निर्वाचन अगाडि नै भावी प्रधानमन्त्री घोषणा कति ठिक?
काठमाडौं : विशिष्ट परिस्थितिको माग भन्दै नेपाली कांग्रेसको केन्द्रीय समितिले सभापति गगन थापालाई भावी प्रधानमन्त्री घोषणा गर्यो। उपसभापति विश्वप्रकाश शर्माको प्रस्तावमा पार्टीले गगनलाई प्रधानमन्त्रीमा अगाडि सार्ने निर्णय गर्यो।
बहुमत आएमा वा गठबन्धन बनाउन सकेमा निर्वाचनबाट चुनिएका सांसदहरूले निर्वाचित गर्ने संसदीय दलको नेता प्रधानमन्त्रीको दाबेदार बन्छन्। तर कांग्रेसले निर्वाचन अगाडि नै भावी प्रधानमन्त्रीको रूपमा अगाडि सार्यो।
कांग्रेसले यस अगाडि कृष्णप्रसाद भट्टराईलाई भावी प्रधानमन्त्री घोषणा गरेर निर्वाचनमा होमिएको थियो। त्यसको प्रभावले पार्टीले बहुमत ल्याएर भट्टराई प्रधानमन्त्री बनेका थिए। त्यसयता निर्वाचनमा पहिल्यै भावी प्रधानमन्त्री तोकेर जाने गरेको थिएन।
राष्ट्रिय स्वतन्त्र पार्टीले बालेन शाहलाई भावी प्रधानमन्त्रीमा अगाडि सारेको छ। उसले चुनावी प्रचार नै अबकी बार बालेन सरकार भनेर सुरु गरेको छ। त्यसपछि एमालेले पार्टी अध्यक्ष केपी ओलीलाई भावी प्रधानमन्त्रीका रूपमा अगाडि सार्यो।
त्यसपछि कांग्रेसले समेत निर्वाचन अगाडि नै भावी प्रधानमन्त्री घोषणा गर्यो।
कति ठिक?
प्रमको दाबेदार घोषणा गर्नुले मतदातालाई निर्णय लिन सहज बनाउँछ। तर, मिश्रित निर्वाचन प्रणाली भएको देशमा, जहाँ साना दलको भूमिका निर्णायक हुन्छ, यस्तो घोषणा व्यवहारमा लागू हुन निकै कठिन देखिन्छ।
यो केवल एउटा राजनीतिक रणनीतिका रूपमा बढी र संवैधानिक बाध्यताका रूपमा कम देखिन्छ
मतदातालाई आफूले भोट हाल्दा देशको नेतृत्व कसले गर्दैछ भन्ने पहिल्यै थाहा हुन्छ। यदि कुनै दलले प्रमको अनुहार अगाडि सार्छ भने, उसको कार्यशैली र एजेन्डाबारे जनता जानकार हुन्छन्, जसले भविष्यको योजनामा अन्योल कम गर्न सक्छ।
निर्वाचन जितिसकेपछि पदका लागि हुने खिचातानी कम हुन सक्छ र घोषित व्यक्ति सिधै जनताप्रति जवाफदेही बन्नुपर्ने दबाबमा रहन्छ।
तर यसका नकारात्मक पक्ष पनि छन्। नेपालको संविधानले संसदीय शासन प्रणालीको परिकल्पना गरेको छ। यसमा जनताले सांसद चुन्छन् र सांसदले प्रधानमन्त्री। चुनाव अघि नै प्रम तोक्नुले कतिपय अवस्थामा यो प्रक्रियालाई ओझेलमा पार्न सक्छ।
ठूला दलहरूभित्र धेरै आकाङ्क्षी हुने भएकाले एक जनाको नाम घोषणा गर्दा पार्टीभित्रै विद्रोह वा असहयोग हुने जोखिम रहन्छ।
नेपालमा प्राय: कुनै पनि दलको स्पष्ट बहुमत नआउने ट्रेन्ड छ। यस्तोमा चुनावपछि बन्ने समीकरणले गर्दा चुनाव अघि घोषणा गरिएको व्यक्ति प्रम नहुन पनि सक्छ, जसले मतदातालाई धोका भएको महसुस गर्न सक्छन्।
माघ १०, २०८२ शनिबार ०६:५२:५४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।