महासचिव जोगाउन दाङमा एमालेको ‘सरप्राइज’ तालमेल : विप्लवको साथ
बुटवल : आगामी फागुन २१ को निर्वाचनमा देशभर 'एक्लै' प्रतिस्पर्धा गरिरहेको एमालेले महासचिव शंकर पोखरेलको निर्वाचन क्षेत्र दाङ- २ मा विप्लवसँग चुनावी तालमेल गरेको छ।
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी)ले यहाँ पोखरेलाई समर्थन गरेको छ। बदलामा कालिकोटमा एमालेले माओवादीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई समर्थन गर्ने समझदारी भएको छ। माओवादी निकट अखिल (समाजवादी) का केन्द्रीय सचिव प्रकाश सीका अनुसार ‘विप्लव’ र पोखरेलबीच दाङ- २ र कालिकोटमा एक-अर्काका उम्मेदवारलाई समर्थन गर्ने समझदारी भएको थियो।
कालिकोटमा समर्थन गर्ने भनिएका उम्मेदवार माओवादीका प्रकाण्ड हुन्। महासचिव पोखरेलको जित सुनिश्चित गर्न एमाले अध्यक्ष केपी शर्मा ओलीले देशभर टिकट वितरण गर्दा दाङ- १ र २ लाई ‘होल्ड’ राखे। दाङ- २ मा पोखरेललाई समर्थन गरे रुकुम पूर्वमा माओवादीलाई समर्थन गर्ने तयारी उनको थियो। यद्यपि यो सफल भएन। पछि कालिकोटमा सघाउने समझदारी बन्यो।
दोस्रो पटक पार्टीको शक्तिशाली पद सम्हालिरहेका पोखरेललाई यस पटक चुनाव जित्नुपर्ने दबाब छ। यसअघि पटक पटक उनले पराजय भोग्न परेको थियो। २०५६ सालमा कांग्रेसका कृष्ण किशोर घिमिरेसँग उनी पराजित भए। २०६४ सालमा पोखरेलले प्रत्यक्षतर्फ चुनाव लडेनन्, समानुपातिकमा बसे। २०७० मा भएको दोस्रो संविधान सभा चुनावमा कांग्रेस नेता बुद्धिराम भण्डारीसँग पराजित भए।
२०७४ सालमा उनी माओवादी केन्द्रको समर्थनमा शंकर दाङ-२ (१) बाट विजयी भए। त्यही बेला उनी लुम्बिनी प्रदेशको मुख्यमन्त्री समेत बने। २०७९ सालमा भने उनी माओवादीकी रेखा शर्मासँग पराजित भए। जितभन्दा धेरै पराजय भोगेका पोखरेलमा यति बेला पनि चुनाव हार्ने डर देखिन्छ।
यता पार्टी हाँक्ने तर चुनाव जित्न नसक्ने अवस्था बनेमा उनको नेतृत्वमाथि पार्टीभित्रबाट प्रश्न खडा हुने जोखिम छ। त्यसैले पनि निर्वाचन जित्नुपर्ने दबाबमा छन्।
ठूलो दलको शक्तिशाली पदमा रहेको कारण उनी नागरिकमाझ चर्चित छन्। तर, आफ्नो निर्वाचन केन्द्रमा भने उनको प्रभाव कम देखिन्छ। मुख्यमन्त्री हुँदा लुम्बिनी प्रदेशको राजधानी दाङ लैजान सफल पोखरेल त्यसपछि भएको निर्वाचनमा आफ्नै निर्वाचन क्षेत्रमा पराजित हुन पुगे। स्थानीय राजनीतिज्ञहरु राजधानी आफ्नो जिल्लामा लग्न सफल हुँदा पनि उनी चुनावमा पराजित हुनुमा उनको अलोकप्रियता जिम्मेवार मान्छन्।
यति बेला पुराना दलहरूलाई नयाँ दल र स्वतन्त्र उम्मेदवारहरूले चुनौती दिने आकलन गरिएको छ। दाङ- २ मा पनि रोचक प्रतिस्पर्धा हुने देखिन्छ। यहाँ एमालेबाट पोखरेल, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट सह महामन्त्री विपिन आचार्य, नेपाली कांग्रेसबाट किरण किशोर घिमिरे, नेपाल कम्युनिष्ट पार्टी (विप्लव समूह) बाट निर्मल आचार्य लगायत उम्मेदवार छन्। गएको निर्वाचनमा बलियो टक्कर दिएको रास्वपाबाट यस पटक आचार्य उम्मेदवार भएकाले पनि तीव्र प्रतिस्पर्धा हुने आकलन छ।
जेनजी आन्दोलन पश्चात् नेतृत्व हस्तान्तरणले बलियो गरी उठ्यो। नयाँ दलहरूको प्रभाव बिस्तार भयो। तर पनि दलहरूले पुराना नेताहरूलाई चुनावी मैदानमा उतारेपछि पोखरेलले आफू असुरक्षित महसुस गरिरहेका छन्।
माघ ८, २०८२ बिहीबार २२:०९:४५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।