कलाकार रामशरणको हिजोको कुरा : गायक बन्न खोज्दा रेडियो नेपालले फाल्यो, खलनायक बन्दा बुढी आमाले बाटोमा थुकिन्

कलाकार रामशरणको हिजोको कुरा : गायक बन्न खोज्दा रेडियो नेपालले फाल्यो, खलनायक बन्दा बुढी आमाले बाटोमा थुकिन्

काठमाडौं : मान्छेको जीवन सोचेजस्तो मात्र कहाँ हुन्छ र ? कहिलेकाहीँ हामी एउटा बाटो हिँड्न खोज्छौं, तर समयले अर्कै मोडमा पुर्याइदिन्छ। धुलिखेलको एउटा सामान्य केटो, जो कहिले खेलमैदानमा पसिना बगाउँथ्यो त कहिले रेडियो नेपालको स्वर परीक्षामा आफ्नो भविष्य खोज्थ्यो। तर नियतिले उनलाई गायक होइन, पर्दाको यस्तो 'खलनायक' बनाइदियो, जसलाई देख्दा कतिले घृणाले थुके त कति डरले बाटो नै तर्केर हिँडे।

एकातिर ३१ वर्षसम्म सरकारी सेवाको इमानदार र शालीन जागिरे जीवन, अर्कोतिर पर्दामा देखिने डरलाग्दो र क्रूर चरित्र! यी दुई विपरीत किनारालाई सँगै हिँडाएका ६६ वर्षीय रामशरण जंगमको भोगाइ हो यो। 'भोजबहादुर' देखि 'छक्का पञ्जा' सम्मको अभिनय यात्रामा सक्रिय उनले ३१ वर्ष सरकारी कृषि सेवामा समेत समर्पित गरे। एउटा सफल कलाकार र कृषिका अभियन्ता रामशरण जंगमले आफ्नो भोगाइ र अनुभवलाई ‘उकेरा’ को स्तम्भका लागि यसरी व्यक्त गरेका छन् :

बाल्यकाल

मेरो जन्म वि.स. २०१६ सालमा काभ्रेको धुलिखेल (साबिक धुलिखेल गाउँ पञ्चायत) मा भएको हो। मेरो बाल्यकाल त्यतै बित्यो। मैले थाहा पाउँदा धुलिखेल धेरै राम्रो थियो। २०-२२ सालतिरै धुलिखेल एउटा चर्चित पर्यटकीय स्थलका रुपमा हेरिन्थ्यो। बिहानको घाम र हिमाल हेर्नका लागि देश-विदेशबाट मान्छेहरूको भिड लाग्थ्यो।

मैले धुलिखेलकै सञ्जिवनी माध्यमिक विद्यालयमा पढेको हो। त्यो समयमा काभ्रे जिल्लाभरिकै एउटा मात्र हाइस्कुल सञ्जिवनी नै थियो। त्यहीँबाट मैले २०३८ सालमा एसएलसी पास गरेँ। मेरो एसएलसी अलिक ढिलै भएको हो। त्यो बेला पनि स्कुलमा छोरी मान्छेको संख्या राम्रै थियो। सदरमुकाममा भएर होला, छोरीलाई नपढाउने भन्ने सोच देखिँदैनथ्यो। हाम्रो समयमा करिब २५ प्रतिशत भन्दा बढी केटीहरूको संख्या थियो। मेरो ब्याचमा ९२ जनाले एसएलसी दिँदा १७-१८ जना केटीहरू थिए।

खेलकुद र गायनमा रुचि

मलाई सानैदेखि खेलकुदमा रुचि थियो। हाम्रोतिर त्यो समयमै हामी फुटबल र भलिबल खेल्थ्यौं। खेलमा राम्रो भएता पनि म त्यति अगाडि बढ्न सकिनँ। बरु मलाई गीत गाउने रुचि जाग्यो। म सानमा मिठो गीत गाउँथेँ। गायक नै बन्छु भन्ने सोच थियो, तर रेडियो नेपालको भ्वाइस टेस्टमा फालिएँ।

एसएलसी सकेपछि मलाई चर्चित पप गायक ओम विक्रम विष्टले गीत गाउन सिकाउनुहुन्थ्यो। उहाँले मलाई भाइ भनेर खुबै माया गर्नुहुन्थ्यो। उहाँकै सल्लाह र सहयोगमा म ३९ सालमा रेडियो नेपालमा भ्वाइस टेस्टका लागि गएँ। उहाँले गितार बजाउने र मैले गाउने। ओम दाइ र मैले मिलेर एउटा गीत पनि गाएका थियौं- ‘बाह्र बिसे बजारैमा चुरा लाउने धागो। रेडियोमा बज्दा ‘ओम विक्रम विष्ट र साथीहरू’ भनिन्थ्यो, त्यही साथीहरू भित्र म पनि पर्थें।

त्यो समयमा ओम विक्रम विष्ट नेपालकै लोकप्रिय पप गायक हुनुहुन्थ्यो। उहाँले मलाई लैजाँदा पनि म भ्वाइस टेस्टमा फालिदिए। त्यति बेला गायनमा असाध्यै कडा प्रतिस्पर्धा हुन्थ्यो, नराम्रो गाउनेलाई भनसुनले काम गर्दैनथ्यो। यदि भनसुन चल्ने भएको भए म सायद यति बेला गायक भएर गीत गाइरहेको हुन्थेँ होला। तर फेल भएपछि मैले फेरि गीत गाउने जमर्को गरिनँ। मलाई फिल्मको भिलेन बन्नु जुरेको रहेछ, के को गीतमा अभ्यास हुन्थ्यो र?

पहिलो फिल्म र खलनायकको यात्रा

मैले ३० सालतिरै रञ्जना हलमा शत्रुधन सिन्हाको फिल्म ‘गाइ और गोरी’ हेरेको थिएँ। पहिलो पटक फिल्म हेर्दा मलाई अचम्म र अनौठो लाग्यो। शत्रुधन सिन्हाको अभिनय मलाई असाध्यै राम्रो लागेको थियो। तर मलाई फिल्ममा हिरो बन्ने रहर कहिल्यै लागेन। मेरो गेटअप, हिँडाइ र बोलीचालीले भिलेन नै सुहाउँथ्यो। कपाल लामो पाल्ने, जिन्स पाइन्ट लगाउने र रफ स्टाइलमा हिँड्ने गर्थें। अरूले हिरो बन्न उक्साए पनि मेरो रुचि खलनायकमै थियो।

जब म रेडियो नेपालको भ्वाइस टेस्टमा फेल भएँ, सोही समयमा मेरा साथी चर्चित प्यारोडी गायक रतन सुवेदीले ‘भोजबहादुर’ भन्ने टेलिफिल्ममा खलनायकको भूमिकाका लागि अफर गरे। यसलाई मुकुन्द बस्ताकोटीले निर्देशन गरेका थिए। यो ४७ सालतिरको कुरा हो। त्यसपछि निर्देशक मुकुन्दले नै ४९ सालतिर भिडियो फिल्म ‘बाचा बन्धन’ निर्माण गरे। त्यसमा सुनिल थापा र बसुन्धरा भुसाल जस्ता चलेका कलाकारहरू हुनुहुन्थ्यो। मैले सुनिल थापाको सालोको भूमिका पाएँ।

हिन्दी फिल्ममा खलनायक खेलेको देखेको सुनिल थापासँग आफ्नै अगाडि अभिनय गर्न मलाई निकै गाह्रो भएको थियो। उहाँको अनुहारमा त के, छातीमा हेरेर बोल्न पनि म डराउँथेँ। त्यति बेला मलाई अभिनय गर्न पनि खासै आउँदैनथ्यो। तर उहाँले मलाई धेरै कुरा सिकाउनुभयो। उहाँले मलाई हौसला दिँदै भन्नुभयो, ‘जंगम तँ नडरा, तँ भोलि सुनिल थापाभन्दा पनि राम्रो कलाकार हुन सक्छस्। मात्र क्यामेरा र एङ्गलमा ध्यान दे।’ उहाँको यो हौसलाले मलाई खलनायक बन्न झन् ऊर्जा मिल्यो। त्यसपछि मैले फिचर फिल्म ‘ज्वाला’ मा सहायक खलनायकको भूमिका गरेँ।

मान्छेहरूको प्रतिक्रिया

खलनायकको भूमिका गर्दा कतिपय मान्छेहरू मलाई देखेर बाटो तर्केर हिँड्थे। ‘बाचा बन्धन’ फिल्ममा मेरो बलात्कार गर्ने दृश्य थियो। त्यो फिल्म हेरेकी एक जना बुढी आमाले मलाई बाटोमा देखेपछि असाध्यै गाली गर्दै थुक्नुभयो। त्यो कुरा म अहिले पनि सम्झन्छु।

यस्तै, बद्री अधिकारीको ‘साल्गीको बलात्कृत आँसु’ भन्ने टेलिफिल्ममा मैले युवतीलाई फकाएर इन्डिया पुर्याउने भूमिका खेलेको थिएँ। त्यो हेरेपछि त केटीहरू मलाई देख्ने बित्तिकै टाढिन्थे। 

फिल्म खेल्नुअघि नै मेरो गेटअप देखेर डराउने मान्छेहरू, फिल्ममा देखिन थालेपछि त झन् ‘ऊ फिल्मको गुण्डा आयो’ भन्थे। फिल्मभन्दा बढी मलाई ‘तितो सत्य’को खलनायकको भूमिकाले चिनायो। सिंहदरबार अगाडि पत्रिका बेच्ने भाइबहिनीहरूले मलाई ‘कालु दादा’ भन्दै पत्रिका किन्न आग्रह गर्थे। टेलिफिल्म शुक्रबार बज्थ्यो, शनिबार बाटोमा हिँड्दा धेरैले मलाई देखेर बाटो छोडिदिन्थे।

बिहे र जागिरको कुरा

मेरो बिहे २०४० सालमा भयो। मेरो रबाफिलो शैली देखेर कसैले छोरी दिँदैनन् कि भन्ने डर थिएन, किनभने हाम्रो प्रेम विवाह भएको हो। अर्को कुरा, म सरकारी जागिरे पनि थिएँ। २०३८ सालमा एसएलसीको नतिजा आउने बित्तिकै मैले जिल्ला कृषि विकास कार्यालयमा प्राविधिकको रूपमा जागिर सुरु गरेको थिएँ। त्यो समयमा जागिर खान अहिलेको जस्तो लोकसेवाको झन्झट हुँदैनथ्यो, मन्त्रालयको छनोटबाटै जागिर पक्का हुन्थ्यो।

सुरुमा मेरो नियुक्ति हेलम्बुको शेर्माथाङमा भयो। त्यहाँ ८ महिना बसेपछि मात्र धुलिखेल सरुवा भयो। त्यति बेला यातायातको सुविधा थिएन, हेलम्बु पुग्न हिँडेरै २ दिन लाग्थ्यो। न बिजुली थियो, न त जाडोमा हिटर। निकै कठिन थियो। तर सरकारी कर्मचारीलाई गाउँलेहरूले धेरै सम्मान गर्थे। कर्मचारीमा पनि ‘जनताको सेवा गर्नुपर्छ’ भन्ने पवित्र भावना थियो, घुस खाने कुरा त कल्पना पनि गर्न सकिँदैनथ्यो। गाउँतिर जाँदा मान्छेहरूले आदरपूर्वक घरमा राख्थे, पैसा लिनै मान्दैनथे।

मैले कृषिमा ३१ वर्ष काम गरेर राजीनामा दिएँ। अवकाश हुन अझै ८ वर्ष बाँकी थियो, तर अब ३१ वर्ष सेवा गरिसकियो भन्ने लागेर छाडिदिएँ। मेरो सुरुको तलब ३९० रुपैयाँ थियो, पछि हेलम्बु जाँदा दुर्गम भत्तासहित ५०० पुगेको थियो। अहिलेको समय धेरै फरक भइसक्यो, अहिले मान्छेले आफू बाहेक अरूलाई गन्दैनन्।

फिल्म र जागिरको तालमेल

त्यो समयमा धेरै कलाकारहरू सरकारी जागिरे हुनुहुन्थ्यो। अफिसको काम सकाएपछि सुटिङमा जान पाइन्थ्यो। हाकिम र सहकर्मीहरूले पनि कलाकार भनेर माया गर्थे। अफिसमा भेट्दा ‘फिल्ममा जस्तो फटाहा त रहनुभएछ’ भन्दै जिस्काउँथे। म पनि ‘म बदमासै हो नि’ भन्दै ठट्टा गर्थें। उहाँहरूले मेरो जेहेन्दार कामको प्रशंसा गर्नुहुन्थ्यो।

पहिले र अहिलेको सुटिङमा धेरै फरक छ। पहिला निर्देशकले जे भन्यो, कलाकारले त्यही गर्थे। टिम आफैँले खाना पकाएर खान्थ्यौं, एउटा परिवार जस्तो हुन्थ्यो। अहिले त कलाकारहरूले उल्टै निर्देशकलाई सिकाउँछन्, खाना पनि प्याकेटको मगाउँछन्। पहिलेको जस्तो त्यो सामीप्यता र सम्मान अहिलेको समयमा पाइँदैन।

मैले आफ्नो करियरमा निर्मोही, आमा, चोर, चण्डाल, सुरक्षा, छक्का पञ्जा, वडा नम्बर ६ र ‘छ एकान छ’ जस्ता थुप्रै फिल्महरूमा अभिनय गर्ने अवसर पाएँ।

माघ ९, २०८२ शुक्रबार १५:३४:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।