‘पारस’मा जसिता

‘पारस’मा जसिता

काठमाडौं : निर्देशक कृषा चौलागाईँको आगामी फिल्म ‘पारस’मा अभिनेत्री जसिता गुरुङ अनुबन्धित भएकी छन्।

यसअघि अभिनेता निखिल उप्रेती मुख्य भूमिकामा फाइनल भइसकेको यस फिल्मका लागि शनिबार निर्माण पक्ष र जसिताबीच औपचारिक सम्झौता भएको हो।

एक्सन तथा सामाजिक कथावस्तुमा निर्माण हुने फिल्मको पटकथा भारतीय लेखक सचिन लादियाले तयार पारेका हुन्।

उनले पहिलो पटक नेपाली फिल्मको स्क्रिप्ट लेखेका हुन्। फिल्मको छायांकन चर्चित छायाकार पुरुषोत्तम प्रधानले गर्नेछन्। ‘ऐचो पैचो’ र ‘पिताम्बर’ पछि निर्देशक चौलागाईँ र छायाकार प्रधानबीचको यो तेस्रो सहकार्य हो।

यसअघि घोषणा गरिएको फिल्म ‘जहाजै’ तत्काल नबन्ने भएपछि निर्देशक चौलागाईँले ‘पारस’को काम अघि बढाएकी हुन्।

फिल्मका अन्य कलाकारहरू पनि छनोट भइसकेका छन्, यद्यपि निर्माण पक्षले हाललाई उनीहरूको नाम गोप्य राखेको छ। फिल्मको छायांकन आगामी फागुनको पहिलो सातादेखि सुरु गर्ने तयारी रहेको निर्माण टिमले जनाएको छ।

स्मरण रहोस्, कृषाको डेब्यु निर्देशन रहेको फिल्म ‘ऐचो पैचो’ले राम्रो प्रतिक्रिया पाएको थियो भने उनको दोस्रो फिल्म ‘पिताम्बर’ प्रदर्शनको तयारीमा छ।

माघ १२, २०८२ सोमबार ११:०८:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।