कांग्रेस त्यागेर रास्वपामा छिरे कीर्तिमानी मिङ्मा, बालेनले भने- ‘अब संखुवासभाको विकास असल उम्मेदवारबाट’
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साह (बालेन)ले विश्वभरका पर्यटकले संखुवासभामा पाइला टेक्ने वातावरण बनाउनुपर्ने बताएका छन्।
संखुवासभाको मुढे शनिश्चरेमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले उनले संखुवासभाको प्राकृतिक सुन्दरता, रुद्राक्ष खेती र पर्यटनको प्रचुर सम्भावना रहेको औँल्याए।
बालेनले भने, ‘संखुवासभा काठमाडौँ र बाहिरी जिल्लामा रुद्राक्षका लागि परिचित छ। म पहिलो पटक यहाँ टेक्दा अत्यन्तै खुसी छु। जसरी यहाँहरूले मलाई पहिलो पटक यहाँ टेक्ने वातावरण बनाइदिनुभयो, त्यसरी नै ३ करोड नेपाली र विश्वभरका पर्यटकले यहाँ पाइला टेक्ने वातावरण बनाउनुपर्छ।’
सोही कार्यक्रममा विश्व कीर्तिमानी पर्वतारोही मिङ्मा शेर्पा नेपाली कांग्रेस परित्याग गरी रास्वपामा प्रवेश गरेका छन्।
बालेनले मिङ्मा शेर्पा जस्ता विश्व कीर्तिमानी व्यक्तित्वहरू परिवर्तनका लागि अघि सर्नु सुखद रहेको बताउँदै, यहाँको विकास र समृद्धिका लागि रास्वपाका उम्मेदवारहरूलाई विजयी गराउन स्थानीयसँग आग्रह गरे।
उनले भने, ‘मिङ्माजीहरूले हिमाल चढेर विश्वमा नाम राख्नुभयो, अब यहाँका उम्मेदवारहरूले पनि विकासको शिखर चढ्नुहुनेछ भन्ने विश्वास लिएको छु।’
रास्वपा प्रवेश गरेका कीर्तिमानी आरोही मिङ्मा शेर्पाले देशमा परिवर्तन आवश्यक रहेको र त्यसको नेतृत्व रवि लामिछाने र बालेन साहले मात्र गर्न सक्ने बताए। उनले बालेन साहलाई २०८४ सालको निर्वाचनपछिको ‘देशको प्रधानमन्त्री’ को रूपमा चित्रण गरे।
शेर्पाले भने, ‘म यसअघि कांग्रेसमा थिएँ, तर अब देशको सिस्टम र इन्जिन नै फेर्नुपर्ने बेला आएको छ। त्यो क्षमता रास्वपासँग छ। यदि रास्वपाको बहुमतको सरकार बन्यो भने देशले कोल्टे फेर्नेछ।’
उनले आफू र आफ्ना भाइहरू (मिङ्मा डेभिड लगायत) ले हिमाल आरोहणमा विश्व कीर्तिमान कायम गरेजस्तै राजनीतिमा पनि परिवर्तन ल्याउन आफू जोडिएको बताए। उनले आगामी फागुन ४ गते हुने आमसभामा रवि लामिछाने र बालेन साहलाई पुनः निम्तो समेत दिए।
कार्यक्रममा स्थानीय युवाहरू र सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो।
माघ १०, २०८२ शनिबार १०:०५:४१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।