रामेछापमा निर्वाचन प्रहरीको कोटा पुगेन, आवेदनको म्याद फेरि थपियो
मन्थली : आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आवश्यक निर्वाचन प्रहरी (म्यादी प्रहरी) भर्नाका लागि आवेदन दिने म्याद थप गरिएको छ।
जिल्ला प्रहरी भर्ना समिति रामेछापले आवश्यक संख्यामा दरखास्त नपरेपछि माघ १० र ११ गतेसम्मका लागि म्याद थपेको हो।
जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) भोला भट्टका अनुसार यसअघि खुलाइएको विज्ञापनमा पर्याप्त आवेदन नपरेपछि म्याद थप गरिएको हो।
जिल्लामा निर्वाचनका लागि १ हजार ३ सय ३३ जना निर्वाचन प्रहरी आवश्यक रहेको छ। तर, हालसम्म छनोट भएका ९ सय जनालाई मात्र तालिम दिने काम भइरहेकाले अपुग संख्या पूर्तिका लागि पुनः आवेदन माग गरिएको हो।
डीएसपी भट्टले ‘प्रतिनिधिसभा निर्वाचनका लागि स्वीकृत निर्वाचन प्रहरी भर्ना, छनोट, नियुक्ति तथा परिचालन समिति एकीकृत कार्यविधि-२०८२’ अनुसार प्रक्रिया अघि बढाइएको जानकारी दिए।
उनका अनुसार यसअघि शारीरिक परीक्षण, सहिष्णुता तथा लिखित परीक्षामा सहभागी हुन छुट भएका तथा नयाँ आवेदन दिन चाहने योग्य व्यक्तिहरूले माघ ११ गतेसम्म दरखास्त दिन सक्नेछन्।
माघ १०, २०८२ शनिबार ०७:४६:३४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।