मधेसको राजनीतिमा होमिन गगनले उठाए जोखिम, भने- काठमाडौंमा जित सहज थियो

मधेसको राजनीतिमा होमिन गगनले उठाए जोखिम, भने- काठमाडौंमा जित सहज थियो

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगन थापाले आफू यसअघि नै उम्मेदवारको रूपमा सर्लाही जान चाहे पनि यस पटक मात्र सम्भव भएको बताए।

शनिबार काठमाडौंमा आयोजित सर्लाहीका युवाहरूसँगको अन्तरक्रियामा उनले निकै सोचविचार गरेर सर्लाही- ४ बाट उम्मेदवारी दिने निर्णय गरेको सुनाए।

काठमाडौंबाट यसअघि लगातार तीन पटक चुनाव जितिसकेकाले आफ्नो उम्मेदवारी यहाँ सहज अवस्थामा रहेको भए पनि मधेस झर्ने आफ्नो पुरानै इच्छा रहेको उनको भनाई छ। आफूले निर्वाचन क्षेत्र रोज्न ढिलाइ गरेको कारण काठमाडौंमा अन्य दलहरूलाई समेत उम्मेदवार चयनमा सकस परेको थापाको दाबी छ।

"मैले यसअघि ३ पटक चुनाव जितिसकेको थिएँ, मलाई सजिलो अवस्था थियो," थापाले भने, "मेरो उम्मेदवारी काठमाडौं कि सर्लाही भन्ने कुराको टुंगो नलागेसम्म अरू प्रतिस्पर्धी पार्टीहरूले उम्मेदवार बन्ने मान्छे नै पाएन। म काठमाडौं नलड्ने भनेपछि मात्रै नयाँ होस् वा पुरानो पार्टीको तर्फबाट उम्मेदवारी दर्ता भयो।"

आफू सर्लाही झरेपछि काठमाडौंका मतदाता स्तब्ध बनेको जिकिर गर्दै उनले काठमाडौंका मतदातालाई चित्तबुझ्दो जवाफ दिन नसकेको स्वीकार गरे। मधेस केन्द्रित राजनीतिमा लाग्न आफूले हिम्मत जुटाएको थापाको भनाई छ। "म अघिल्लो पटकदेखि नै मधेस झर्न चाहन्थेँ, अहिले मात्रै आँट गरेको हुँ," उनले भने, "भोलि म सर्लाही जाँदै छु। मेरो मनमा एकदमै धेरै उत्साह छ।’

युवाको भर परेर सर्लाही- ४ बाट चुनाव लड्न आफूले जीवनकै ठूलो राजनीतिक निर्णय लिएको थापाको भनाई छ। मधेशलाई नजोडी नहुने भएकाले आफ्नो जोड मधेशमा रहेको उनले बताए। आफू मधेश नझरी कांग्रेस ठूलो पार्टी बन्न नसक्ने उनको बुझाइ छ।

माघ १०, २०८२ शनिबार १६:१९:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।