विजयको स्वरमा पहिलो गीत ‘विधिको शासन’ सार्वजनिक
काठमाडौं : अभिनेता विजय बरालले पहिलो पटक एउटा गीतमा स्वर दिएका छन्। पछिल्लो समय चलचित्र 'पूर्णबहादुरको सारङ्गी' मार्फत चर्चामा रहेका बरालको स्वर रहेको 'विधिको शासन' बोलको गीत सार्वजनिक भएको हो।
शौरभ कार्कीको शब्द र प्रशान्त शिवाकोटीको संगीत रहेको 'विधिको शासन' बरालको स्वरबद्ध पहिलो गीता हो। उनले यसलाई आफ्नो व्यावसायिक गायन सुरुवातभन्दा पनि एक 'रहर र प्रयास' को चित्रित गरे।
उनले भने, "म गायक होइन, तर साथीहरूको आग्रह र मेरो स्वर सुहाउँछ भन्ने हौसलाका कारण यो एउटा गीतमा स्वर दिएको हुँ। साथीहरूको विश्वासलाई आत्मसाथ गर्दै एउटा प्रयास मात्र गरेको हुँ।"
नेपाली कला क्षेत्रमा कलाकारहरूले आफ्नो विधाभन्दा बाहिर गएर काम गर्ने अभ्यास नयाँ होइन। यसअघि उदित नारायण झा, रामकृष्ण ढकाल, बाबु बोगटी, यश कुमार जस्ता स्रष्टाहरू गायनबाट अभिनयमा प्रवेश गरेका थिए भने हालै प्रकाश सपुतले पनि अभिनय र निर्देशनमा हात हालेका थिए। सपुत निर्देशित पछिल्लो चलचित्र 'वसन्त'ले व्यावसायिक सफलता हासिल गर्न नसकेपछि उनी पुनः साङ्गीतिक क्षेत्रमै सक्रिय छन्।
अभिनयमा दर्शकको मन जित्न सफल बरालको यो साङ्गीतिक प्रयासलाई श्रोताले कसरी लिनेछन् भन्ने कुरा सार्वजनिक गीतको प्रतिक्रियाले नै तय गर्नेछ। उनी अब साङ्गीतिक क्षेत्रमा पनि सक्रिय हुन्छन् वा एक पटक रहर पुरा गरेका हुन् भन्ने विषयमा भने अभिनेता बरालले स्पष्ट पारेका छैनन्।
माघ १२, २०८२ सोमबार १५:०८:५१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।