मतदातासँग राप्रपा उम्मेदवार कुन्ती पोखरेलको ‘चिया गफ’

मतदातासँग राप्रपा उम्मेदवार कुन्ती पोखरेलको ‘चिया गफ’

काठमाडौं : काठमाडौं क्षेत्र नम्बर २ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की उम्मेदवार कुन्ती देवी पोखरेलले आफ्नो चुनावी प्रचारप्रसार सुरु गरेकी छन्। काठमाडौं क्षेत्र नम्बर २ मा पर्ने वडा नम्बर ३२ पेप्सिकोलास्थित स्टार बैंक्वेटमा उनले स्थानीय बासिन्दासँग ‘चिया गफ’ गरिन्।

स्थानीयसँग प्रत्यक्ष संवाद गर्ने र क्षेत्रगत समस्याहरूको पहिचान गरी समाधानका उपाय खोज्ने उद्देश्यले ‘चिया गफ’ आयोजना गरिएको थियो। छलफलमा सहभागीहरूले स्थानीय विकासका समस्याका साथै राष्ट्रिय राजनीति र अर्थतन्त्रका विषयमा समेत चासो व्यक्त गरे। विशेषगरी उत्पादनमूलक उद्योगको स्थापना, स्वदेशमै रोजगारीका अवसरको सिर्जना र बढ्दो युवा पलायन रोक्ने रणनीतिका बारेमा गम्भीर विमर्श भएको थियो। 

उम्मेदवार पोखरेलले भ्रष्टाचार अन्त्यका लागि प्रभावकारी नीति निर्माणमा आफ्नो सक्रिय भूमिका रहने बताइन्। उनले काठमाडौं- २ का नागरिकका आवाजलाई संसद्मा सशक्त रूपमा उठाउने र जनताको प्रत्यक्ष सरोकारका मुद्दाहरूलाई प्राथमिकतामा राखेर नीतिगत पहल गर्ने प्रतिबद्धता व्यक्त गरिन्।

माघ ११, २०८२ आइतबार १४:५५:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।