव चिन्ह)ले ४० मुनिका ८ जना ४ पुरुषलाई उम्मेदवार बनाएको छ। यो पार्टीले ४० मुनिका एक जना पनि महिला उम्मेदवार बनाएन। जसमध्ये यो पार्टीको तर्फबाट काठमाडौं–९ बाट सबैभन्दा कम उमेर २७ वर्षका मदन डंगोल यो पार्टीको उम्मेदवार छन्।
नेपाल जनता पार्टीले ४० मुनिका ७ जना पुरुषलाई उम्मेदवार बनाएको छ। जसमध्ये जुम्लामा २६ वर्षे रनीन विक्रम शाहीलाई उम्मेदवार बनाएको छ।
नेपाल जनसेवा पार्टीले ६ जना पुरुष र एक महिला गरी ४० मुनिका सात जना व्यक्तिलाई उम्मेदवार बनाएको छ। यो पार्टीको तर्फबाट सबैभन्दा कान्छो उमेरका २६ वर्षीय हृदयन्द्र अधिकारीले सुर्खेत–१ बाट उम्मेदवारी दिएका छन्।
राष्ट्रिय जनमोर्चाबाट पाँच जना पुरुष र दुई जना महिला गरी ४० मुनिका सात जना उम्मेदवार छन्। यो पार्टीमा सल्यानबाट सबैभन्दा कम उमेरकी ३१ वर्षे कमला डाँगी उम्मेदवार छिन्।
संयुक्त नागरिक पार्टीले कञ्चनपुर–१ बाट कम उमेरका २७ वर्षीय दानियाल बिक सहित ४० वर्ष मुनिका सात जना पुरुषलाई उम्मेदवार बनाएको छ। नागरिक उन्मुक्ति पार्टी, नेपाल (एकल चुनाव चिन्ह)ले ४० मुनिका ६ जना पुरुषलाई उम्मेदवार बनाएको छ।
नेपाल कम्युनिस्ट पार्टी (संयुक्त)ले पाँच जना पुरुष र एक जना महिला गरी ४० मुनिका ६ जना उम्मेदवार उठाएको छ। यो पार्टीले नुवाकोट–२ बाट सबै भन्दा कम ३० वर्षका किरण तिमसेना र काठमाडौं–९ बाट एन्जिस राज प्रसाईँलाई उम्मेदवार बनाएको छ।
जनअधिकार पार्टीले ४० वर्ष मुनिका पाँच जना पुरुषलाई उम्मेदवार बनायो। उसले आफ्नो पार्टीको तर्फबाट न्यूनतम २८ वर्षका सञ्जय कुमार सहनीलाई बारा–३ बाट उम्मेदवार बनाएको छ।
जनता समाजवादी पार्टी (एकल चुनाव चिन्ह)ले ४० मुनिका पाँच जना पुरुषलाई उम्मेदवार बनाएको छ। यो पार्टीमा ४० मुनिका महिलालाई उम्मेदवार हुने अवसर दिइएन। यो पार्टीमा २७ माथिका उम्मेदवार छन्।
जय मातृभूमि पार्टीले ४० मुनिका पाँच जना पुरुषलाई उम्मेदवार बनाएको छ। जसमध्ये पार्टीको तर्फबाट कम उमेरका २६ वर्षीय अविन मेयाङ्गवो काठमाडौं–३ बाट चुनावी मैदानमा छन्।
नेपाल संघीय समाजवादी पार्टी (एकल चुनाव चिन्ह)ले ४० मुनिका पाँच जना पुरुषलाई उम्मेदवार बनाएको छ। जनादेश पार्टी नेपाल (एकल चुनाव चिन्ह)ले २५, २८ र ३४ वर्षका गरी ४० मुनिका तीन जना पुरुषलाई उम्मेदवार बनाएको छ।
जसमध्ये काठमाडौं–४बाट कम उमेरका २५ वर्षे केम्श सिंह यो पार्टीको तर्फबाट चुनावी मैदानमा छन्।
नेपालका लागि नेपाली पार्टीले महोत्तरी–३ बाट कान्छो २५ वर्षीय रजनिश राज पाण्डे सहित ४० मुनिका तीन जना उम्मेदवार चुनावमा उठेको छ।
बहुजन एकता पार्टी नेपाल (एकल चुनाव चिन्ह)ले ४० मुनिका तीन जना पुरुषलाई उम्मेदवार बनाएको छ। राष्ट्र निर्माण दल नेपालले पर्साबाट २५ वर्षीय मोहम्मद उमर खान र सुनसरी–२ बाट २६ वर्षीय आदित्य आचार्य सहित ४० मुनिका तीन जना पुरुषलाई उम्मेदवार बनाएको छ।
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले ४० मुनिका तीन जना पुरुषलाई उम्मेदवार बनाएको छ। जसमध्ये पार्टीको तर्फबाट झापा–५मा सबैभन्दा कम उमेरका २७ वर्षीय सुशान्त साम्पाङ राई उम्मेदवार छन्।
समावेशी समाजवादी पार्टीले काठमाडौं–१ बाट २८ वर्षीय पुरुष सुरेन्द्र पाण्डे, ओखलढुंगा–१ बाट ३२ वर्षीय अन्य समूहका पिंकी राई (बेगुराम राई) र मोरङ–४ बाट ३९ वर्षीय नुमा लिम्बु गरी ४० मुनिका तीन जना उम्मेदवार चुनावमा उठाएको छ।
गतिशील लोकतान्त्रिक पार्टीले एक जना पुरुष र एक जना महिला गरी ४० मुनिका दुई जनालाई उम्मेदवार बनाएको छ। यो पार्टीले कम उमेरकामध्ये सुर्खेत–२ बाट २८ वर्षे पवन थापा मगर र काठमाडौं–५ बाट ३९ वर्षे निशा आधिकारीलाई चुनावमा उठाएको छ।
जनता लोकतान्त्रिक पार्टी, नेपालले महोत्तरी–४ बाट २६ वर्षे शिव शंकर कुमार शर्मा र बारा–२ बाट ३५ वर्षीय श्यामबाबु प्रसाद चौधरीलाई उम्मेदवारी बनाएको छ। यो पार्टीमा ४० मुनिका एक जना पनि महिला उम्मेदवार छैनन्।
नागरिक उन्मुक्ति पार्टीले चितवन–३ बाट ३६ वर्षे हरिया महतो र रौतहटबाट ४० वर्षे चनचन चौधरी थारु गरी ४० वर्ष मुनिका एक जना महिला र एक जना पुरुषगरी दुई जनालाई उम्मेदवार बनाएको छ।
नेपाली जनता दल र पिपुल फस्ट पार्टी, राष्ट्रिय जनमत पार्टी र सार्वभौम नागरिक पार्टीले ४० मुनिका २÷२ जना पुरुष उम्मेदवार उठाएको छ।
राष्ट्रिय जनमुक्ति पार्टीले तनहुँ–२ मा लाल बहादुर सार्की (गोतामे) र कपिलवस्तुबाट नुमा बिक गरी ४० वर्षका एक जना पुरुष र एक जना महिला उम्मेदवार बनाएको छ।
देशभक्त समाजले ४० मुनिका एक जना पुरुषलाई मात्रै उम्मेदवार बनाएको छ। यो पार्टीको तर्फबाट ४० वर्षे प्रेमसिंह तिरुवा कालिकोटबाट चुनावमा होमिएका छन्।
नेपाल जनमुक्ति पार्टीले एक जना ४० वर्षका पुरुष, बहुजन शक्ति पार्टीले ४० मुनिका १÷१ जना पुरुष उम्मेदवार बनाएका छन्। युनाईटेड नेपाल डेमोक्राटिक पार्टीले ४० मुनिको एक जना मात्रै ३७ वर्षका पुरुष चनेश्वर साहलाई सर्लाही–२ बाट उम्मेदवार बनाएको छ।
राष्ट्रिय ऊर्जाशील पार्टी नेपालको तर्फबाट मोरङ–२ मा ३४ वर्षका मनोज कुमार राजवंशी र राष्ट्रिय एकता दलले धनुषा–४ बाट जितेन्द्र दासलाई मात्रै ४० वर्ष मुनिको प्रतिनिधित्वका रूपमा उम्मेदवार बनाएको छ।
राष्ट्रिय जनता पार्टी नेपालले महोत्तरी–४ बाट ३१ वर्षीय कमले कुमार भण्डारीलाई उम्मेदवार बनाएर पार्टीको तर्फबाट ४० मुनिको प्रतिनिधित्व गराएको छ। चितवन–३ बाट राष्ट्रिय नागरिक पार्टीका तर्फबाट ४० मुनिको उम्मेदवारका रूपमा ३० वर्षीय बिजन गुरुङ चुनावी मैदानमा छन्।
राष्ट्रिय मुक्ति आन्दोलन, नेपालका तर्फबाट सर्लाही–१ मा ३० वर्षीय टेक बहादुर श्रेष्ठ ४० वर्ष मुनिको उम्मेदवारका रूपमा चुनावमा होमिएका छन्।
माघ १२, २०८२ सोमबार २०:३९:३८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।