चुनाव लड्न रेशम चौधरी अयोग्य, कैलाली-१ बाट दर्ता भएको उम्मेदवारी खारेज
काठमाडौं : नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशमलाल चौधरीको उम्मेदवारी खारेज भएको छ। कैलाली निर्वाचन क्षेत्र नम्बर-१ बाट दिएको उनको उम्मेदवारी खारेज भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
चौधरी २०७२ भदौ ७ गते भएको टीकापुर हत्याकाण्डमा सर्वोच्च अदालतबाट दोषी ठहर भएका व्यक्ति हुन्। उनलाई जन्मकैदको सजाय तोकिएको थियो। पछि उनी राष्ट्रपतिबाट आममाफी पाएर जेलमुक्त भएका थिए। आममाफी पाए पनि कानुनी रूपमा सजायको प्रकृति र निर्वाचन ऐनको बन्देजका कारण उनी चुनावी प्रतिस्पर्धाका लागि अयोग्य ठहरिए।
“नागरिक उन्मुक्ति पार्टी, नेपाल (एकल चुनाव चिन्ह) का उम्मेदवार श्री रेशमलाल चौधरीको उक्त पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली बमोजिम प्रतिनिधि सभा सदस्य पदको लागि हुने निर्वाचनमा उम्मेदवारको मनोनयन पत्र प्रचलित कानून बमोजिम कायम रहन सक्ने अवस्थाको नदेखिँदा खारेज गरी दिएको छ। कानून बमोजिम गर्नु,” निर्वाचन अधिकृतको कार्यालयको निर्णयमा भनिएको छ।
मुख्य निर्वाचन अधिकृत देवराज भारतीका अनुसार चौधरीको उम्मेदवारी खारेज हुनुमा तीन वटा कानुनी आधार छन्। पहिलो, टीकापुर घटनामा सर्वोच्च अदालतबाट उनलाई जन्मकैदको सजाय भएको फैसला कायम छ। दोस्रो, प्रतिनिधि सभा सदस्य निर्वाचन ऐनअनुसार जन्मकैदको सजाय पाएको व्यक्ति निर्वाचनमा उम्मेदवार हुन अयोग्य मानिन्छ। तेस्रो, राजनीतिक दलको सदस्य हुन समेत अयोग्य रहेको भनी निर्वाचन आयोगले यसअघि गरेको निर्णयलाई पनि आधार मानिएको छ।
माघ ८, २०८२ बिहीबार १८:२३:५० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।