डा. बाबुराम भट्टराईद्वारा उम्मेदवारी फिर्ता : संसद् बाहिरै रहेर 'अभिभावकीय भूमिका' निर्वाह गर्ने घोषणा
काठमाडौं : प्रगतिशील लोकतान्त्रिक पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा निर्वाचनका लागि गोरखाबाट दर्ता गराएको उम्मेदवारी फिर्ता लिने घोषणा गरेका छन्।
फेसबुक लाइभमार्फत उनले संसद् बाहिरै रहेर राष्ट्रिय राजनीतिका लागि 'अभिभावकीय भूमिका' निर्वाह गर्ने निष्कर्षमा पुगेको बताएका हुन्।
डा. भट्टराईले सुरुमा आफू संसद् बाहिरै रहेर अग्रगामी शक्तिहरूलाई सल्लाह र सुझाव दिने सोचमा रहे पनि मुलुकको तरल राजनीतिक अवस्था र भू-राजनीतिक संवेदनशीलतालाई मध्यनजर गर्दै उम्मेदवारी दिने निर्णयमा पुगेको बताएका थिए।
उनले भने, "सुरुमा मैले बाहिरै रहेर भूमिका खेल्ने सोचेको थिएँ। तर, निर्वाचनको माहोल बढ्दै जाँदा र देशमा अन्योल कायमै रहँदा, पुराना दलभित्रका समस्या र नयाँ दलहरूको अपरिपक्वता देख्दा संसद् भित्रै रहेर भूमिका खेल्नुपर्छ कि भन्ने लाग्यो। साथै, चीन, भारत र अमेरिकाजस्ता शक्ति राष्ट्रहरूको सामरिक चासो र नेपालको राष्ट्रिय स्वाधीनताको रक्षाका लागि सही परराष्ट्र नीति निर्माणमा संसदबाटै योगदान गर्न सकिन्छ भन्ने ठानेर मनोनयन दर्ता गरेको थिएँ।"
यद्यपि, मनोनयन दर्ता लगत्तै विभिन्न राजनीतिक दल, शुभचिन्तक र व्यक्तित्वहरूबाट प्राप्त सुझावका आधारमा उनले आफ्नो निर्णय पुनर्विचार गरेका हुन्।
"उहाँहरूले मलाई एउटा दल विशेषको सांसद मात्र भएर भूमिका खुम्च्याउनुभन्दा सत्ता र शक्तिमा रहेका दलहरूलाई साझा अभिभावकका रूपमा सल्लाह र मार्गदर्शन गर्नु नै देशका लागि उपयुक्त हुन्छ भन्ने सुझाव दिनुभयो," भट्टराईले भने।
लामो समयदेखि गोरखाबाट प्रतिनिधित्व गर्दै आएका डा. भट्टराईले त्यहाँका अधुरा विकास आयोजनाहरूलाई पूर्णता दिन पनि आफूले उम्मेदवारी दिएको बताएका थिए। तर, अब संसद् बाहिर रहेर पनि ती विकास निर्माणका कामलाई तीव्रता दिन सकिने विश्वास उनले व्यक्त गरेका छन्।
आफ्नो सन्देशमा डा. भट्टराईले गत भदौ २३-२४ गते भएको जेनजी विद्रोहको स्मरण गर्दै त्यसले आफूले १० वर्षदेखि भन्दै आएको कुरालाई पुष्टि गरेको बताए। राजनीतिक परिवर्तनलाई आर्थिक र सामाजिक रूपान्तरणसँग जोड्न नसक्दा युवाहरू विदेशिन बाध्य भएको र असन्तुष्टि बढेको उनको विश्लेषण छ।
उनले भने, "मैले ७० वर्ष पार गरिसकेँ। अब नयाँ पुस्तालाई अगाडि ल्याउनुपर्छ भन्ने सोचका साथ मैले पहिले नै पार्टी नेतृत्व हस्तान्तरण गर्ने र अभिभावकीय भूमिकामा रहने उद्घोष गरिसकेको थिएँ।"
डा. भट्टराईले आफ्नो सारा जीवन नेपाल किन अल्पविकसित रह्यो र कसरी छोटो समयमा समृद्धि हासिल गर्न सकिन्छ भन्ने चिन्तनमा बिताएको बताए।
२०७२ सालको संविधान जारी गरेर राजनीतिक परिवर्तनको चरण मूलतः पूरा भए पनि सुशासन र समृद्धिको पाटो अझै बाँकी रहेको उनको भनाइ छ। उनले शान्ति प्रक्रियाका बाँकी काम (सत्य निरूपण तथा मेलमिलाप), संविधानका त्रुटि सच्याउने कार्य र राष्ट्रिय स्वाधीनताको रक्षाका लागि आफू संसद् बाहिर रहेर पनि निरन्तर क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरे।
अन्त्यमा, उनले आफूलाई प्रस्ताव गर्ने, समर्थन गर्ने तथा सल्लाह दिने सम्पूर्णलाई धन्यवाद दिँदै नि:शर्त र निस्वार्थ रूपमा देश र जनताको सेवामा लागिरहने प्रण गरेका छन्।
माघ ९, २०८२ शुक्रबार १३:३७:५२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।