राष्ट्रिय सभामा कांग्रेस र एमालेको वर्चस्व, १८ पदमा गठबन्धनका उम्मेदवारको जीत
काठमाडौँ : फागुन २० गते रिक्त हुन लागेका राष्ट्रिय सभाको १८ सिटका लागि आइतबार भएको निर्वाचनमा १८ सिटमध्ये नेपाली कांग्रेसले ९, एमालेले ८ र लोसपाले १ सिट जितेका छन्। निर्वाचनमा यी दलबीच गठबन्धन भएको थियो।
राष्ट्रिय प्रजातन्त्र पार्टी मतदानमा अनुपस्थित भयो। नेपाली कम्युनिस्ट पार्टीले कांग्रेस-एमालेका उम्मेदवार विरुद्ध उम्मेदवारी दिए पनि जित निकाल्न सकेन। राष्ट्रिय सभामा प्रदेश सांसद र स्थानीय तहका प्रमुख र उपप्रमुखले मतदान गर्छन्।
गठबन्धन अनुसारै कोशी प्रदेशबाट ३ जना निर्वाचित भए। कांग्रेसका सुनिलबहादुर थापा मनोनयनकै चरणमा निर्विरोध निर्वाचित भएका थिए। आइतबारको मतदानबाट एमालेबाट रोशनी मेचे सोमनाथ पोर्तेल निर्वाचित भए।
मधेस प्रदेशमा रिक्त ४ सिटमध्ये कांग्रेसले २, लोसपा र एमालेले १-१ सिट जिते। कांग्रेसबाट धमेन्द्र पासवान र रञ्जित कर्ण निर्वाचित भए। लोसपाका महन्थ ठाकुर र एमालेबाट रेखाकुमारी झा निर्वाचित भए।
बागमतीमा रिक्त २ सिटमा कांग्रेसबाट गीता देवकोटा र एमालेबाट प्रेमप्रसाद दंगाल निर्वाचित भए। गण्डकी प्रदेशका दुवै सिटमा गठबन्धनका उम्मेदवारहरू विजयी भए। कांग्रेसबाट जगत तिमिल्सिना आउँदा एमालेबाट जगत सम्झना देवकोटाले जितिन्।
लुम्बिनी प्रदेशमा रिक्त भएको ३ सिटमध्ये कांग्रेसले २ र एमालेले १ सिट लिएका थिए। कांग्रेसबाट वासुदेव जङ्गली र चन्द्रबहादुर केसीले जित्दा एमालेबाट रामकुमारी झाँक्री राष्ट्रिय सभामा पुगिन्। उनी माओवादी केन्द्र र एकीकृत समाजवादीबीच एकीकरण भएपछि एमालेमा फर्किएकी थिइन्।
कर्णाली प्रदेशका दुवै पदमा कांग्रेसबाट ललितजंग शाही र एमालेबाट मिनासिंह रखालको जित भयो। सुदूरपश्चिम प्रदेशका दुवै पदमा पनि गठबन्धनले जित हात पारेको छ। त्यहाँ एमालेबाट लीलाकुमारी भण्डारी र कांग्रेसबाट खम्मबहादुर खातीले जिते।
माघ ११, २०८२ आइतबार २०:३४:१० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।