‘पब्लिक डिबेट’ गर्न ओली तयार, सामाजिक सञ्जालमा लुकेर होइन, खुला बहस गरौं

‘पब्लिक डिबेट’ गर्न ओली तयार, सामाजिक सञ्जालमा लुकेर होइन, खुला बहस गरौं

काठमाडौं : एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनको सन्दर्भमा प्रमुख नेताहरूबीच ‘पब्लिक डिबेट’ (सार्वजनिक बहस) का लागि आफू तयार रहेको बताएका छन्। सामाजिक सञ्जालमार्फत उनले देशको नेतृत्व गर्न चाहने दल र तिनका उम्मेदवारहरूले आफ्ना एजेन्डा र मार्गचित्रबारे जनताका सामु स्पष्ट राख्नुपर्ने भनाई राखे।

निर्वाचनको मुखमा विभिन्न राजनीतिक दलहरूले प्रधानमन्त्रीको उम्मेदवार समेत अघि सारिरहेको सन्दर्भ र ‘पब्लिक डिबेट’को विषयमा चर्चा भइरहेको बेला ओलीले आफू त्यसको लागि तयार रहेको प्रतिक्रिया सार्वजनिक गरे। सामाजिक सञ्जालमा गरिने प्रचारमुखी सामग्रीले उम्मेदवारको वास्तविक चरित्र लुकाउन सक्ने भन्दै उनले सार्वजनिक बौद्धिक वृत्तबाट भइरहेको पारदर्शी बहसको मागलाई सकारात्मक रूपमा लिएको भनाई राखे।

ओलीले सार्वजनिक बहसको मञ्चमा उभिएर विगतमा गरेका कामको तथ्य र आगामी योजनाको खाका प्रस्तुत गर्न आफू प्रतिबद्ध रहेको उल्लेख गरे। "देशको नेतृत्व गर्न खोज्ने दलहरूका एजेण्डा के छन्, देश निर्माणमा यसअघि के काम गरे, अब गर्ने कामको रोडम्याप, योजना र  खाका के छ ? सार्वजनिक रूपमा उठेका यस्ता प्रश्नहरूमा आमने सामने बहसको माग अत्यन्त सकारात्मक छ। यस्तो पब्लिक डिबेटमा आमने सामने उभिएर यसअघि हामीले के के गर्यौं भन्ने तथ्य र अब कसरी काम गर्छौं भन्ने एजेण्डा प्रस्तुत गर्न म तयार छु," उनले भने।

ओलीले चुनावपछि प्रधानमन्त्री बन्ने लक्ष्यका साथ मैदानमा उत्रिएका सबै दलका नेताहरूलाई एउटै मञ्चमा उभिएर जनताका प्रश्नको सामना गर्नु सकारात्मक विषय भएको बताए। नयाँ र पुराना सबै दलका नेताहरूलाई लक्षित गर्दै उनले यस्तो बहसले मतदातालाई सही निर्णय लिन मद्दत पुग्ने विश्वास व्यक्त गरे।

देश बनाउने र देश बिगार्ने पक्षबीचको प्रतिस्पर्धाका रूपमा यस निर्वाचनलाई चित्रण गर्दै ओलीले एमाले देश निर्माणको पक्षमा रहेको दाबी समेत गरे। उनले भनेका छन्, "चुनावपछि प्रधानमन्त्रीको उम्मेदवारमा प्रस्तुत भएका सबैलाई सिधा प्रश्न सोध्न खडा गरिएको मञ्चमा उभिएर आफ्ना एजेण्डा राख्ने प्रतिबद्धता जनाउँछु।  त्यस्तो पब्लिक डिबेट आयोजना गरेर सबै पक्षलाई ल्याउन आग्रह गर्दछु।"

ओलीको फेसबुक स्टाटस : पब्लिक डिबेटको लागि तयार छौं


नयाँ / पुराना सबै दलहरू अहिले चुनावमा होमिएका छन्। देश जलाउने र देश बनाउने पक्षबीच हुने यो प्रतिस्पर्धामा हाम्रो पार्टी नेकपा (एमाले) देश बनाउने तर्फबाट मैदानमा छ। 


यस बेला सार्वजनिक बौद्धिक वृत्तबाट पार्टीका प्रमुख नेताहरूबीच एउटा पारदर्शी बहसको माग भइरहेको सुनिएको छ। 
फ्रेमिङ गरेर सामाजिक सञ्जालमा ल्याइएका प्रचार सामग्री मतदातालाई देखाएर आफ्नो वास्तविक चरित्र लुकाउने प्रवृत्ति देखिएकोले यस्तो पब्लिक डिबेट माग भएको हुनसक्छ। यसपालिको निर्वाचनमा देशमा ऐतिहासिक भूमिका खेलेका दल, यसअघिको चुनावमा खुलेको दल र भर्खरै खुलेका केही नयाँ दलहरू पनि प्रधानमन्त्रीको उम्मेदवार समेत तोकेर आएका छन्। देशको नेतृत्व गर्न खोज्ने दलहरूका एजेण्डा के छन्, देश निर्माणमा यसअघि के काम गरे, अब गर्ने कामको रोडम्याप, योजना र  खाका के छ ? सार्वजनिक रूपमा उठेका यस्ता प्रश्नहरूमा आमने सामने बहसको माग अत्यन्त सकारात्मक छ। यस्तो पब्लिक डिबेटमा आमने सामने उभिएर यसअघि हामीले के के गर्यौं भन्ने तथ्य र अब कसरी काम गर्छौं भन्ने एजेण्डा प्रस्तुत गर्न म तयार छु। चुनावपछि प्रधानमन्त्रीको उम्मेदवारमा प्रस्तुत भएका सबैलाई सिधा प्रश्न सोध्न खडा गरिएको मञ्चमा उभिएर आफ्ना एजेण्डा राख्ने प्रतिबद्धता जनाउँछु।  त्यस्तो पब्लिक डिबेट आयोजना गरेर सबै पक्षलाई ल्याउन आग्रह गर्दछु।

माघ ११, २०८२ आइतबार ०८:१६:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।