मिसन पुस्तान्तरण-४ : ‘लालकिल्ला’ रोल्पाबाट कांग्रेस उम्मेदवार बनेका ३४ वर्षे अर्थशास्त्री सुदन
काठमाडौं : २०५९ सालतिर माओवादी ‘जनयुद्ध’ उत्कर्षमा थियो। रोल्पा त झन् युद्धको उद्गमस्थल नै भयो। माओवादीका सेल्टर र लडाकुका तालिम केन्द्र गाउँ-गाउँमा थिए। रोल्पाको इरिवाङमा २०४७ साल माघमा जन्मिएका सुदन कुमार वली त्यतिबेला सानै थिए।
५९ सालमै माओवादीले उनको घर लुटे। आमा-बुबा दुवै सामान्य लेखपढ गर्न नजान्ने सिधासाधा थिए। माओवादीले घरबाट ३०/४० हजार नगद, केही गहना र सुदनका दाइको सवारी चालक अनुमति पत्र (लाइसेन्स) समेत लिएर गए।
सुदनकी आमा छोराको लाइसेन्स फिर्ता पाइन्छ कि भनेर माओवादीको क्याम्पमा पुगिन्। तर, माओवादी कार्यकर्ताले ‘सुराकी गर्न आएकी’ भन्दै उल्टै कुटेर पठाए।
जब आमा घर आएर रुन थालिन्, सुदनको बालमस्तिष्कमा गहिरो चोट पर्यो। माओवादीको यस्तो ज्यादतीको विरोध कसले गर्छ? उनले खोजीनीति गरे। थाहा पाए- कांग्रेसले गर्छ। त्यसपछि रोल्पामै स्कुले जीवन बिताइरहेका सुदन ६ कक्षामा पढ्दा नै नेपाल विद्यार्थी संघको इकाइ सचिव बने।
‘माओवादी युद्धका राम्रा-नराम्रा पाटा बहसमा आउलान्, तर त्यतिबेला जनता चेपुवामा थिए। माओवादीलाई सहयोग नगर्दा सेनाको सुराकीको आरोपमा कुटाइ खाइन्थ्यो,’ उनी सम्झन्छन्, ‘मेरी आमाले पनि कुटाइ खानुभयो। त्यो दिनदेखि मलाई माओवादी मन परेन। स्कुलमा पढ्दा कांग्रेसले रक्षा गर्छ भन्ने सुनेर म कांग्रेस भएँ।’
कांग्रेसको राजनीति र अर्थशास्त्रको पढाइ
स्कुल पढ्दा नै नेविसंघमा लागेका वली जिल्ला कार्यसमिति सदस्य हुँदै २०६४ सालमा नेविसंघको केन्द्रीय महाधिवेशन प्रतिनिधि बने। तर, संगठनको अधिवेशन समयमा नहुने देखेपछि उनी पढाइमा केन्द्रित हुन थाले। उनले चीनको बेइजिङस्थित ‘युनिभर्सिटी अफ इन्टरनेसनल बिजनेस एन्ड इकोनोमिक्स’बाट अर्थशास्त्रमा विद्यावारिधि गरे।
नेपाली अर्थतन्त्र र सार्वजनिक नीतिमा विशेष दख्खल राख्ने डा. वलीका आर्थिक विकास, मानव पूँजी, वित्तीय गहिराइ र सामाजिक सुरक्षासम्बन्धी १५ भन्दा बढी वैज्ञानिक अनुसन्धान लेख राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जर्नलमा प्रकाशित छन्। उनी सञ्चार माध्यममा पनि अर्थतन्त्रबारे नियमित कलम चलाउँछन्।
डा. वलीले लुम्बिनी प्रदेश योजना आयोगको सदस्य, विभिन्न मन्त्रालयका नीतिगत विज्ञ तथा द एसिया फाउन्डेसन, क्यामाड कलेज, हेराल्ड कलेज लगायतका संस्थामा अर्थशास्त्री र प्राध्यापकका रूपमा काम गरिसकेका छन्।
‘मलाई आरोप-प्रत्यारोपको राजनीति मन पर्दैन। तथ्यमा आधारित भएर बहस गर्नुपर्छ,’ डा. वली भन्छन्, ‘रोल्पामा सधैं कम्युनिष्टले जित्ने भए तापनि यहाँ अब फरक विचार र भिजन भएको उम्मेदवार चाहिएको छ। नीतिगत तहमा काम गर्ने हुटहुटीले नै मैले उम्मेदवारी दिएको हुँ।’ उनी नेपालको विकासमा ‘प्रमाणमा आधारित’ नीति निर्माण गर्नुपर्ने मान्यता राख्छन्।
पूर्व अर्थमन्त्रीसँग ‘हेभीवेट’ भिडन्त
आगामी निर्वाचनमा ३४ वर्षीय वलीको प्रतिस्पर्धा पूर्वअर्थमन्त्री एवं माओवादी केन्द्रका प्रभावशाली नेता वर्षमान पुनसँग हुँदैछ। ५४ वर्षीय पुन रोल्पाका पुराना खेलाडी हुन्। २०७४ को निर्वाचनमा वर्षमानले ४२ हजार ८४ मत ल्याउँदा कांग्रेसका अमरसिंह पुनले २० हजार ३ सय ३७ मत ल्याएका थिए।
यसपटक ५४ वर्षे ‘हेभीवेट’ नेता पुनसँग ३४ वर्षे युवा अर्थशास्त्री वलीको प्रतिस्पर्धा रोचक हुने देखिन्छ। लामो समयदेखि प्रत्यक्ष-अप्रत्यक्ष रूपमा रोल्पाको विकासमा जोडिएकाले यसपटक रोल्पालीले मन बदल्नेमा उनी आशावादी छन्।
‘माडीचौरको बेली ब्रिज निर्माण, मदन भण्डारी राजमार्ग, पोबाङ-थवाङ र कपुरकोट-जिनाबाङ सडक खण्डको बजेट सुनिश्चिततामा मैले व्यक्तिगत र संस्थागत पहल गरेको छु’, वली भन्छन्।
लुम्बिनी प्रदेशको दोस्रो आवधिक योजना निर्माण, प्रदेश पर्यटन नीति, सडक गुरुयोजना, नेपाल सरकारको १६औं आवधिक योजना र राष्ट्रिय खेलकुद नीति-२०८२ निर्माणमा आफूले पुर्याएको योगदानको कदर जनताले गर्ने उनको विश्वास छ।
रोल्पाले लामो समयदेखि एउटै अनुहारलाई संसद्मा पठाएको भन्दै उनी अबको परिवर्तित अवस्था, जनताको समृद्धिको आकांक्षा र विश्व परिवेश बुझ्ने नेतृत्व आवश्यक रहेको तर्क गर्छन्।
‘स्थानीय अर्थतन्त्रको प्रवर्द्धन, गुणस्तरीय पूर्वाधार र प्रविधिको एकीकृत विकासमार्फत समुन्नत रोल्पा निर्माणका लागि म सधैँ प्रतिबद्ध छु’, उनले भने।
०००
भदौ २३-२४ को जेनजी आन्दोलनको मागहरूमध्ये प्रमुख थियो- पुस्तान्तरण र नेतृत्व हस्तान्तरण। त्यसैको बलमा सत्ता बदलियो र २०८४ मा हुने निर्वाचन २०८२ मा आइपुग्यो।
हुन्छ कि हुन्न भन्ने अन्योलकाबीच प्रत्यक्षतर्फको उम्मेदवारी दर्तासँगै प्रचार-प्रसार सुरू भइसक्यो। निर्वाचनको मिति तोकिँदा होला र भन्नेमा जति संशय थियो अब ‘कसरी रोकिन्छ र?’ भन्ने दृढता देखिन्छ।
जेनजी पुस्ताको हस्तक्षेपबाट हुन लागेको निर्वाचनमा यही पुस्ताको प्रतिनिधित्वको अवस्था कस्तो छ? उकेराले सबै दलका उम्मेदवारहरूमध्ये ४० मुनिका कति मात्र हैन कस्ता-कस्ता परे भन्ने लेखाजोखा गर्न यो सिरिज सुरू गरेको हो।
मिसन पुस्तान्तरणका यसअघिका समाचार:
माघ १२, २०८२ सोमबार ०९:०९:४४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।