१० वर्षदेखि रोकिएको २ अर्ब ६० करोड ठगीको अनुसन्धान खुल्दा समातिए ६ जना, अस्पतालको नाम अझै गोप्य

१० वर्षदेखि रोकिएको २ अर्ब ६० करोड ठगीको अनुसन्धान खुल्दा समातिए ६ जना, अस्पतालको नाम अझै गोप्य

काठमाडौं : हिमाली क्षेत्रमा आउने पर्यटकलाई लक्षित गर्दै फेक रेस्क्यूमार्फत करिब २ अर्ब ६० करोड रुपैयाँ भन्दा बढी ठगी भएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले सार्वजनिक गरेको छ।

आइतबार पत्रकार सम्मेलन गरेर ब्युरोले माउन्टेन रेस्क्यू सर्भिसेस प्रालि, नेपाल चार्टर सर्भिसेस प्रालि, एभरेस्ट एक्सपिरेन्स एन्ड असिस्टेन्ट प्रालीले फेक रेस्क्यू गरेर साढे २ अर्ब ठगी गरेको सार्वजनिक गरेको हो। ब्युरोका अधिकारीले प्रारम्भिक अनुसन्धानको क्रममा प्रमाण फेला परेको भन्दै जयराम रिमाल, विवेक पाण्डे, रवीन्द्र अधिकारी, विवेकराज थपलिया, मुक्ति पाण्डे र सुभाष केसीलाई पक्राउ गरेको छ।

सिआइबी प्रमुख डा. मनोज केसीका अनुसार जयराम माउन्टेन रेस्क्यू सर्भिस प्रालिका सञ्चालक हुन्। रवीन्द्र नेपाल चार्टर सर्भिसका सञ्चालक हुन्। विवेकराज अपरेटर म्यानेजर र मुक्ति र सुभाष एभरेस्ट एक्पिरेन्स एन्ड एसेस्टका सञ्चालक र म्यानेजर हुन्।

उनीहरूले हिमाल आरोहणको लागि आउने पर्यटकलाई लक्षित गरेर रेस्क्यू गर्ने बहानामा गैरकानुनी तरीकाले रकम असुलेको २०७४ मै सार्वजनिक भएको थियो। ट्राभल्स एसेस्टले रेस्क्यूको नाममा करिब ३५ प्रतिशत उडान नक्कली र अनावश्यक भएको दाबी गरेको थियो।

उनीहरूले पदयात्रीको खानामा मिसावट गरी कृत्रिम बिरामी बनाउने र हेलिकप्टरबाट रेस्क्यू गराई कमिसन लिने गरेको समाचार बाहिरिएपछि पर्यटन मन्त्रालयले छानबिन समिति बनाएको थियो। 

उक्त समितिले २०७५ भदौमै पर्यटन मन्त्रालयमा छानबिन प्रतिवेदन बुझाएर थप अनुसन्धानका लागि प्रहरीमा पठाए पनि यो रोकिएको थियो।

२०८२ असोज १२  र पुस १ मा नक्कली उद्धार गर्ने कम्पनीलाई कारबाही गर्न सिआइबीमा उजुरी परेपछि पुन अनुसन्धान ब्यूँतिएको थियो। उजुरीमा विदेशी पर्यटकलाई लक्षित गरी ट्रेकिङ/ट्राभल कम्पनी, हेली रेस्क्यू कम्पनी र अस्पतालहरू र पर्यटक गाइडको अवैध मिलेमतोमा नक्कली उद्धार गर्ने कार्य भएको दाबी थियो। सीआइबी प्रमुख केसीका अनुसार थप उजुरी आउनेक्रम जारी नै छ।  

“उजुरी पर्ने क्रम जारी। हामीले प्राप्त गरेको हालसम्मको जानकारी यत्ति हो। बाँकी कुरा अनुसन्धानबाट खुल्दै जान्छ” उनले आइतबार भने।

हालसम्म पक्राउ परेकाहरूलाई सीआइबीले राष्ट्रहित कसुर, आपराधिक लाभको कसुर र संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दामा अनुसन्धान जारी राखेको छ। 

ब्यूरोले सार्वजनिक गरेको विवरणमा माउन्टेन रेस्क्यू सर्भिसेस् प्रालीले १२ सय ४८ जनाको आपत्कालीन उद्धार गरेकोमध्ये १ सय ७१ जनाको रेस्क्यू शङ्कास्पद देखिएको छ। 

नेपाल चार्टर सर्भिसेस् प्रालीले ४ सय ७१ जनालाई रेस्क्यू गरेकोमा ७५ जनाको रेस्क्यू शंकास्पद देखिएको छ। एभरेस्ट एक्सपिरेन्स एन्ड एसिस्टेन्स प्रालीले ६ सय १ जनालाई रेस्क्यू गरेकोमा ७१ जना शंकास्पद देखिएको छ। 

कसरी हुन्थ्यो फेक रेस्क्यू?

ब्यूरोको अनुसार, रेस्क्यू एजेन्सीहरूले विदेशबाटै ईन्स्युरेन्स गरेका पर्यटकको छनोट गर्ने गरेका थिए। त्यसपछि ट्राभल एजेन्सीले उनलाई ट्रेकिङको लागि उच्च हिमाली क्षेत्रमा पठाउँथे। 

सामान्य अवस्थामा आउने उच्च उचाइमा अक्सिजनको कमीका कारण शरीरमा देखिने सामान्य प्रतिक्रियालाई लेक लाग्ने वा एएमएस (एक्युट माउन्टेन सिकनेस्) लक्षणहरूबाट बच्न गरिने सामान्य प्रक्रिया पनि नअपनाई पर्यटकलाई डर देखाएर हेलिकप्टर माग गर्न कर गर्ने गरेको ब्युरोको विवरणमा उल्लेख छ।

त्यसैगरी, हेलिकप्टरबाट निश्चित अस्पतालमा उपचारको लागि पठाई उपचार गरेको स्वास्थ्य रिपोर्ट तयार गर्ने गरेको डा केसीले बताए।

उच्च हिमाली क्षेत्रबाट तल झरेपछि स्वास्थ्य अवस्था ठिक हुने अवस्थाका पदयात्रीलाई समेत जबरजस्ती अस्पताल लगेर रिपोर्ट बनाउने गरेको र यसमा अस्पताल समेत संलग्न रहेको केसीले बताए। 

“डर देखाउने, हेलिकप्टरको माग गर्न लगाउने र जबरजस्ती अस्पताल लगेर फेक डकुमेन्ट समेत बनाएको हालसम्मको अनुसन्धानबाट खुलेको छ,” उनले भने “यसमा अस्पताल, हेलिकप्टर कम्पनी, पाइलटको समेत संलग्न रहेको खुल्छ। हामी यसबारेमा थप अनुसन्धान गरिरहेका छौँ।” 

यसरी अस्पताल लगेपछि उनीहरूले रेस्क्यू कम्पनी र अस्पतालले फरक फरक वा एकमुस्ट इन्स्यूरेन्स कम्पनीसँग बीमाको रकम दाबी गर्ने गरेका थिए।

त्यतीमात्रै होइन, नियमित फ्लाइट वा चार्टर फ्लाइटमा पर्यटकलाई काठमाडौँसम्म पुर्याएको अवस्थामा पनि रेस्क्यू गरेको भन्दै फेक डकुमेन्ट तयार गरी बीमा दाबी गर्ने गरेको र त्यसको लागी रेस्क्यू गरेको समय तालिका र प्यासेन्जर म्यानिफेस्ट समेत नक्कली बनाएर बीमा कम्पनीलाई पठाएको ब्युरोले दाबी गरेको छ।

एउटै चार्टर फ्लाइटमा आएका धेरै पर्यटकलाई समेत छुट्टाछुट्टै स्थानबाट छुट्टाछुट्टै समयमा रेस्क्यू गरेको भन्दै बीमा दाबी गरेको समेत भेटिएको प्रहरीको दाबी छ। पदयात्रा सकेपछि पर्यटकलाई पुनः सोही रुटबाट फर्कनु भन्दा चार्टर गरेर जान फकाउने गरेको ब्युरोको दाबी छ।

प्रहरीले नक्कली रेस्क्युको आवरणमा भएको ठगीमा अस्पताल, हेलिकप्टर कम्पनी, पाइलटलाई समेत संलग्न देखिएपछि अनुसन्धानको दायरामा ल्याएको दाबी गरे पनि विवरण भने खुलाएन।

माघ ११, २०८२ आइतबार २१:४७:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।