महिला टी-२० विश्वकपको सपना अधूरै, स्कटल्याण्डसँग ७२ रनको फराकिलो हार (फोटो फिचर)

महिला टी-२० विश्वकपको सपना अधूरै, स्कटल्याण्डसँग ७२ रनको फराकिलो हार (फोटो फिचर)

काठमाडौं : घरेलु मैदानमा भइरहेको आईसीसी महिला टि-२० विश्वकप ग्लोबल छनोटबाट नेपाल बाहिरिएको छ।

सोमबार कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा भएको निर्णायक खेलमा स्कटल्याण्डसँग ७२ रनको फराकिलो अन्तरले पराजित भएसँगै नेपालको विश्वकप खेल्ने सपना चकनाचुर भयो।

समूह चरणमा एक जित र तीन हार व्यहोरेको नेपाल सुपर सिक्समा पुग्न असफल भयो। बलिङमा राम्रो सुरुवात गरे पनि ब्याटिङ चल्न नसक्दा र कप्तान इन्दु बर्मा घाइते भएर मैदान छाड्नु पर्दा नेपालले पीडादायी हार ब्यहोर्यो।

ग्लोबल छनोटमा पहिलो खेल खेलेकी मनिषा उपाध्यायले घातक बलिङ गरिन्। उनले आफ्नो ४ ओभरमा १७ रन खर्चेर ४ विकेट लिइन्। पहिलो ओभरमै दुई विकेट लिएर उनले नेपाललाई उत्कृष्ट सुरुवात दिलाएकी थिइन्।

सुरुवातमा विकेट गुमाए पनि स्कटल्याण्डकी प्रियानाज चट्टेर्जीले सम्हालिएर ब्याटिङ गरिन्। उनी ४५ रनमा अविजित रहँदा स्कटल्याण्डले १४० रनको सम्मानजनक स्कोर खडा गर्यो।

अनुभवी खेलाडी रुविना क्षेत्रीले बलिङमा साथ दिँदै ३ विकेट लिइन्। तर ब्याटिङमा १० रन मात्र जोड्न सकेकी रुविना आउट भएर पेभेलियन फर्किइन्।

लक्ष्य पछ्याउने क्रममा ५ बलमा ५ रन बनाएकी कप्तान इन्दु बर्मा रिटायर्ड हर्ट भई मैदानबाट बाहिरिइन्। उनी पुनः ब्याटिङमा फर्कन नसक्दा नेपाली टोली थप दबाबमा परेको थियो।

१४१ रनको लक्ष्य पछ्याएको नेपाल १३.५ ओभरमा ६८ रनमै समेटियो। ओपनर बिन्दु रावल र रोमा थापा (१४-१४ रन) बाहेक अन्य ब्याटरले दोहोरो अंक छुन सकेनन्।

माघ १२, २०८२ सोमबार १२:३३:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।