हरिबोल गजुरेलसहित सात नेता ‘नेपाली कम्युनिष्ट पार्टी’बाट निष्कासित

हरिबोल गजुरेलसहित सात नेता ‘नेपाली कम्युनिष्ट पार्टी’बाट निष्कासित

काठमाडौं : आगामी फागुन २१ गते हुने आम निर्वाचनको मुखमा ‘नेपाली कम्युनिष्ट पार्टी’ले हरिबोल गजुरेलसहित ७ जनालाई पार्टीबाट निष्कासित गरेको छ।

पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएको तथा बागी उम्मेदवारको प्रस्तावक र समर्थक बसेको भन्दै पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह-संयोजक माधवकुमार नेपालले संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरूलाई कारबाही गरेका हुन्।

पार्टीको विधानको दफा १०६ बमोजिम अनुशासनको कारबाही गर्दै निष्कासन गरिएकाहरूमा सिन्धुलीका हरिबोल गजुरेल र महेश्वर दाहाल, दाङका कुलप्रसाद के.सी., उदयपुरका मेजर राई तथा सिरहाका धर्मनाथ साह, राजकुमारी साह र जिवछ साह रहेका छन्।

विशेषगरी सिन्धुली क्षेत्र नम्बर २ को टिकट वितरणलाई लिएर असन्तुष्टि चुलिएपछि यो कारबाहीको अवस्था सिर्जना भएको हो।

पार्टीले सिन्धुली-२ मा पूर्वसांसद लेखनाथ दाहाललाई आधिकारिक उम्मेदवार बनाएको थियो। तर, क्षेत्र नम्बर १ बाट सिफारिस भएका लेखनाथलाई ‘हुकुमी प्रमांगी’बाट क्षेत्र नम्बर २ मा ल्याइएको भन्दै नेता महेश्वर दाहालले बागी उम्मेदवारी दिएका थिए।

महेश्वरको उम्मेदवारीमा पार्टीका प्रभावशाली नेता हरिबोल गजुरेलले खुलेरै साथ दिएका थिए।

संयोजक प्रचण्ड र सह-संयोजक नेपालले महेश्वरको उम्मेदवारी फिर्ता गराउन र आधिकारिक उम्मेदवारलाई सघाउन गजुरेललाई विशेष निर्देशन दिएका थिए। तर, गजुरेलले केन्द्रको निर्णय विधि र पद्धति विपरीत भएको भन्दै निर्देशन अस्वीकार गरेका थिए।

गजुरेलले भनेका थिए, ‘यो पार्टीभित्रको विद्रोह हो, विधि र पद्धतिका लागि विद्रोह हो। सिफारिस नै नभएका व्यक्तिलाई टिकट दिने निर्णय हामी मान्दैनौँ।’

हरिबोल गजुरेल लामो समयदेखि प्रचण्डका विश्वासिला पात्र र सहयात्रीका रूपमा चिनिन्छन्। उनी पार्टीको केन्द्रीय कोषाध्यक्षको जिम्मेवारीमा थिए भने प्रचण्ड नेतृत्वको सरकारमा उच्चस्तरीय भूमिसुधार आयोगको अध्यक्ष समेत बनेका थिए।

२०७० सालको संविधानसभा निर्वाचनमा सिन्धुली-३ बाट निर्वाचित गजुरेलको बहिर्गमनलाई नेपाली कम्युनिष्ट पार्टीभित्रको ठूलो कम्पनका रूपमा हेरिएको छ।

माघ १०, २०८२ शनिबार ११:५६:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।