टी-२० विश्वकप नखेल्ने बङ्गलादेशको निर्णय, बोर्ड र खेलाडीलाई हुनेछ ठूलो आर्थिक नोक्सानी
एजेन्सी : अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) र देशको अन्तरिम सरकारसँगको पटक-पटकको बैठकपछि बङ्गलादेश क्रिकेट बोर्ड (बीसीबी)ले भारतमा आयोजना हुने टी-२० विश्वकप नखेल्ने निर्णय गरेको छ।
विश्वकप सुरू हुन अब दुई हप्ता मात्र बाँकी रहँदा बङ्गलादेशले सुरक्षा र राजनीतिक कारण देखाउँदै यो निर्णय लिएको हो।
यद्यपि, बीसीबीले अझै पनि खेल स्थल परिवर्तनका लागि प्रयास जारी राख्ने बताएको छ, तर आईसीसीले प्रतियोगिताको तालिकामा अब कुनै पनि फेरबदल सम्भव नहुने स्पष्ट पारिसकेको छ।
बङ्गलादेशको अन्तरिम सरकारका खेलकुद सल्लाहकार आसिफ नजरुलले सरकारको निर्णय स्पष्ट रहेको बताएका छन्।
उनले भने, ‘हामीले आईसीसीबाट न्याय पाएनौँ। हाम्रा एक खेलाडी मुस्तफिजुर रहमानको सुरक्षा सुनिश्चित गर्न नसकिएको अवस्थामा बाँकी खेलाडी, पत्रकार र दर्शकको सुरक्षा कसरी हुन्छ भन्ने प्रश्न गम्भीर छ।’
बङ्गलादेशले आफ्ना खेलहरू भारतको सट्टा श्रीलङ्कामा खेलाउन आईसीसीलाई अनुरोध गरेको थियो।
तर, आईसीसीले सुरक्षा जोखिमको ठोस प्रमाण बिना अन्तिम समयमा खेल स्थल सार्दा भविष्यका लागि गलत नजिर बस्ने भन्दै उक्त प्रस्ताव अस्वीकार गरेको छ।
विश्वकपमा सहभागी नहुँदा बङ्गलादेश क्रिकेट बोर्ड र खेलाडीहरूले ठूलो आर्थिक नोक्सानी व्यहोर्नुपर्नेछ। प्रतियोगितामा सहभागी हुँदा वा शीर्ष १२ मा पुग्दा बीसीबीले करिब ३ लाखदेखि साढे ४ लाख अमेरिकी डलरसम्मको आम्दानी गुमाउनेछ।
यसका अलावा खेलाडीहरूले पाउने म्याच फी, प्रदर्शन बोनस र पुरस्कार राशि गुम्नेछ। एउटा अन्तर्राष्ट्रिय टी-२० म्याच खेल्दा खेलाडीले कम्तीमा साढे २ लाख टाका पाउने गर्छन्।
बङ्गलादेशको अनुपस्थितिले आईसीसी र प्रसारणकर्ताहरूलाई पनि घाटा हुने देखिन्छ। भारतीय उपमहाद्वीपमा बङ्गलादेशका खेलहरू अत्यधिक हेरिने गरिन्छ। बङ्गलादेश नखेल्दा करिब २० करोड दर्शक घट्ने र यसले टीआरपीसँगै विज्ञापन र प्रायोजनबाट हुने आम्दानीमा प्रत्यक्ष असर पर्ने विश्लेषण गरिएको छ।
हाल भारत र बङ्गलादेशबीचको राजनीतिक तनावका कारण पर्यटक भिसा सेवाहरू बन्द छन्। यस्तो अवस्थामा बङ्गलादेशले भाग लिए पनि त्यहाँका समर्थकहरूलाई खेल हेर्न भारत जान सम्भव नहुने अवस्था छ।
बीसीबीका अध्यक्ष अमिनुल इस्लाम बुलबुलले अझै पनि आशा न मारेको र आईसीसीसँग पुनः सम्पर्क गर्ने बताए पनि आईसीसीले भने बङ्गलादेश नआए उसको स्थानमा अर्को टिमलाई मौका दिने चेतावनी दिएको छ।
माघ १०, २०८२ शनिबार ०८:१६:११ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।