सयौं बिरामीलाई मृत्युको मुखबाट बचाएका डा. सरोज, जसले आफ्नै आमाबुबा बचाउन सकेनन्
सेतो एप्रोन लगाएर स्टेथोस्कोप घाँटीमा झुन्ड्याउँदै अस्पतालको कोरिडोरमा हिँड्दा डाक्टरहरूलाई धेरैले ‘भगवान’को रूपमा हेर्छन्। बिरामी र तिनका आफन्तको आँखामा डाक्टरप्रति एउटा अद्भूत विश्वास हुन्छ- ‘उहाँले पक्कै बचाउनुहुनेछ।’
तर, त्यो सेतो कोटभित्रको मान्छे पनि नियतिको अगाडि कहिलेकाहीँ कतिसम्म निरीह बन्न पुग्छ, त्यसकै साक्षी हुन्- डा. सरोज यादव।
प्रसूति तथा स्त्रीरोग विशेषज्ञका रूपमा कार्यरत डा. सरोजको परिचय जति फराकिलो छ, उनको आफ्नो मनका पीडा उत्तिकै गहिरो छ। चिकित्सा विज्ञान पढेर सयौंको ज्यान जोगाउने सीप हातमा हुँदाहुँदै पनि आफ्नै बुवाआमालाई जोगाउन सकेनन्।
उनै डा. यादवले आफ्ना चिकित्सकीय पेशाको सिलसिलामा भोगेका केही अनुभव उकेरासँग साटेका छन्:
बुवासँगको त्यो अधुरो लडाइँ
घटना डा. सरोजले एमबिबिएस सकेर भर्खरै करियर सुरू गरेको समयको हो। उनी पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान (पाटन अस्पताल) को आकस्मिक कक्षमा ‘मेडिकल अधिकृत’का रूपमा बिरामीको सेवामा थिए।
एउटा युवा चिकित्सकका लागि त्यो समय सपनाहरूलाई आकार दिने महत्त्वपूर्ण समय थियो। तर, अकस्मात् उनको परिवारमा बज्रपात भयो। उनको आदर्श, उनका बुवालाई पेटको क्यान्सर देखियो।
डाक्टर हुनुको नाताले रोगको गम्भीरता उनले बुझिसकेका थिए। एकातिर अस्पतालको ड्युटी, अर्कोतिर क्यान्सरजस्तो घातक रोगसँग लडिरहेका बुवा।

अन्ततः उनले जागिरभन्दा कर्तव्य र स्नेहलाई माथि राखे। बुवाको स्याहारसुसार र उपचारका लागि समय दिनुपर्ने भएपछि उनले एक वर्षमै पाटन अस्पतालको जागिरै छाडिदिए।
त्यसपछि सुरू भयो अस्पतालहरूको चक्कर। नेपालदेखि भारतका विभिन्न अस्पतालसम्म बुवालाई लिएर उनी पुगे। आफूले पढेको चिकित्सा विज्ञान, साथीभाइको सल्लाह र उपलब्ध सबै उपचार पद्धति अपनाउँदा पनि नियतिको अगाडि डा. सरोजको केही लागेन।
रोग पत्ता लागेको करिब आठ महिनाको संघर्षपछि बुवाले सधैँका लागि आँखा चिम्लिए। छोरा डाक्टर भएर पनि बुवालाई बचाउन नसक्नुको ग्लानि उनको मनको एक कुनामा सधैँका लागि बस्यो।
फेरि अर्को बज्रपात : कोरोनाले खोसेकी आमा
बुवाको वियोगले थिलथिलो भएको मनलाई सम्हाल्दै डा. सरोजले आमाको मुहार हेरेर चित्त बुझाउने निधो गरे। आमाकै रेखदेख गर्न पाइयोस् भनेर उनले घरपायक पर्ने जनकपुरको जानकी मेडिकल कलेजमा दुई वर्ष काम गरे।
जीवन बिस्तारै लयमा फर्किँदै थियो। उनले आफ्नो विशेषज्ञता हासिल गर्ने सपनालाई पनि मर्न दिएनन्। कडा परिश्रमपछि चिकित्सा शास्त्रको स्नातकोत्तर तह (एमडी) को प्रवेश परीक्षा उत्तीर्ण भई ‘प्रसूति तथा स्त्रीरोग’ विषयमा अध्ययनका लागि छनोट भए।
२०७८ सालमा वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा भर्ना हुँदा देशमा कोरोना महामारीको दोस्रो लहरले त्रासदी मच्चाइरहेको थियो।
एउटा डाक्टरका रूपमा उनी संक्रमितहरूको उपचारमा खटिरहेका थिए। तर, विडम्बना! अरूको ज्यान जोगाउन तल्लीन डा. सरोजको आफ्नै घरमा कोरोना पस्यो। उनकी आमा कोरोना संक्रमित भइन्।
कलेजबाट बिदा लिएर डा. सरोज आमाको सेवामा दिनरात खटिए। अक्सिजनको सिलिन्डर, औषधि र चिकित्सक छोराको स्याहार- केहीले पनि आमाको खस्कँदो स्वास्थ्यलाई रोक्न सकेन।
अन्ततः, कोरोनाले आमालाई पनि जित्यो। छोटो समयको अन्तरालमै डा. सरोजले बुवा र आमा दुवैलाई गुमाए।
‘हामी दाजुभाइ नै डाक्टर हुँदा पनि बुवाआमालाई बचाउन सकेनौं,’ भावुक हुँदै डा. सरोज भन्छन्।
बुवाआमाको निधनपछि डा. सरोजको संसार रित्तियो। केही समय त डा. सरोज शून्यतामा हराए। तर, आमाबुवाको सपना पूरा गर्नुपर्छ भन्ने सोचेर उनले एमडीको अध्ययनलाई निरन्तरता दिए। २०८१ सालमा उनको तीन वर्षे एमडी अध्ययन सकियो, उनी विशेषज्ञ चिकित्सक बने।
यो एउटा ठूलो सफलता थियो। तर, प्रमाणपत्र हातमा लिँदा शीरमा बुवाको हात र निधारमा चुम्बन गर्ने आमाको ओठ त्यहाँ थिएनन्। हरेक चाडबाड, हरेक सफलता र हरेक खुसीको क्षणमा उनलाई आफ्ना अभिभावकको यादले सताउँछ।
डा. सरोज अहिले आफ्ना चिकित्सक भाइसँग सुखदुःख साट्छन्, तर ‘बुवाआमा भइदिएको भए मेरो खुसीमा कति रमाउनुहुन्थ्यो होला’ भन्ने प्रश्नले उनलाई सधैँ झस्काइरहन्छ।
अब लागौं उपचारका अनुभवतर्फ!!
बिर्सनै नसकिने त्यो ३२ वर्षीया आमाको मृत्यु
चिकित्सकीय जीवनमा आफ्ना व्यक्तिगत पीडालाई एकातिर पन्छाएर बिरामीको सेवा गर्नुपर्ने बाध्यता हुन्छ।
वीरगञ्जमा एमडी पहिलो वर्षमा छँदाको एउटा घटना डा. सरोजको मानसपटलमा अझै ताजै छ, जसले उनलाई आफ्नै आमा गुमाउँदाको पीडालाई पुनः ताजा गराइदिएको थियो।
३२ वर्षीया एक गर्भवती महिलालाई जटिल अवस्थामा अस्पताल ल्याइएको थियो। १० वर्षपछि दोस्रो सन्तान जन्माउन लागेकी ती महिलाको पाठेघरमा साल टाँसिएको थियो।

यसलाई प्रसूति विज्ञानमा निकै जोखिमपूर्ण अवस्था मानिन्छ। यस्तो अवस्थामा आमा र बच्चा दुवैको ज्यान जोखिममा रहने गर्छ।
डा. सरोजसहितको सिनियर चिकित्सकहरूको टोलीले तत्काल शल्यक्रिया गरेर बच्चा त निकाल्यो, तर आमाको रक्तश्राव रोक्न निकै कठिन भयो।
एक सातासम्म आईसीयूमा राखेर, रगतका पोकाहरू चढाएर, आधुनिक औषधिको प्रयोग गरेर बचाउने हरसम्भव प्रयास गरियो। तर, चिकित्सकहरूको प्रयास विफल भयो। ती आमाले सात दिने दुधे बालकलाई छोडेर संसार त्यागिन्।
त्यो सात दिने शिशुलाई लिएर घर फर्किरहेको परिवारलाई देख्दा डा. सरोजको मन भक्कानिएको थियो। त्यो घटनाले उनलाई चिकित्सक हुनुको सीमाको गहिरोसँग महसुस गरायो।
सिन्धुलीमा फर्किएको मुस्कान
तर, चिकित्सा पेशामा निराशा मात्र छैन, जीवन फर्काउन सक्दाको अद्भुत आनन्द पनि छ। हालैको एउटा घटनाले डा. सरोजलाई आफ्नो पेशाप्रति अझ बढी गर्व महसुस गरायो।
सिन्धुली अस्पतालमा कार्यरत रहँदा एक जना ३४ वर्षीया गर्भवती महिलालाई अत्यधिक रक्तश्राव (एन्टीपार्टम हेमोरेज) भएको अवस्थामा ल्याइयो। यो अवस्थामा तत्काल शल्यक्रिया गरेर बच्चा ननिकाले आमा र बच्चा दुवैको ज्यान जान सक्ने उच्च जोखिम हुन्छ।
राजधानीका सुविधायुक्त अस्पतालहरूमा जस्तो स्रोत साधन सिन्धुलीमा थिएन। तर, डा. सरोज डराएनन्। उनले सीमित स्रोत साधनका बावजुद तत्काल शल्यक्रिया गर्ने निर्णय गरे। उनको टिमको तदारुकताका कारण शल्यक्रिया सफल भयो। आमाको रक्तश्राव रोकियो, र बच्चा पनि सकुशल जन्मियो।
मृत्युको मुखबाट फर्किएर, एक सातापछि स्वस्थ शिशुलाई काखमा च्यापेर डिस्चार्ज हुँदै गरेकी ती आमाको अनुहारमा देखिएको मुस्कानले डा. सरोजलाई आफ्ना सारा पीडाहरू भुलाइदियो। यिनै पलहरूले उनलाई आमाबुवा गुमाउँदाको पीडामा मलम लगाउने काम गर्छन्।
धनुषादेखि सिन्धुलीको यात्रा
२०४८ सालमा धनुषाको छिरेश्वरनाथ नगरपालिका-१० मा जन्मिएका सरोजको बाल्यकाल सामान्य थियो।
स्थानीय एन्जल्स बोर्डिङ स्कुलबाट एसएलसी र काठमाडौंको निष्ट कलेजबाट प्लस टु गरेपछि उनको डाक्टर बन्ने यात्रा सुरू भएको थियो।
सानैदेखिको सेतो कोट लगाउने सपना पूरा गर्न उनले कडा मिहिनेत गरे अनि २०६७ सालमा काठमाडौं विश्वविद्यालयमा छात्रवृत्तिमा नाम निकाल्न सफल पनि भए।
२०७२ सालमा एमबिबिएस सकेदेखि अहिलेसम्मको यात्रामा उनले धेरै आरोह-अवरोह पार गरिसकेका छन्।

एमडी अध्ययनपछि झापा पुगेर त्यहाँको एक निजी अस्पतालमा एक वर्षको विशेषज्ञको रूपमा काम गरे। त्यही अनुभवपछि गत चैतदेखि डा. सरोज सिन्धुली अस्पतालमा सरकारी सेवामा निरन्तर सक्रिय छन्।
अहिले सिन्धुली अस्पतालमा डा. सरोजको दैनिकी बिरामीहरूकै बीचमा बित्छ। कहिले ओपीडीमा गर्भवती महिलाहरूको चेकजाँच त कहिले अपरेसन थिएटरमा जटिल शल्यक्रिया- उनको व्यस्तताको कुनै सीमा छैन। सरकारी अस्पतालमा सीमित स्रोत साधनका बाबजुद पनि उनी रातविरात नभनी सेवामा खटिन्छन्।
आफ्ना आमाबुवालाई बचाउन नसकेको पीडालाई शक्तिमा बदल्दै डा. सरोज अहिले सयौं आमाबुवा र तिनका सन्तानको जीवन रक्षामा लागिपरिरहेका छन्। हरेक पटक जब डा. सरोज कुनै जटिल केसमा आमा र बच्चालाई बचाउन सफल हुन्छन्, उनलाई लाग्छ- स्वर्गबाट आमाबुवाले आफूलाई हेरेर मुस्कुराइरहेका छन्।
माघ १०, २०८२ शनिबार १४:००:१३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।