सिद्धार्थ राजमार्गको स्तरोन्नति : २० अर्ब लागतमा सुरुङ र भायाडक्ट बन्ने, यात्रा अवधि साढे २ घण्टामा सीमित
बुटवल : सिद्धार्थ राजमार्गको बुटवल-पोखरा खण्डको स्तरोन्नति प्रक्रिया अघि बढेको छ।
सरकारले आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्न एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) बाट प्राप्त हुने करिब २९ करोड रुपैयाँ अनुदान स्वीकार गर्ने निर्णय गरेसँगै ४८ वर्ष पुरानो राजमार्गको काम अघि बढेको हो।
२०२७ सालमा भारत सरकारको सहयोगमा निर्माण सुरु भई २०३४ सालमा सम्पन्न भएको यो राजमार्ग साँघुरो र घुमाउरो हुँदा जोखिमपूर्ण मानिन्छ।
बुटवल-सुनौली खण्ड ६ लेनमा विस्तार भइसके पनि बाँकी १५८ किलोमिटर खण्डको स्तरोन्नतिलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ।
स्तरोन्नति सम्पन्न भएपछि बुटवल-पोखराको १५७ किलोमिटर दूरी छोटिएर करिब १ सय १३ किलोमिटरमा सीमित हुनेछ। हाल ६ घण्टा लाग्ने यात्रा अवधि घटेर साढे २ घण्टामा झर्ने भएकाले यसलाई ‘गेम चेन्जर’ आयोजनाका रूपमा हेरिएको छ।
२० अर्ब लगानी, २३ किलोमिटर सुरुङ
आयोजनाको विस्तृत सम्भाव्यता अध्ययन सम्पन्न भई वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) अन्तिम चरणमा रहेको छ। प्रारम्भिक अध्ययन अनुसार आयोजनाको कुल लागत करिब २० अर्ब रुपैयाँ अनुमान गरिएको छ।
जसमा १० अर्ब ३९ करोड सडक स्तरोन्नति र करिब ९ अर्ब ३७ करोड सुरुङ तथा भायाडक्ट (धेरै वटा पिलरमा अडिएको लामो पुल) निर्माणमा खर्च हुनेछ। योजना अनुसार यो सडक खण्डलाई ‘डेडिकेटेड डबल लेन’ मा विस्तार गरिनेछ।
अप्ठ्यारा घुम्ती र पहाडी खण्ड छोट्याउन २३.३०६ किलोमिटर लम्बाइका ८ वटा सुरुङमार्ग, २७ वटा भायाडक्ट र १४ वटा पुल निर्माण गरिनेछ। करिब ७४ किलोमिटर सडक स्तरोन्नति हुनेछ भने ११.७ किलोमिटर नयाँ सडक (बाइपास) निर्माण गरिनेछ।
कास्कीको छोरेपाटनदेखि स्याङ्जाको फेदीखोला, भालुपहाडदेखि वालिङको बाडखोला, राङ्खोलादेखि हेलु र कालीगण्डकीको राम्दीदेखि पाल्पाको पिपलडाँडासम्म सुरुङ निर्माण गर्ने प्रस्ताव गरिएको छ।
त्यस्तै, बहाकी खोलादेखि तानसेन प्रभाससम्म तीनवटा सुरुङ र पाल्पाको केराबारीमा १ हजार २७ मिटर लामो ‘डबल लेन’ पुल बनाइने छ। हाल निर्माणको अन्तिम चरणमा रहेको सिद्धबाबा सुरुङमार्ग भने यो नयाँ प्याकेजमा समावेश छैन।
सडक विभागका उपमहानिर्देशक अर्जुन अर्यालका अनुसार चालू आर्थिक वर्षको बजेटमै यो सडकलाई स्तरोन्नति गर्ने घोषणा गरिएको थियो।
‘गत बिहीबार मात्र एआईआईबीले नेपाललाई दिने करिब २९ करोड रुपैयाँ अनुदान सहयोग सरकारले स्वीकार गरेको छ। यो रकम डीपीआर तयार गर्न खर्च गरिनेछ’, अर्यालले भने।
पूर्वअर्थमन्त्री विष्णु पौडेलले यो आयोजनाले लुम्बिनी र गण्डकी प्रदेशको विकासमा कायापलट गर्ने बताए।
‘बुटवल-पोखराको सडकलाई अब गेम चेन्जर आयोजनाका रूपमा सुधार गरिँदैछ। यो योजना सम्पन्न पश्चात ४५ किमी दूरी छोटो समेत हुनेछ। यसले यात्रुलाई धेरै सहजता हुनेछ’, पौडेलले भने।
राजमार्ग स्तरोन्नति भएपछि लुम्बिनी र पोखराबीचको पर्यटकीय ‘कनेक्टिभिटी’ बलियो हुने अपेक्षा गरिएको छ। लुम्बिनी आएका पर्यटकलाई छोटो समयमै पोखराको चिसो हावापानीमा रम्न जान सहज हुनेछ।
स्थानीय जनप्रतिनिधिहरूले पनि सडक विस्तारले आर्थिक गतिविधि बढाउने विश्वास लिएका छन्।
तानसेन नगरपालिकाका प्रवक्ता यादव सिंह कार्कीले भने, ‘राजमार्ग छोटो र फराकिलो भएपछि जिल्लाको कृषिजन्य उत्पादनलाई सहज ढंगले पोखरा लैजान सकिन्छ। यसले कृषि क्षेत्रको मात्र होइन, पर्यटनको क्षेत्रमा पनि प्रभाव पार्नेछ।’
स्याङ्जाको पुतलीबजार नगरपालिकाकी उपप्रमुख देवी अर्यालले पनि यात्रा र बजार पहुँच सहज हुने बताइन्।
‘साँघुरो सडक र अप्ठ्यारो घुम्तीले यो सडक जोखिमपूर्ण थियो। स्तरोन्नति भएपछि यात्रामा सहजता मात्र हुँदैन, कृषकले उत्पादन गरेका वस्तु छोटो समयमै बजारमा पुग्नेछन्’, अर्यालले भनिन्।
सडक विस्तारका क्रममा पाल्पाको दोभानदेखि स्याङ्जासम्म करिब १ हजार घरटहरा हटाउनुपर्ने देखिएको छ।
स्याङ्जाको सदरमुकाम पुतलीबजारमा भने घर नभत्काई ‘बाइपास’ सडक बनाउने प्रस्ताव डीपीआरमा गरिएको छ। परियोजना ५ वर्षमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
माघ १०, २०८२ शनिबार १०:२७:१४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।