हामीसँग गन्तव्य छ, नयाँहरू अन्योलमा छन् : ओली
काठमाडौं : एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी गन्तव्यहीन यात्रामा नभई स्पष्ट लक्ष्य र उद्देश्य बोकेको राजनीतिक शक्ति भएको दाबी गरे।
सेयर कारोबारी दीपेन्द्र अग्रवालसहित विभिन्न क्षेत्रका व्यक्तिहरूलाई पार्टी प्रवेश गराउन आयोजित कार्यक्रममा बोल्दै उनले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा नै एमालेको मुख्य गन्तव्य भएको स्पष्ट पारे।
उनले भने, “नेपाल समृद्ध हुनुपर्दछ र नेपाली जनता सुखी हुनुपर्दछ भन्ने राष्ट्रिय आकाङ्क्षाको विरोध जसले गरे पनि यो हाम्रो साझा लक्ष्य हो। त्यसैले हामीले आफ्नो गन्तव्य 'समृद्ध नेपाल, सुखी नेपाली' बनाएका छौं।” देशको रक्षा, जनहित र भावी सन्ततिको उज्ज्वल भविष्य सुनिश्चित गर्नका लागि नागरिकहरू एमालेमा गोलबद्ध भइरहेको उनको तर्क थियो।
एमाले अन्य पार्टीजस्तो उद्देश्यहीन नभएको दाबी गर्दै उनले भने, “नेकपा एमाले ट्रेडमिलमा यात्रा गरेजस्तो गर्ने पार्टी होइन। गन्तव्यमा पुग्नका लागि यात्रा गर्ने पार्टी हो।” नयाँ शक्ति भन्दै राजनीतिमा आएका नयाँ दलहरूको कार्यशैली र कार्यदिशाप्रति ओलीले तिखो टिप्पणी गरे। उनीहरूको राजनीतिक यात्रालाई 'गन्तव्यविहीन' संज्ञा दिँदै उनले स्वरसम्राट नारायण गोपालको चर्चित गीतको सहारा लिएर व्यङ्ग्य प्रहार गरे।
“अहिले नयाँका नाममा आएका धेरै पार्टीहरूको गन्तव्य छैन। कहाँ पुग्ने भन्ने थाहा छैन। केका लागि कुदिएको हो, केका लागि काम गरिएको हो भन्ने पनि स्पष्ट छैन,” उनले भने, “नारायण गोपालले होला गाएको भोलि उठी कहाँ जाने केही थाहा छैन, फर्की आउने हो की होइन, केही थाहा छैन।”
नयाँ भनिएकाहरू कुन उद्देश्यका लागि सक्रिय छन् र उनीहरूको राजनीतिक दौडको अर्थ के हो भन्नेमा स्वयं उनीहरू नै अन्योलमा रहेको ओलीको जिकिर छ। उनले भने, “उहाँहरूको यात्रा त्यस्तै हो, भोलि उठी कहाँ जाने त्यो पनि थाहा छैन, के को लागि अरूको चरित्र हत्या गरेको त्यो पनि थाहा छैन। के का लागि काम गर्दै छु त्यो पनि थाहा छैन। त्यस्तो पार्टी होइन नेकपा एमाले।”
माघ १०, २०८२ शनिबार १६:५८:५२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।