रुकुम पूर्वमा हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध, काठमाडौंबाट आएका बस हिउँमा फसे

रुकुम पूर्वमा हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध, काठमाडौंबाट आएका बस हिउँमा फसे

रुकुम पूर्व : भारी हिमपातका कारण मध्यपहाडी लोकमार्गको रुकुम पूर्व खण्ड अवरुद्ध भएको छ।

जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका अनुसार लोकमार्गको लुकुम-पातिहाल्ना खण्डमा हिउँ जमेपछि यातायात सेवा ठप्प भएको हो।

सडक अवरुद्ध हुँदा काठमाडौंबाट आएका यात्रुबाहक बसहरू बाटोमै फसेका छन्।

प्रहरी नायब उपरीक्षक (डीएसपी) उमाशङ्करप्रसाद यादवका अनुसार अलपत्र परेका सवारीसाधन र यात्रुको उद्धारका लागि इलाका प्रहरी कार्यालय काक्रीबाट प्रहरी निरीक्षक हिमराज विकको नेतृत्वमा टोली खटाइएको छ।

प्रमुख जिल्ला अधिकारी सीता परियारले सडक खुलाउन र यात्रुको उद्धार गर्न भूमे गाउँपालिकासँग समन्वय भइरहेको जानकारी दिइन्। उनका अनुसार स्काभेटरको सहायताले हिउँ पन्छाएर बाटो खुलाउने तयारी भइरहेको छ।

जिल्लाका उच्च हिमाली तथा लेकाली भेगमा गए रातिदेखि हिमपात र तल्लो क्षेत्रमा वर्षा भइरहेको छ। चिसोका कारण जनजीवन प्रभावित भए पनि लामो समयपछि वर्षा र हिमपात हुँदा किसानहरू भने उत्साहित भएका छन्।

लामो खडेरीका कारण गहुँ लगायतका हिउँदे बाली सुक्न लागेको अवस्थामा भएको वर्षाले ठूलो राहत मिलेको सिस्ने गाउँपालिका-५ का विमल बिसीले बताए।

माघ १०, २०८२ शनिबार १०:५८:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।