बिहीबार ९ अंकले बढ्यो नेप्से, ९ अर्ब ७ करोडको सेयर किनबेच
काठमाडौं : साताको अन्तिम कारोबार दिन बिहीबार शेयर बजार परिसूचक नेप्से सामान्य अंकले बढेर बन्द भयो। बुधबारको कारोबारमा सामान्य करेक्सन देखिएको नेप्से यस दिन ९.२३ अंकको बढोत्तरी भयो।
सामान्य वृद्धि भएको नेप्से बिहीबार २ हजार ७१४.६१ विन्दुमा पुगेर रोकियो। यस दिन फ्लोट इण्डेक्स ०.६६ अंकले बढ्यो भने सेन्सेटिभ इण्डेक्स ०.४७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.१४ अंकले घट्यो।
नेप्सेसँगै यस दिन कारोबार रकममा पनि वृद्धि देखिएको छ। अघिल्लो दिन बुधबार ८ अर्ब ९२ करोड रुपैयाँको कारोबार भएको बजारमा बिहीबार ३३२ स्टकको ९४ हजार १७४ पटकको कारोबारमार्फत ९ अर्ब ७ करोड ३९ लाख ७८ हजार रुपैयाँ बराबरको १ करोड ९० लाख ७५ हजार कित्ता सेयर किनबेच भयो।
यस दिन एसवाई प्यानल नेपाल, त्रिशुली जलविद्युत कम्पनी, श्रीनगर एग्रीटेक इण्डष्ट्री र कर्पोरेट डेभलपमेन्ट बैंकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। यस्तै, एक्सेल डेभलपमेन्ट बैंकको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ भने रावा इनर्जी डेभलपमेन्टको सेयर मूल्य ९ प्रतिशतले उकालो लागेको छ। कारोबारमा आएका कम्पनीमध्ये कालिका पावर कम्पनीको सेयर मूल्य सर्वाधिक ६.२५ प्रतिशतले घट्यो।
कारोबार रकमका आधारमा आँखु खोला जलविद्युत कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको बिहीबार ४० करोड ८२ लाख रुपैयाँ बराबरको शेयर कारोबार भयो। त्यसैगरी, मञ्जुश्री फाइनान्सको करिब ३६ करोड रुपैयाँ र एसवाई प्यानल नेपालको करिब ३३ करोड रुपैयाँ बराबरको शेयर किनबेच भयो।
१३ उपसमूहमध्ये बिहीबार १० उपसमूहको परिसूचक बढेको छ भने ३ उपसमूहको परिसूचक घटेको छ। वित्त उपसमूहको परिसूचक सर्वाधिक २.३८ प्रतिशतले बढ्यो। साथै, विकास बैंक, होटल तथा पर्यटन तथा उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले बढ्यो। यता, व्यापार उपसमूहको परिसूचक भने सर्वाधिक १.१५ प्रतिशतले घटेको छ।
माघ ८, २०८२ बिहीबार १५:५१:२४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।