स्वागत नेपालसँग प्रहरीको केरकार : कानुन विपरीत नबोल्ने कागज गरेर छुटे

स्वागत नेपालसँग प्रहरीको केरकार : कानुन विपरीत नबोल्ने कागज गरेर छुटे

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार भद्रप्रसाद नेपाल (स्वागत नेपाल)सँग नेपाल प्रहरीको साइबर ब्यूरोले सोधपुछ गरेको छ। 

राप्रपाबाट झापा-२ मा उम्मेदवार रहेका नेपालमाथि निर्वाचन प्रचारप्रसारका क्रममा सामाजिक सञ्जालमार्फत हिंसा भड्काउने खालको अभिव्यक्ति दिएको आरोप छ। विभिन्न युट्युब च्यानलहरूमा सार्वजनिक नैतिकता र शिष्टाचार विरुद्धका हिंसात्मक अभिव्यक्ति दिएपछि ब्यूरोले उनीसँग सोधपुछ गर्यो। 

नेपालले अन्तर्वार्ता दिने क्रममा "जसले पृथ्वी नारायण शाहको विरोध गर्दछ, त्यसको टाउको काटिन्छ, काट्नु पर्छ, म काट्न तयार हुन्छु" भन्ने अभिव्यक्ति दिएका थिए। उनका यस्ता अभिव्यक्तिले समाजमा हिंसालाई प्रशय दिने र शान्ति सुरक्षामा खलल पुर्याउने ब्यूरोको निष्कर्ष छ।

प्रारम्भिक सोधपुछका क्रममा उनले अब उप्रान्त गलत अर्थ लाग्ने र कानुन विपरीतका अभिव्यक्ति नदिने तथा कानुनको पूर्ण पालना गर्ने भनी लिखित कागज गरेको ब्यूरोका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक दिपकराज अवस्थीले जानकारी दिए। प्रहरीले नेपाललाई आवश्यकता परेका बखत उपस्थित हुने गरी हालका लागि छाडेको छ।

यसैबीच, साइबर ब्यूरोले सामाजिक सञ्जाल तथा अन्य डिजिटल प्लेटफर्महरूमा कानुन विपरीतका सामग्री र अभिव्यक्ति सम्प्रेषण गर्नेहरूमाथि कडा निगरानी भइरहेको जनाएको छ। यस्ता गतिविधिमा संलग्नता पुष्टि भएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने समेत ब्यूरोले विज्ञप्तिमार्फत सचेत गराएको छ।

माघ १२, २०८२ सोमबार १८:३७:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।