'फेक रेस्क्यू' मा ६ सञ्चालक पक्राउ, एउटै कम्पनीद्वारा १ करोड डलरसम्मको बीमा दाबी
काठमाडौँ : नेपालको पर्वतारोहण र ट्रेकिङ क्षेत्रमा विदेशी पर्यटकलाई नक्कली उद्धार (फेक रेस्क्यू) गरी करोडौँ डलर ठगी गरेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले विभिन्न ट्राभल कम्पनीका ६ जना सञ्चालकलाई पक्राउ गरेको छ।
सीआईबीले आइतबार पत्रकार सम्मेलन गर्दै पर्यटकीय क्षेत्रमा हुने गरेको गम्भीर ठगी र सङ्गठित अपराधबारे साढे दुई महिना लामो अनुसन्धानको निष्कर्ष सार्वजनिक गरेको हो। सीआईबीले अदालतबाट पक्राउ अनुमति लिएर माउन्टेन रेस्क्यू सर्भिसका जयराम रिमाल र विवेक पाण्डे, नेपाल चार्टर सर्भिस प्रालिका रवीन्द्र अधिकारी र विवेकराज थपलिया तथा एभरेस्ट एक्सपिरियन्स एन्ड एसिस्टेन्स प्रालिका मुक्ति पाण्डे र सुभाष केसीलाई पक्राउ गरेको हो।
पक्राउ परेकाहरूमाथि राष्ट्रहित विपरीतको कसुर, आपराधिक लाभ (एक्सटर्सन), सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दामा अनुसन्धान अघि बढाइएको सीआईबी प्रमुख एआईजी मनोज केसीले जानकारी दिए।
कसरी हुन्थ्यो ठगी ?
सीआईबीको अनुसन्धानले तीन वटा कम्पनीले अस्वाभाविक रूपमा 'फेक रेस्क्यू' देखाएर बीमा दाबी गरेको देखाएको छ। आइतबार सार्वजनिक विवरण अनुसार माउन्टेन रेस्क्यू सर्भिसले कुल १,२४८ जनाको उद्धार देखाएकोमा १७१ जनाको 'फेक रेस्क्यू' गरेको पुष्टि भएको छ। यसबापत उसले १ करोड अमेरिकी डलरभन्दा बढीको बीमा दाबी गरेको पाइएको छ।
नेपाल चार्टर सर्भिस प्रालिले ४ सय ७१ जनाको उद्धार गरेकोमा ७५ जनाको फेक रेस्क्यू गरी ८२ लाख डलर माग दाबी गरेको खुलेको छ।
एभरेस्ट एक्सपिरियन्स एन्ड एसिस्टेन्स प्रालिले ६०१ जनामध्ये ७१ जना पर्यटकको शंकास्पद उद्धार गरी ११ लाख ५३ हजार अमेरिकी डलर माग दाबी गरेको छ।
हेलिकप्टर र अस्पतालको मिलेमतो
सीआईबी प्रमुख केसीका अनुसार चार्टर फ्लाइटलाई रेस्क्यूमा कन्भर्ट गर्ने, नक्कली बिलहरू बनाउने र एउटै रेस्क्यूमा पनि धेरै क्लेम गर्ने गरिएको पाइएको छ।
"हेलिकप्टरसँगै केही निजी अस्पतालहरूबाट पनि यसखाले गतिविधि हुने गरेको देखियो," उनले भने, "पर्यटन मन्त्रालयको प्रतिवेदन र विदेशी सञ्चारमाध्यमले उठाएका विषयलाई आधार मानेर हामीले छुट्टै कार्यदल नै बनाएर अनुसन्धान गरेका हौँ।"
माघ ११, २०८२ आइतबार १८:४४:२९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।