ओली र बालेनबीच सुरु भयो फेसबुक डिबेट, देश जलाउने र प्रदर्शनकारी मार्ने भन्दै आरोप-प्रत्यारोप
काठमाडौं : प्रमुख दल नै भावी प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर निर्वाचनमा होमिएपछि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको शैलीमा पब्लिक डिबेटबारे बहस भइरहेको छ।
मुख्यगरि अमेरिकामा राष्ट्रपतिका उम्मेदवारबीच हुने डिबेटको शैलीमा भावी प्रधानमन्त्री घोषित नेपाली कांग्रेसका सभापति गगन थापा, एमाले अध्यक्ष केपी ओली अनि राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता वालेन्द्र साहबीच प्रत्यक्ष बहसबारे सञ्जालबाट माग सुरु भएको थियो।
निर्वाचन प्रचारकै क्रममा हुने यस्तो बहसले उम्मेदवारको योजना, रणनीति र तर्कसंगत बहसका आधारमा उम्मेदवारको माहोल बन्ने गरेको देखिन्छ।
गगन र वालेन्द्र यसबारे मौन नै छन्। शनिबार केपी ओलीले आफू डिबेटका लागि तयार भएको बताए। यति मात्र हैन, आइतबार बिहानै उनले फेसबुकमा समेत डिबेट (बहस)बारे "पब्लिक डिबेटको लागि तयार छौं" लेखे। त्यसैमा वालेन्द्रको आधिकारिक अकाउन्टबाट कमेन्ट आएपछि अहिले पक्ष/विपक्षमा फेसबुकमै बहस चलिरहेको छ।
तर बहस रचनात्मक हैन, अधिकांश कमेन्ट घृणाले भरिएका छन्। ओलीले नयाँ/पुराना सबै दलहरू अहिले चुनावमा होमिएको र देश जलाउने र देश बनाउने पक्षबीच प्रतिस्पर्धा हुने भन्दै एमाले देश बनाउने तर्फबाट मैदानमा रहेको लेखे।
"यस बेला सार्वजनिक बौद्धिक वृत्तबाट पार्टीका प्रमुख नेताहरूबीच एउटा पारदर्शी बहसको माग भइरहेको सुनिएको छ," उनको फेसबुक अकाउन्ट लेखिएको छ, "फ्रेमिङ गरेर सामाजिक सञ्जालमा ल्याइएका प्रचार सामग्री मतदातालाई देखाएर आफ्नो वास्तविक चरित्र लुकाउने प्रवृत्ति देखिएकोले यस्तो पब्लिक डिबेट माग भएको हुनसक्छ।"
उनले देशको नेतृत्व गर्न खोज्ने दलहरूका एजेण्डा के छन्, देश निर्माणमा यसअघि के काम गरे, अब गर्ने कामको रोडम्याप, योजना र खाका के छ ? सार्वजनिकरूपमा उठेका यस्ता प्रश्नहरूमा आमनेसामने बहसको माग अत्यन्त सकारात्मक रहेको उल्लेख गरे।
ओलीको पोस्टमा केही समयपछि नै बालेनको पेजबाट प्रतिक्रिया आयो। बालेन काठमाडौं महानगरपालिकाको मेयर हुँदा भदौ २४ मा संसद भवन, सिंहदरबार, सर्वोच्च अदालत लगायतका महत्त्वपूर्ण संरचना जल्दा आगो निभाउन दमकल नपठाएको भनेर आलोचित छन्। हालसालै हिमालखबरले प्रकाशित गरेको रिपोर्टले पनि महानगरको भूमिका निकै शंकास्पद देखाएको छ।
यसैको आधारमा बालेनसहितको समूहमाथि 'देश' जलाएको आरोप लाग्ने गरेको छ। उता भदौ २३ मा प्रदर्शनकारीमाथि भएको गोली प्रहारसँगै मारिएकाहरूको जिम्मेवारी तत्कालीन प्रधानमन्त्री ओलीको भएको आरोप लाग्ने गरेको छ।
फेसबुकमा ओलीको भनाई र बालेनको प्रतिक्रिया पनि यसैमा केन्द्रित देखियो। प्रतिक्रियाको प्रारम्भ नै 'डिबेट गर्दा मैले हत्या गरेको हो भनेर स्वीकार गर्न नभुलौं'बाट सुरु गरे पनि अन्तमा डिबेटमा सहभागी हुन अस्वीकार गरियो।
ओलीले आफूलाई देश जलाउनेको रूपमा स्वीकारेको भन्दै २३ गते बच्चाहरू मारेको आतङ्कवाद लुकाउन २४ गत्ते जलाएको आरोप लगाइएको छ।
भदौ २४ मा भाग्न खोज्ने कैदी, भाटभटेनीसहितमा भेटिएको कंकालसहित ७६ जनाको मृत्यु भएको थियो। सरकारले ४५ जनालाई मात्रै सहिद घोषणा गरेको छ।
बालेनले लेखेका छन्, "७६ जना बच्चाको हत्यारा र उसको मतियारसँग एउटै मञ्चमा उभिनु भनेको म पनि त्यसमा सामेल भएको बुझिनेछ।"
माघ ११, २०८२ आइतबार १०:५८:४४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।