सुदूरपश्चिमका पहाडी जिल्लामा वर्षासँगै हिमपात, किसान खुसी
बैतडी : सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरूमा शुक्रबार बेलुकादेखि वर्षासँगै हिमपात भएको छ। बैतडी, डडेल्धुरा र दार्चुलाका उच्च लेकाली भेगमा यो वर्षको पहिलो पटक हिउँदे वर्षा र हिमपात भएको हो।
जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक सुरज सिंहका अनुसार बैतडीका खोड्पे, श्रीभावर, ढोल्यामोड, मुस्याचोर, सतबाँझ, देहीमाण्डौ लगायतका क्षेत्रमा हिमपात भएको छ।
त्यस्तै, दार्चुलाको व्यास र अपिहिमाल क्षेत्र तथा डडेल्धुराको सदरमुकामसहित हगुल्टे, साहुखर्क र भातकाँडा क्षेत्रमा पनि हिमपात भएको प्रहरीले जनाएको छ।
वर्षा र हिमपात भए पनि राजमार्गहरूमा यातायात सञ्चालनमा भने कुनै समस्या नरहेको प्रहरी निरीक्षक सिंहले जानकारी दिए।
लामो समयपछि वर्षा र हिमपात हुँदा चिसो बढे पनि किसानहरू भने खुसी भएका छन्। विगत चार महिनादेखि वर्षा नहुँदा गहुँ लगायतका हिउँदे बाली सुक्ने अवस्थामा पुगेको थियो।
वर्षाले बाली सप्रिने भन्दै किसान उत्साहित बनेका हुन्। यद्यपि, एक्कासी बढेको अत्यधिक चिसोबाट बच्न र सावधानी अपनाउन स्वास्थ्यकर्मीहरूले आग्रह गरेका छन्।
माघ १०, २०८२ शनिबार ०७:५२:११ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।