विश्वकप ग्लोबल छनोटमा नेपालको पहिलो जित
काठमाडौं : पूजा महतोको अर्धशतकमा नेपालले जिम्बाब्वेलाई पराजित गर्दै आइसिसी महिला टी- २० विश्वकपको ग्लोबल छनोटमा पहिलो जित दर्ता गराएको छ।
र्कीतिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले जिम्बाब्वेलाई ६ विकेटले हराएको हो।
जिम्बाब्वेले दिएको १३० रनको लक्ष्य पछ्याएको नेपालले १९.३ ओभरमा चार विकेट गुमाउँदै पूरा गर्यो। नेपालको जितमा पूजाले सर्वाधिक ५२ रनको योगदान दिइन्। उनले ५० बलमा चार चौका र दुई छक्कासहित ५२ रन बनाएकी हुन्।
कप्तान इन्दु वर्माले २२, विन्दु रावलले १५ तथा सीता रानामगरले ११ रनको योगदान गरेका थिए। प्रतियोगितामा जिम्बाब्वेका लागि जोसेफाइन एनकोमोले दुई तथा नोमभेलो सिबान्दा र क्रिस्टाबेल चातोन्ज्वाले समान एक एक विकेट लिएका थिए।
माघ १०, २०८२ शनिबार १९:२९:२९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।