बिग्रिएको सिसिटिभी नबनाउँदा घुम्न आएका भारतीयले चिडियाखानाको पर्खाल नाघेर कसरी चोर्न खोजेका थिए रेड पान्डा ?

बिग्रिएको सिसिटिभी नबनाउँदा घुम्न आएका भारतीयले चिडियाखानाको पर्खाल नाघेर कसरी  चोर्न खोजेका  थिए रेड पान्डा ?

काठमाडौं : बेलुकीको खानापछि विष्णुलाल नेपालीले साढे ८ बजेतिर सदर चिडियाखाना परिसरको राउन्ड गर्दा खोरमा हाब्रे (रेड पान्डा) थियो। साढे ९ देखि १० बजे गोविन्दमान अधिकारीले राउन्ड गर्दासमेत हाब्रे थियो। तर गोविन्दमानले साढे १० मा नेपालीलाई अर्को राउन्डका लागि उठाउन जाँदा खोरमा हाब्रे देखिएन। 

खोरमा हाब्रे नभएपछि गोविन्दमानले विष्णुलाललाई उठाए। उनलाई उठाउनुपर्ने समयचाहिँ खासमा ११ बजे थियो। तर हाब्रे नदेखिएकाले गोविन्दमानले साढे १० बजेमा नै विष्णुलाललाई उठाए। 

त्यसपछि विष्णुलालसहित गोविन्दमान र उपलब्ध अन्य कर्मचारीहरू हाब्रेको खोजीका लागि निस्किए। हाब्रेको खोरको सानो छिर्कनीबाट स्क्रुहरूले ढोका खोलेर हाब्रे निकालेको अनुमान गरे। त्यसपछि बाहिर घुम्दै जाँदा हाब्रेको खोर नजिकै रहेको मालिङ्गाको घारीमा घुँक्क गर्दै सुँगुर कराएजस्तो आवाज निकालेको विष्णुलालले सुने।

त्यहाँ जाँदा झोलामा हालेर राखेको  अवस्थामा हाब्रे भेटियो। यो घटना २०८२ साल वैशाख ३० गतेको हो।  हाब्रे कसले झोलामा हालेको हो भनेर खैलाबैला हुन्छ चिडियाखानामा।  प्रहरीमा उजुरी पुग्छ अनि राष्ट्रिय प्रकृति संरक्षण कोषले छानबिन समिति बनाउँछ।

झोलामा रेड पान्डा

वैशाख २६ गते अपराह्न ४३० बजे दुई व्यक्तिहरू टिकट काटेर चिडियाखाना भित्र छिर्छन्। त्यसपछि ती व्यक्तिहरू चिडियाखाना घुम्छन्। राती ७ः०० बजेतिर चमेना गृह आसपास तथा गिद्धको खोर नजिकै घुमफिर गर्छन्। ती व्यक्तिहरू एकै पटक रातको ९ः२६ मा चमेना गृहमा रहेको सिसी क्यामेरामा देखिन्छन्। उनीहरूले झन्डै साढे दुई घण्टा के गरेर बिताए खुल्दैन। 

उनीहरू हाब्रेको खोरतर्फ जान्छन्। त्यसपछि कहीँ पनि सिसी क्यामेरामा देखिँदैनन्। कर्मचारी डुल्न जाँदा हाब्रे झोलामा देखिएपछि खैलाबैला हुन्छ।

चिडियाखाना प्रशासनले वैशाख २७ गते शनिवार हाब्रे खोर बाहिर निस्कनुको कारण पत्ता लगाउन र जिम्मेवार व्यक्तिको जिम्मेवारीका सन्दर्भमा भेषबहादुर गुरुङको संयोजकत्वमा ३ सदस्सीय आन्तरिक छानबिन समिति गठन गर्यो।

पर्वतजङ्ग थापा सहायक भेटेरिनरी चिकित्सक र नरेन्द्रराज हमाल भेटेरिनरी सहायक सदस्य थिए। उक्त छानबिन समितिले सुरक्षागार्ड विष्णु नेपाली,सतिशशरण कार्की र हरेराम ठकुरी तथा बर्ड सेक्सनमा कार्यरत जु किपर राजकुमार बस्नेत, मैयाँ कपाली र रमेश भण्डारीसँग बयान लियो।

उक्त समितिले जु किपर रमेश भण्डारीको लापरबाहीको कारण खोरको ढोका बन्द नगरी सरसफाइको कार्य गर्दा हाब्रे बाहिर निस्कन गएको र रमेश भण्डारी यस विषयमा जिम्मेवार रहेको प्रतिवेदन पेस भयो। गुरुङको समितिले वैशाख २८ गते आइतबार बुझाएको प्रतिवेदन चिडियाखाना प्रशासनलाई दर्ता गर्ने भनेर तोक लगायो पनि। त्यसपछि चिडियाखानामा नियमित रूपमा कार्यसम्पादन गर्यो।  

यस घटनाबारे चिडियाखानाले कोषको केन्द्रीय कार्यालयलाई जानकारी गराएन। हाब्रे खोरबाट निस्किएर रूखमा चढ्नु एक संवेदनशील विषय मानिन्छ। उक्त कुरालाई चिडियाखाना प्रशासनले सहायक स्तरको कर्मचारीको संयोजकत्वमा छानबिन समिति बनाई जु किपर रमेश भण्डारीलाई दोषी देखाई घटनालाई सामान्यीकरण गरियो। 

शनिवार हाब्रे खोरबाट बाहिर निस्की रूखमा गएर बसेको घटनालाई गम्भीरतापूर्वक नलिएका कारण वैशाख ३० गते मङ्गलबारको घटना घटेको निष्कर्ष छानबिन समितिले निकाल्यो। 

सिसिटिभी छल्दै चोरी

सदर चिडियाखानामा रहेका कुन–कुन सिसिटिभीले काम गर्छन् र कुन–कुनले काम गर्दैनन् भन्ने जानकारी चोरहरूलाई थियो।  चोरहरूले काम गर्ने सिसिटिभीलाई छलेर अघि बढेका थिए।  हाब्रेको खोर अगाडिको सिसिटिभी क्यामरा बिग्रिएको कुरा चोरलाई जानकारी भएको छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ। 

प्रशासन व्यवस्थापक हरि विक्रम सिंह,वरिष्ठ संरक्षण अधिकृत अम्बिका प्रसाद खतिवडा र वरिष्ठ प्रशासकीय अधिकृत सिद्धराज तिमिल्सिनाले छानबिन गरी प्रतिवेदन बुझाएपछि चिडियाखानाका प्रशासक भेष बहादुर गुरुङले महानगरीय प्रहरी परिसरमा उजुरी दिए। वैशाख ३१ गते प्रहरीमा उजुरी दिएपछि  काम सुरु गर्यो। 

प्रहरीले राती अन्दाजी १० बजेको समयमा २ जना पुरुषहरू सो  क्षेत्रमा आएको देखिएको  र रेड पान्डा चोरी गरी निगालोको झाडीमा झोलामा प्याक गरी छाडेर भागेको देखिएको भन्दै मुचुल्का उठायो।

कसरी आए भारतीय?

मोहम्मद तैफिक भारतीय नागरिक हुन्। नेपालमै जन्मिएका उनी २४ वर्षका भए। स्वयम्भूमा व्यापार गर्छ उनीहरूको परिवार। स्कुटरका आधारमा प्रहरीले उनका घरमा काम गर्ने कृष्ण गुरुङलाई जेठ १४ मा पक्राउ गर्यो। जेठ १६ गते तैफिकलाई प्रहरीले पक्राउ गर्यो।

उनले दिएको बयान अनुसार  २० वर्षका मोहम्मद सर्फराज र २२ वर्षका मोहम्मद बिहारबाट नेपाल घुम्न आउने भन्दै तैफिकसँग सल्लाह माग्छन्। तैफिकले पशुपतिनाथ मन्दिर, स्वयम्भू, बौद्ध चिडियाखाना छन् भन्छन्।

काठमाडौँ घुम्न आएका उनीहरू २६ गते चिडियाखाना जान्छन्। चिडियाखाना बन्द हुने समयमा समेत लुकेर बसेका उनीहरू राती अबेर तैफिकको घरमा पुग्छन्। तैफिकले किन ढिला आएको भनेर सोध्दा रेड पान्डा चोरी गरी भारतमा लगेर बेच्ने योजना बुन्छन्। त्यसपछि उनीहरू पुन चिडियाखाना आए। 

३० गते राती उनीहरू चिडियाखाना गएर रेडपाण्डा चोर्न लाग्दा विष्णु नेपालीले देखेपछि उनीहरू चिडियाखानाको पर्खाल नाघेर भाग्छन्। उनीहरूले भनिमण्डलमा तैफिकलाई स्कुटी लिएर आउन भन्छन् र भाग्छन्। तैफिककै घरमा बसेका उनीहरू दुई दिनपछि भारत भाग्छन् । 

तैफिकलाई ३ महिना कैद, दुई भारतीय पक्राउ परेनन् 

कृष्ण गुरुङको स्कुटी उनको नाममा भएको आधारमा पक्राउ गरे पनि अदालतले उनलाई सफाइ दियो। तैफिकलाई असार १० गते चोरी उद्योगमा संलग्न भएको भन्दै पुर्पक्षको लागि नख्खुमा पठायो।

दुई जनाले ३० गते टिकट काटेर नभई पर्खाल चढेर चिडियाखानाबाट रेड पान्डा चोरी प्रयास  गरेको समेत खुल्यो। अदालतले भदौ ५ गते  मोहम्मद तौफिकलाई चोरी उद्योगमा संलग्नता देखिएको भन्दै तीन महिना कैद र २ हजार ५ सय जरिवाना गर्यो। 

के हो रेडपाण्डा ?

कमल मादेनको लेख अनुसार रेड पान्डा चीनको दक्षिणपूर्वी क्षेत्र सिचुवान, युनानदेखि बर्मा, भुटान,भारत र नेपालमा पाइन्छ। लजालु स्वभावको यो जीव नेपालको २४ जिल्लामा पाइन्छ।

रेड पान्डाको सन्दर्भमा कारण नभई, भ्रम र हल्लाकै भरमा महँगोमा बिक्री हुने भनेर तस्करी हुने गरेको छ। त्यही कारण यो सुन्दर जीवको अस्तित्व सङ्कटमा छ।

माघ १०, २०८२ शनिबार ०६:०८:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।