निर्वाचन आचारसंहिता लागू गराउन सबै स्थानीय तह र जिससलाई मन्त्रालयको सर्कुलर
काठमाडौं : सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका ७५३ वटै स्थानीय तह र ७७ वटै जिल्ला समन्वय समिति (जिसस) लाई निर्वाचन आचारसंहिता, २०८२ कडाइका साथ लागू गर्न र गराउन निर्देशन दिएको छ।
निर्वाचन आयोगले यही माघ ४ गते राति १२ बजेदेखि लागू गरेको आचारसंहिता कार्यान्वयनका लागि मन्त्रालयले सबै स्थानीय तह र जिससलाई पत्राचार गरेको हो।
मन्त्रालयका शाखा अधिकृत दीपेश कट्टेलद्वारा जारी परिपत्रमा सम्बन्धित निकायहरूले आ-आफ्नो कार्यक्षेत्रमा आचारसंहिताको पूर्ण पालना गराउन भनिएको छ।
सरकारले २०८२ साल पुस १२ गते नेपाल राजपत्रमा सूचना प्रकाशित गरी आचारसंहिता सार्वजनिक गरेको थियो। आयोगले अर्को सूचना जारी नभएसम्मका लागि यो संहिता लागू रहने जनाएको छ।
यही माघ ११ गते सम्पन्न राष्ट्रियसभा निर्वाचन र आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनलाई निष्पक्ष र मर्यादित बनाउन आयोगले आचारसंहिता लागू गरेको हो।
निर्वाचन आचारसंहितामा १० परिच्छेद, ५ अनुसूची र ५५ वटा दफाहरू रहेका छन्। मन्त्रालयले यसको प्रभावकारी कार्यान्वयनका लागि सबै स्थानीय संयन्त्रहरूको ध्यानाकर्षण गराएको छ।
माघ १२, २०८२ सोमबार १२:११:४५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।