हिमपातले ठप्प मध्यपहाडी र सुदूरपश्चिमका राजमार्ग खुले: यात्रुको बिचल्ली टर्यो, किसानमा खुसी
काठमाडौँ : शुक्रवारदेखि परेको भारी हिमपातका कारण अवरुद्ध बनेका देशका विभिन्न राजमार्गहरू हिउँ पन्छाएपछि पुनः सञ्चालनमा आएका छन्। मध्यपहाडी लोकमार्गको बागलुङ-रुकुम खण्ड र सुदूरपहाडका प्रमुख राजमार्गहरू सञ्चालनमा आएसँगै बिच बाटोमा अलपत्र परेका सयौँ यात्रुहरू आफ्नो गन्तव्यतर्फ लागेका छन्।
बागलुङ, रोल्पा र पूर्वी रुकुमको सिमानामा पर्ने पातीहाल्ने क्षेत्रमा बाक्लो हिउँ जमेपछि शुक्रवार रातिदेखि मध्यपहाडी लोकमार्ग पूर्ण रूपमा ठप्प भएको थियो। जसका कारण काठमाडौँबाट रुकुम पूर्व, पश्चिम, जाजरकोट र डोल्पाका लागि छुटेका सवारीसाधनहरू बिच बाटोमै फसेका थिए।
इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी निरीक्षक तिलक मानन्धरका अनुसार पूर्वी रुकुमतर्फबाट जेसिबी प्रयोग गरेर हिउँ पन्छाएपछि शनिवारबाट सडक खुलेको हो। चिसोमा अलपत्र परेका यात्रुहरू सडक खुलेसँगै राहत महसुस गर्दै अघि बढेका छन्। बागलुङको निसीखोला र ढोरपाटन क्षेत्रमा पनि हिमपातले जनजीवन प्रभावित बनाएको छ।
सुदूरपश्चिम: राजमार्ग खुले, विद्युत् अझै अवरुद्ध
सुदूरपश्चिमका पहाडी जिल्लाहरू बैतडी, दार्चुला, बझाङ, डोटी र डडेलधुराका उच्च भेगमा शुक्रवार बेलुकादेखि हिमपात भएको थियो। बैतडीको अनारखोली, खोडपे, सतबाँझ र देहिमाडौँ क्षेत्रमा हिउँ जम्दा दशरथचन्द र जयपृथ्वी राजमार्ग अवरुद्ध भएका थिए।
सडक डिभिजन कार्यालयको जेसिबीले हिउँ सफा गरेपछि सवारी आवागमन सुचारु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता सुरज सिंहले जानकारी दिनुभयो। राजमार्ग खुले पनि हिमपातका कारण पोल र तारमा क्षति पुग्दा कतिपय क्षेत्रमा विद्युत् सेवा भने अझै सुचारु हुन सकेको छैन।
किसानमा उत्साह, स्वास्थ्यकर्मीको सतर्कता सुझाव
चार महिनादेखि खडेरी खेपिरहेका किसानहरू भने यो वर्षको पहिलो हिमपात र वर्षापछि निकै खुसी भएका छन्। वर्षा नहुँदा गहुँ लगायतका हिउँदे बाली सुक्न थालेका बेला यो हिमपातले बाली सप्रिने आशा जगाएको स्थानीय किसान मानबहादुर टेरले बताउनुभयो।
यता, हिमपातसँगै बढेको अत्यधिक चिसोका कारण वृद्धवृद्धा र बालबालिका बढी प्रभावित भएका छन्। चिसोबाट बच्न र स्वास्थ्यको ख्याल राख्न स्वास्थ्यकर्मीहरूले आवश्यक सतर्कता अपनाउन सुझाव दिएका छन्।
माघ १०, २०८२ शनिबार २०:०३:२२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।