सरकारी विज्ञापनमा ३ अर्ब गायब भएको भन्ने समाचार भ्रामक भएको आनको दाबी

सरकारी विज्ञापनमा ३ अर्ब गायब भएको भन्ने समाचार भ्रामक भएको आनको दाबी

काठमाडौं : नेपाल विज्ञापन संघ (आन)ले सरकारी विज्ञापनमा ‘३ अर्ब गायब’ भएको भन्ने समाचार तथा विज्ञप्ति भ्रामक, तथ्यहीन र विज्ञापन बजारलाई धराशायी बनाउने खालका भएको दाबी गर्दै खेद व्यक्त गरेको छ।

हालै ‘कान्तिपुर दैनिक’ मा प्रकाशित ‘सरकारी विज्ञापनमा ३ अर्ब गायब’ शीर्षकको समाचार र सोही विषयलाई लिएर नेपाल रिपब्लिक मिडिया लिमिटेडबाट जारी गरिएको विज्ञप्तिलाई लिएर आनले आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको हो।

आनका महासचिव कृष्णप्रसाद घिमिरेद्वारा जारी विज्ञप्तिमा सञ्चारमाध्यममा उल्लेख गरिएको ३ अर्ब गायब भन्ने विषयको कुनै ठोस तथ्याङ्क र कानुनी आधार नदेखिएको उल्लेख छ।

सार्वजनिक खरिद प्रक्रियामार्फत हुने सरकारी विज्ञापनको वितरण र भुक्तानी प्रक्रियालाई नै गलत ढङ्गले व्याख्या गर्दा समग्र विज्ञापन जगतको छविमा आँच पुगेको आनको ठहर छ।

‘राज्यको चौथो अंगका रूपमा रहेका सञ्चार गृहहरूले अर्को सञ्चार गृह वा विज्ञापन एजेन्सीहरूलाई लक्षित गरी पुष्टि नभएका विषयमा भ्रम फैलाउनु व्यावसायिक मर्यादा र पत्रकारिताको मूल्य मान्यता विपरीत छ,’ विज्ञप्तिमा भनिएको छ।

यस्ता भ्रामक समाचारले विज्ञापनदाता, एजेन्सी र सञ्चारमाध्यमबीचको विश्वासको वातावरण धमिल्याउनुका साथै २५ अर्बभन्दा बढीको समग्र विज्ञापन व्यवसायलाई नै जोखिममा पारेको संघले जनाएको छ।

विज्ञप्तिमा विज्ञापन दररेटमा अस्वस्थ प्रतिस्पर्धा रोक्न र मिडियाको आर्थिक सबलीकरणका लागि गत वर्ष नेपाल मिडिया सोसाइटी र मिडिया अलायन्ससँग मिलेर न्यूनतम दररेट कायम गर्ने सम्झौता गरिएको स्मरण गराउँदै आनले अनियमितता भएको खण्डमा छानबिन गर्ने कानुनी बाटो हुँदाहुँदै एकपक्षीय सूचना सम्प्रेषण हुनु दुःखद भएको बताएको छ।

आनले यस्ता भ्रामक समाचारको पछि नलाग्न सम्पूर्ण विज्ञापनदाता र सरोकारवालालाई आग्रह गर्दै सञ्चार गृहहरूलाई सत्य-तथ्य बुझेर मात्र समाचार सम्प्रेषण गर्न अनुरोध गरेको छ।

माघ १०, २०८२ शनिबार ०९:३४:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।