दलगत कार्यक्रममा राष्ट्रिय झण्डाको प्रयोग बढेपछि गृहको विज्ञप्ति, अपमान गरे कारबाहीको चेतावनी
काठमाडौँ : राजनीतिक गतिविधिमा राष्ट्रिय झन्डा प्रयोगको क्रम बढेपछि गृह मन्त्रालयले विज्ञप्तिमार्फत् नेपालको राष्ट्रिय गौरवको प्रतीक राष्ट्रिय झण्डाको प्रयोगलाई व्यवस्थित र मर्यादित बनाउन आग्रह गरेको छ। आइतबार जारी विज्ञप्तिमा दुरुपयोग गरेमा कडा कानुनी कारबाही हुने चेतावनी दिएको छ।
पछिल्लो समय विरोध प्रदर्शन र पार्टीको कार्यक्रममा समेत दलगतको साटो राष्ट्रिय झण्डाको प्रयोग गर्ने क्रम बढेको छ। मन्त्रालयका अनुसार "राष्ट्रिय झन्डा र राष्ट्रिय गानको प्रयोग सम्बन्धी कार्यविधि, २०६९" बमोजिम राष्ट्रिय झण्डालाई उल्टो (चन्द्रमा तल पर्ने गरी) राख्न वा फहराउन नपाउने, झन्डा च्यात्न, जलाउन, फाल्न वा कुनै सामान पोको पार्न नपाउने उल्लेख गरेको छ।
व्यापारिक प्रयोजनका लागि विज्ञापनको उद्देश्यले राष्ट्रिय झण्डाको प्रयोग गर्न नपाइने, व्यक्तिले आफ्नो शरीरमा झण्डाको प्रतीक प्रयोग गर्दा कम्मरभन्दा माथिको भागमा बाहेक अन्यत्र लगाउन नपाइने, शरीरको छातीभन्दा तलको भागमा लगाइने भित्री वा बाहिरी कपडामा राष्ट्रिय झण्डाको प्रतीक वा चित्र राख्न पूर्ण रूपमा निषेध गरिएको छ।
निर्वाचन आचारसंहिता र कानुनी व्यवस्था
मन्त्रालयले आसन्न निर्वाचनको सन्दर्भमा निर्वाचन आचारसंहिता, २०८२ को व्यवस्थाबारे उल्लेख गर्दै दल वा उम्मेदवारले जुलुस, आमसभा वा घरदैलो गर्दा बढीमा १० वटा मात्र राष्ट्रिय झन्डा प्रयोग गर्न पाउने व्यवस्था रहेको सम्झाएको छ।
त्यसैगरी, मुलुकी अपराध संहिता, २०७४ को दफा १५१ बमोजिम राष्ट्रिय झण्डाको अपमान गरेमा वा अनुपयुक्त स्थानमा प्रयोग गरेमा सजाय हुने व्यवस्था रहेको उल्लेख गर्दै प्रमुख जिल्ला अधिकारीहरूलाई आ-आफ्नो क्षेत्रभित्र झण्डाको सही प्रयोग भए नभएको नियमित अनुगमन गर्न निर्देशन दिइएको छ।
माघ ११, २०८२ आइतबार १९:३३:०८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।