बङ्गलादेश क्रिकेट बोर्डका निर्देशकमाथि भ्रष्टाचारको आरोपमा छानबिन सुरू, पदबाट राजीनामा

बङ्गलादेश क्रिकेट बोर्डका निर्देशकमाथि भ्रष्टाचारको आरोपमा छानबिन सुरू, पदबाट राजीनामा

एजेन्सी : बङ्गलादेश क्रिकेट बोर्ड (बीसीबी)को इन्टिग्रिटी युनिटले बोर्डका निर्देशक मोखलेसुर रहमानमाथि लागेको भ्रष्टाचारको आरोपमा अनुसन्धान सुरु गरेको छ।

बीसीबीका प्रवक्ताले यसको पुष्टि गर्दै रहमानले बोर्डको लेखापरीक्षण (अडिट) समितिको अध्यक्ष पदबाट राजीनामा समेत दिइसकेको जानकारी दिएका छन्।

पत्रकार रियासद अजिमले बिहीबार आफ्नो आधिकारिक फेसबुक पेजमा सार्वजनिक गरेको एक खोजमूलक रिपोर्टमा रहमानमाथि भ्रष्टाचारको आरोप लगाइएको छ।

उक्त आरोप जारी बङ्गलादेश प्रिमियर लिग (बीपीएल)को सिजनसँग केन्द्रित रहेको बताइएको छ।

बीसीबीको इन्टिग्रिटी युनिटको नेतृत्व अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को इन्टिग्रिटी युनिटका पूर्व प्रमुख एलेक्स मार्शलले गरिरहेका छन्।

मार्शलले यसअघि नै गत बीपीएल सिजनमा भएको भनिएको भ्रष्टाचारसम्बन्धी आरोपमा एक स्वतन्त्र समितिले तयार पारेको ९०० पृष्ठको प्रतिवेदनमाथि पनि काम गरिरहेका छन्।

गत अक्टोबर ६ मा भएको निर्वाचनबाट रहमान बीसीबी निर्देशक बनेका थिए। उनी चपाइनबाबगञ्ज जिल्लाबाट बोर्ड सदस्य चुनिएका हुन्।

बङ्गलादेश र आईसीसीबीच २०२६ को टी-२० विश्वकपमा बङ्गलादेशको स्थानलाई लिएर विवाद चलिरहेको संवेदनशील समयमा यो अनुसन्धान प्रक्रिया अघि बढेको हो।

यस महिना विवादमा पर्ने रहमान दोस्रो बीसीबी निर्देशक हुन्।

यसअघि अर्का निर्देशक एम नजमुल इस्लामले सामाजिक सञ्जाल र पत्रकार सम्मेलनमा खेलाडीहरूबारे अपमानजनक टिप्पणी गरेपछि बङ्गलादेशका क्रिकेटरहरूले डिसेम्बर १५ मा बीपीएल खेलहरू बहिष्कार गरेका थिए।

त्यस लगत्तै बीसीबीले नजमुललाई वित्त समितिको अध्यक्ष पदबाट हटाएको थियो, यद्यपि उनी निर्देशक पदमा भने कायमै छन्। नजमुललाई हालै शेर-ए-बंगला नेशनल स्टेडियमको प्रेसिडेन्ट बक्सबाट बीपीएल खेल हेरिरहेको देखिएको थियो।

माघ १०, २०८२ शनिबार १४:१७:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।