मिसन पुस्तान्तरण २ : आफ्नै देशमा 'विदेशी'को ट्याग भिराइएकी टासीको संसद्को संघर्ष !

मिसन पुस्तान्तरण २ : आफ्नै देशमा 'विदेशी'को ट्याग भिराइएकी टासीको संसद्को संघर्ष !

काठमाडौं : नेपाली मुस्लिम हुँदाको सबैभन्दा ठूलो जोखिम हो भारत विरोधी गतिविधिमा संलग्न रहेको अनि पाकिस्तानी एजेन्टको आरोप। यो आरोप लाग्नुको अर्थ हो भारतीय मिडियाबाट आतंकवादी करार हुनु र अकालमा अज्ञात सुटरबाट नेपालमै मारिनु। 

एक हैन, एक दर्जन जति नेपाली नागरिक पुष्टि नै नभएका यस्तै आरोपका कारण आफ्नै देशमा मारिए। यसरी आरोपित हुने अनि मारिने अधिकांश मधेसका नेपाली छन्। पछिल्लो समय बढेको घृणित राजनीतिले अब यो आरोप मधेसको तातोबाट सरेर चिसो हिमाल पुगेको छ।

२०८२ मा पाकिस्तानी एजेन्टको आरोप बदलिएर तिब्बतीमा पुगेको छ। यस्तै प्रमाणहीन आरोपको घेरामा घेरिएर संसद्को यात्राका लागि समानुपातिकमा परेर पनि निकालिएर अहिले प्रत्यक्षबाट सङ्घर्षरत उम्मेदवार टासी ल्हान्जोमको संघर्ष मिसन पुस्तान्तरणको दोस्रो शृङ्खलामा।

OOO

“म नेपाली नै हुँ। टिबेटियन होइन। म विदेशी होइन । एउटा नागरिकले  आफ्नै देशमा आफू नागरिक हुँ भन्दै गोजीमा नागरिकता बोकेर हिँड्नुको पीडा कस्तो होला।  जेनजी आन्दोलनसँगै सम्भावित मन्त्रीको रूपमा नाम सार्वजनिक भएपछि टासी ल्हान्जोमले यस्तै पीडा भोग्दै आएकी छिन्।

सुशीला कार्कीको सरकारमा जेनजी पुस्ताको तर्फबाट उनी मन्त्री बन्दै भन्ने समाचार बाहिरिएपछि प्रमाण बिना नै सामाजिक सञ्जालबाट सुरु भएको यो मिथ्या आरोपले उनलाई दुख दिइराख्यो।

कतिसम्म भने राष्ट्रिय स्वतन्त्र पार्टीले उनको नाम समानुपातिक सूचीको बन्दसूचीमा राखे पनि हटायो। पार्टीका नेता यसबारे मौन नै रहे पनि भित्री कारण उनी माथिको त्यही मिथ्या आरोपै थियो।

त्यसपछि त उनले सहनै सकिनन्। रास्वपाको पार्टी कार्यालय अगाडि नै उनले पुन स्पष्टीकरण दिइन् “नेपाली हुँ,तिब्बतीय हैन”। रास्वपाका उपसभापति स्वर्णिम वाग्ले सहभागी कार्यक्रममा पनि उनले भनिन् “नमस्कार, म टासी ल्हाजोम। म टिबटेन होइन र तपाईँहरू जत्तिकै नेपाली हॅु!” 

उनले यसो भन्दा वाग्लेले उनलाई हेरिरहेको तस्बिर र उनले बोलेका शब्द पत्रकार नारायण वाग्लेले ट्विट गरे।  

“मेरो नागरिकता प्रति बारम्बार प्रश्न उठ्न हुँदैन । देश प्रति मेरो मायामा पनि प्रश्न उठ्यो । यो सब मैले खण्डन गरिसकेको कुराहरू हो । आरोप लगाउने पक्षहरूले प्रमाण सार्वजनिक गर्नुस्” उनले भनिरहिन्। 

उनले  २०८२ असोज २४ गते आफू हुम्लाको नाम्खा गाउँपालिका वडा नम्बर ६ मा स्थायी रूपमा बसोबास गर्दै आएको भनेर वडाको सिफारिस पत्र नै सार्वजनिक गर्नु पर्यो। तै पनि उनको राष्ट्रियतामाथि शंका कायमै रह्यो।

यो अफवाहका प्रारम्भकर्ता थिए जुम्लाबाट निर्वाचित राष्ट्रिय प्रजातन्त्र पार्टीका सचेतक ज्ञानेन्द्र शाही। सामाजिक सञ्जालमा अन्टसन्ट लेख्दै अनि अनेक लफडाबाट चर्चामा आएका उनी २०७९ को निर्वाचनमा निर्वाचित भएर संसदमा पुगे।

नानीदेखि लागेको बानी छुट्दैन भने जस्तै राष्ट्रिय दलको मुख्य सचेतक भए पनि मिथ्या आरोप लगाउने उनको बानी सुध्रिएन। असोज २३ गते उनले फेसबुकमा टासीको राष्ट्रियतामाथि गम्भीर प्रश्न उठाएर लेखे।

उनले नाम लेखेका थिएनन्। तर प्रसङ्ग टासीकै थियो। टासीले त्यसको भोलीपल्ट वडाबाट सिफारिस बनाएर सार्वजनिक गरिन्। उनको नागरिकता समेत सार्वजनिक भयो। तर उनीमाथि गैर नेपालीको आरोप लागिरह्यो। 

त्यसको प्रभाव रास्वपाका नेताहरूमा पनि पर्यो। उनीहरूले तिब्बती नागरिकलाई समानुपातिक सूचीमा राख्दा उत्तरको छिमेकी रिसाउने भयले समानुपातिकमा राखे पनि टासीको नाम हटायो।

समानुपातिक सूचीबाट नाम हटाएको थाहा पाए पछि उनी आक्रोशित भइन्। उनी पार्टी कार्यालयमा धर्ना नै बसिन्। 

रास्वपा उपसभापती स्वर्णीम वाग्ले सहभागी कार्यक्रममा आफू नेपाली भएको बताउँदै टासी। तस्बिर : नारायण वाग्ले।उनले भनिन्“फ्री तिब्बतमा मेरो पहिला पनि संलग्नता थिएन, अहिले पनि छैन र भोलिको दिनमा पनि लाग्ने छैन। हुम्लामा कम समस्या छ ? कर्णालीमा कम समस्या छ ? आफ्नो ठाउँमा समस्या टन्न हुँदाहुँदै म किन अरू देशको समस्या हेर्न जाने? काठमाडौँमा बस्ने मान्छेहरूले हुम्ला बुझेको छैन रहेछ ।”

पार्टी कार्यालयमा उनीसँगै रास्वपाको हुम्ला जिल्लाका नेताहरू नै बसेर धर्ना दिए। टासीको सहमति नै नलिई समानुपातिकको बन्द सूचीबाट नाम हटाएको रास्वपाका केन्द्रीय नेताहरू हुम्ला जिल्लाकै नेताहरू दबाबमा उत्रिएपछि उनलाई प्रत्यक्षतर्फ उम्मेदवार बनाउन बाध्य भए। अन्तिम दिनमा उनले पार्टीको टिकट पाइन्।

त्यसपछि उनी तुरुन्तै आफ्नो मनोनयन दर्ता गर्न पुगिन्। उनको उम्मेदवारी दर्तासँगै २०८२ को प्रतिनिधि सभा निर्वाचनमा सबैभन्दा कान्छी उम्मेदवार बनिन्।

उनी तीन महिना अघि मात्र २६ वर्षकी भएकी हुन् । 

हुम्लाको चुनावी मैदानमा बाजी मार्न सक्लिन् ?

हुम्लाबाट यसपटक टासीसहित आठ जनाले उम्मेदवारी दिएका छन्। निर्वाचन आयोगको तथ्याङ्क अनुसार हुम्लामा ल्हान्जोमसँग नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी) बाट दल फडेरा, नेपाली काँग्रेसबाट जयपती रोकाया, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट छक्क बुढा, मितेरी पार्टी नेपालबाट जय बहादुर शाही, नेपाली कम्युनिस्ट पार्टीबाट दीपेन्द्र रोकाया, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट जटिल कार्की र नेपाल कम्युनिस्ट पार्टी (माओवादी) बाट कुम्भ बुढा उम्मेदवार बनेका छन्।

२०७९ को चुनावमा यहाँबाट तीन जनाको मात्र उम्मेदवारी परेको थियो। माओवादी केन्द्रका छिरिङ डम्डुल लामा (भोटे)ले १४ हजार तीन सय ७१ मत पाएर निर्वाचित भएका थिए। यसपटक हुम्लाको चुनावी मैदानमा भोटेसँगै लडेका अन्य प्रतिष्पर्धीहरु समेत देखिएनन् । 

रोचक त के भने यस पटक टासीसँगै हुम्लाको चुनावी मैदानमा सबै नयाँ अनुहार हुन्। आठै प्रतिस्पर्धीले प्रतिनिधि सभा चुनावमा पहिलो पटक प्रतिस्पर्धा गर्दै छन्। 

संसदीय यात्राको लागि यो प्रतिस्पर्धामा सबै नयाँ अनुहार भएकाले तुलनात्मक रूपमा टासीलाई केही सहज देखिन्छ। कारण उनको मुद्दा हुम्लाको लागि विशेष छ।

जलवायु परिवर्तनले गर्दा हिउँसँगै रित्तिएका हिमालले हिमाली बस्ती रित्तिँदै छ। उनको चुनावी अजेण्डामा यही हो। यही विषयलाई लिएर अन्तर्राष्ट्रिय मञ्चसम्म पुगेको अनुभव छ उनीसँग । 

सङ्कटले उदाएकी टासी 

२०५६ सालमा लिमी उपत्यकाको अंग हल्जी गाउँमा जन्मिएकी उनी गाउँमा आधारभूत शिक्षाको सुविधासम्म नभए पछि काठमाडौँ आएकी थिइन्।

काठमाडौँ आएपछि लामै समय भाषाको समस्या भयो। उनको गाउँमा गुम्बामा बौद्ध धर्म शिक्षा लिने प्रचलन। काठमाडौं आएपछि नेपाली भाषा बुझ्दै बुझिनन् उनले।

संघर्ष गर्दै शिक्षालाई अगाडि बढाउँदै लगेकी उनले गाउँमा लगातार हिमपहिरो जान थालेपछि यसैमा अध्ययन गर्न थालिन्। आफ्नो गाउँ, हुम्ला र कर्णालीकै कथा लेख्न र भन्न थालिन्।

अनि भारतस्थित दिल्ली विश्वविद्यालयको हिन्दु कलेजबाट राजनीतिशास्त्रमा स्नातक तहसम्म अध्ययन गरिन्। कलेजका विद्यार्थी सोसाइटीले सञ्चालन गर्ने विभिन्न कार्यक्रमहरूमा भाग लिँदै गर्दा उनले स्क्रिप्ट राइटिङ र वृत्तचित्र निर्माणमा दखल बढ्यो। 

उनले हिउँ, हिमाल, गुम्बा र यससँग जोडिएका समुदाय अनि सङ्कटबारे काम गर्न थालिन्। नेपालस्थित अमेरिकी दूतावासमा पनि राजनीति र अर्थतन्त्रको क्षेत्रमा रहेर केही समय काम गरेको उनको अनुभव छ ।

आफ्नो गाउँको कथा सुनाउँदा सुनाउँदै उनले जलवायु परिवर्तन सम्बन्धी विश्व सम्मेलन कोप-२६ मा समेत भाग लिन पाइन्। जेनजी आन्दोलनसँगै बदलिएको राजनीतिक माहौलमा बिस्तारै आकर्षित हुँदै गएकी उनको नाम सम्भावित मन्त्रीमा आउँदा जुन रूपमा राष्ट्रियतामाथि नै प्रश्न उठ्यो यसले हिमाली भेगका नागरिकको आवाज सांसदसम्म पुगेकै रहेनछ भन्ने अनुभव गरायो।

त्यसले उनी दृढ बन्दै गइन्। गोजीमा नेपाली नागरिकता बोकेर सार्वजनिक मञ्चहरूमा जसरी टासी “म तीब्बतीय हैन, तपाईँ जस्तै नेपाली हुँ” भनिरहेकी छिन् अब आफूजस्तै नेपाली भएर पनि विभेद भोग्न बाध्य नागरिकको आवाज बनेर संसदमा पुग्न चाहन्छिन्।

जलवायु परिवर्तनको एजेन्डा र राष्ट्रियताको घाउ बोकेर चुनावी मैदानमा उत्रिएकी टासीलाई हुम्लाका जनताले संसद् पठाउलान् त? यो त निर्वाचनको परिणामले नै बताउनेछ। तर एउटा कुरा प्रस्ट छ- टासीको यो विद्रोहले नेपाली राजनीतिमा 'पहिचान' र 'पछाडि पारिएका क्षेत्र' को मुद्दा अब मधेसबाट हिमाल सरेको छ। 

मिसन पुस्तान्तरण

माघ ८, २०८२ बिहीबार २२:००:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।