मिसन पुस्तान्तरण-३ : बारा-४ को चुनावी 'कोर्ट'मा बास्केटबलका 'स्टार' अजय

मिसन पुस्तान्तरण-३ : बारा-४ को चुनावी 'कोर्ट'मा बास्केटबलका 'स्टार' अजय

काठमाडौं : पुराना शक्ति संरचनाहरू हल्लाउने गरी देशमा आएको 'जेनजी' लहर राजनीतिमा झुकाव राख्ने युवाहरूको लागि अवसर बन्यो। भ्रष्टाचार नियन्त्रण र सुशासनको मागसहित भएको जेनजी आन्दोलनको बीचबाटै राजनीतिमा पुस्तान्तरणको मुद्दा जोडबलका साथ उठेपछि दलहरूमा युवाहरूका लागि ढोका खुले। परिणाम स्वरूप दलको केन्द्रीय समितिमा समेटिनेदेखि आगामी फागुन २१ हुने निर्वाचनमा टिकटसम्म युवाहरूले प्राप्त गरे।

यसरी टिकट पाउनेहरू मध्येका एक हुन्, राष्ट्रिय बास्केटबल खेलाडी अजय कुश्वाहा। उनलाई नेपाली कम्युनिष्ट पार्टीले बारा क्षेत्र नम्बर ४ बाट उम्मेदवार बनायो। पार्टीका नेतृत्वले नै पार्टी केन्द्रीय कार्यालय पेरिसडाडाँमा बोलाएर उनलाई टिकट दियो। नेपाली कम्युनिष्ट पार्टीले उनीसहित ११ जना युवालाई चुनावी मैदानमा उतारेको छ। हातमा बास्केटबल बोकेर हिँड्ने २८ वर्षीय कुश्वाहा यति बेला जनताको मत माग्न बाराका गाउँ बस्तीमा पुगिरहेका छन्।

बास्केटबल बोकेर अन्तर्राष्ट्रिय स्तरमा देशको सान बढाउँदै हिँडेका उनी अब बारा- ४ को परिवेश बदल्ने खेल (राजनीति) मा होमिएका छन्। जेनजी लहरले अवसर ल्याएपछि कुश्वाहाले खेल मैदान छोडेर चुनावी मैदान रोजे। हुन त उनी खेल क्षेत्रसँग सँगै राजनीतिमा पनि सक्रिय नै थिए। उनले तत्कालीन एकीकृत समाजवादीको बारा- काठमाडौं सम्पर्क मञ्चमा रहेर काम गरिसेका छन्। तर यति बेला उनी पूर्णकालीन रूपमा सामाजिक कार्यको लागि भन्दै राजनीतिमा होमिए।

खेलबाट राजनीतितर्फ 

सन् २०१५ देखि राष्ट्रिय बास्केटबल टोलीमा रहेका अजय अनुभवी खेलाडी हुन्। बाराको प्रसौनी- २ स्थायी घर भएका कुश्वाहासँग अन्तर्राष्ट्रिय खेलको अनुभव छ। उनले प्रशिक्षकको जिम्मेवारी सम्हाली सके। ललितपुरको हात्तीवनस्थित लिटिल एन्जल्स स्कुलमा उनले प्रशिक्षण दिने गर्थे।

उनको खेल जीवन उपलब्धिविहीन छैन। सन् २०१९ को दक्षिण एशियाली खेलकुद (साग) मा नेपालले रजत पदक जित्दा उनको भूमिका निर्णायक थियो। २०१८ को इन्डोनेसियाको जकार्तामा सम्पन्न एशियन गेम्स र बंगलादेशमा भएको विश्वकप प्रि-क्वालिफायरमा समेत उनले देशको प्रतिनिधित्व गरे। बंगलादेशमा आयोजित अन्डर-१८ (साबा) च्याम्पियनसिपमा उनी उपविजेता बने। २०१५ र २०१६ मा भारतको बैंगलोरमा भएको साबा च्याम्पियनसिपमा उनले दोस्रो स्थान हासिल गरे। उनको पहिलो अन्तर्राष्ट्रिय खेल भने २०१६-०१७ मा साबा च्याम्पियन सिपबाटै भएको थियो।

यता, राष्ट्रिय स्तरमा सन् २०१८ मा दाङमा सम्पन्न आठौं राष्ट्रिय प्रतियोगितामा कुश्वाहाको टिम विजय भयो। खेल क्षेत्रमा राम्रो गरिरहेका कुश्वाहालाई राजनीतिमा किन हाम फाल्नुभयो भन्ने उकेराको प्रश्नमा उनले बास्केटबललाई समाजले नचिनेको र समाज विकासको लागि राजनीतिमा आएको बताए।

"समाजमा बास्केटबल बारे त्यत्ति जानकारी छैन। त्यस खेलको विकाससँगै यस क्षेत्रको लामो समयदेखिको समस्याले पनि राजनीतिमा आउनु पर्या," उनले भने। कुश्वाहालाई लाग्छ, लामो समयदेखि राजनीति गरेका अग्रजले भ्रष्टाचार नियन्त्रण, शिक्षा तथा जनमानसको समस्यालाई समाधान गर्न सकेन।

"मैले खेल सुरु गर्दा पनि एउटै समस्या, कृषकले मल पाएनन्, भ्रष्टाचार भयो, शिक्षा, स्वास्थ्य राम्रो नभएको देखे। जेनजी आन्दोलनले सुधार गर्न हामीलाई अवसर दिएको छ। त्यसैले पनि समाजको समाधान गर्ने यही मौका भएकोले राजनीतिमा आएको हुँ। बाकी समस्या समाधान गर्न विज्ञ टिमको सल्लाह लिएर अघि बढ्छु," उनले भने।

के छ बारा ४ को अंकगणित ?

बारा- ४ मा कुश्वाहासँगै नेपाली कांग्रेसका श्यामबाबु गुप्ता, एमालेका किसान श्रेष्ठ, लोपाका अवधकिशोर कुश्वाहा, राष्ट्रिय स्वतन्त्र पार्टीका रहबर अन्सारीले उम्मेदवारी दिएका छन्। यसअघि यहाँबाट किसान श्रेष्ठले चुनाव जितेका थिए। एकीकृत समाजवादीबाट चुनाव जितेका किसान अहिले एमालेमा छन्। यता, माओवादी केन्द्रबाट प्रदेश संसद चुनिएका रहबर अन्सारी राजीनामा दिएर प्रलोपाबाट प्रतिनिधिसभा चुनावमा प्रतिस्पर्धा गर्दैछन्।

२०७९ को मतदाताको तथ्याङ्कअनुसार क्षेत्र नम्बर ४ मा एक लाख पाँच हजार ९७० मतादाता थिए। जसमा तत्कालीन एकीकृत समाजवादीका उम्मेदवार रहेका किसानले २९ हजार ५ सय ५ मत ल्याएर विजय भएका थिए भने उनका प्रतिद्वन्द्वी एमालेका एकवाल मिलयाले १९ हजार ४ सय ३९ मत प्राप्त गरेका थिए। 

अर्थात् श्रेष्ठ र मिलयाबीच १० हजार मतान्तर थियो। मत परिणामअनुसार यहाँ नेपाली कम्युनिष्ट पार्टीको पकड राम्रो देखिन्छ। यद्यपि त्यति बेला माओवादी केन्द्र र एकीकृत समाजवादीसँगै कांग्रेस पनि गठबन्धनमा थियो। जेनजी आन्दोलनपछि फेरिएको मनोविज्ञान र नयाँ दलहरूको उदयपछि फेरिएको राजनीतिक समीकरणको प्रभाव कस्तो रहन्छ भन्ने विषय यकिन छैन। 

मिसन पुस्तान्तरण

माघ ११, २०८२ आइतबार १०:१४:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।