पूर्वको प्रचार सकेर काठमाडौं फर्किए बालेन्द्र
विराटनगर : झापा-५ मा उम्मेदवारी दर्ता गरेर पूर्वमा चुनाव प्रचारमा सक्रिय भएका बालेन्द्र शाह काठमाडौं फर्किएका छन्। उनी शनिवार साँझ विराटनगर विमानस्थलबाट काठमाडौं आएका हुन्।
बालेनले पाथीभरा दर्शन गर्दै ताप्लेजुङबाट धनकुटा पुगेका थिए। त्यसपछि उनी विराटनगर फर्किएर काठमाडौं आएका हुन्। पार्टीका उम्मेदवारहरूको समर्थन जुटाउन विभिन्न जिल्लामा गए पनि उनले कतै आमसभा भने गरेनन्। उनले सानो सानो कोण सभा र भेटघाटमा पार्टीका उम्मेदवारको पक्षमा भोट मागेका थिए। झापा-५ मा बालेन्द्र र एमाले अध्यक्ष केपी शर्मा ओली प्रतिस्पर्धामा छन्।
झापामा उम्मेदवारी मनोनयनका दिन धक्कामुक्की गरेर विवादमा आएका बालेन्द्र पछिल्लो समय उनले चुनाव प्रचारमा प्रयोग गरिरहेको गाडीको कारण विवादमा छन्। सो गाडी करेन्ट चाउचाउका सञ्चालकको नाममा रहेको खुले पनि यसबारे बालेन्द्र र रास्वपाबाट कुनै आधिकारिक प्रतिक्रिया आएको छैन।
ओली शुक्रवार काठमाडौँ फर्किएर चुनावी कार्यक्रममा सक्रिय भइसकेका छन्। झापा-५ मा नेपाली कम्युनिस्ट पार्टीले रञ्जित तामाङलाई उम्मेदवार बनाएको छ।
माघ १०, २०८२ शनिबार १९:५०:१४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।