लामो खडेरीपछि उच्च पहाड र हिमाली भेगमा हिमपात : कतै किसान दङ्ग, कतै जनजीवन कष्टकर (फोटो फिचर)
काठमाडौं : शुक्रबार रातिदेखि मौसममा आएको बदलीसँगै देशका उच्च पहाडी तथा हिमाली जिल्लाहरूमा हिमपात भएको छ।
सुदूरपश्चिमको बैतडीदेखि कर्णालीको हुम्ला, जुम्ला र गण्डकीको मुस्ताङ, म्याग्दीसम्मका बस्तीहरू यतिबेला हिउँले सेताम्मे बनेका छन्।

लामो समयदेखि पानी नपर्दा खडेरीको मार खेपिरहेका यहाँका किसानहरू लामो समयपछि हिउँ परेपछि उत्साहित भएका छन्।
यो हिमपातले सुक्खा जमिन भिजाउने र जेठासी बाली सप्रिने आसमा किसानको मुहारमा खुसी छाएको छ।

यस्तै, जुम्ला सदरमुकाम खलङ्गा र बैतडीको सिगास गाउँपालिकाका किसानहरू पनि हिउँदे बालीका लागि यो हिमपात फलदायी हुने भन्दै रमाएका छन्।

हिमालपारिको जिल्ला मुस्ताङका अधिकांश भू-भाग हिउँले ढाकिएका छन्। सदरमुकाम जोमसोम, ठिनी, मार्फा, स्याङ, कागबेनी हुँदै प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ क्षेत्रसम्म बाक्लो हिउँ जमेको छ।

घरका छाना, सडक र डाँडाकाँडा हिउँले छोपिँदा दृश्य मनमोहक देखिएको छ। म्याग्दीको धौलागिरि गाउँपालिका-२ लुलाङ गाउँ पनि हिउँले सेताम्मे बनेको छ।

हिमपातले प्राकृतिक सुन्दरता थपे पनि स्थानीयको दैनिकी भने कष्टकर बनेको छ। अत्यधिक चिसो बढेसँगै मानिसहरूको चहलपहल घटेको छ। हुम्लाको उत्तरी नाम्खा गाउँपालिका हुँदै हिल्सा जाने सडक बाक्लो हिउँका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ।

यस्तै, नेपाल-चीन सीमानाका कोरलाना नजिक मुस्ताङको लोमान्थाङ-२ छोसेर क्षेत्र र त्यहाँस्थित सशस्त्र प्रहरी बलको बीओपी भवन हिउँले पुरिएजस्तो देखिएको छ।

चिसोका बाबजुद पनि लामो समयपछि हिउँ पर्दा स्थानीय बासिन्दाले भने राहत महसुस गरेका छन्।



सबै तस्बिर : रासस
माघ १०, २०८२ शनिबार ११:२९:०६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।